शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयमा किन सधैँ कचकच ?

उपकुलपति भन्छन्– हुकुमी शासन होइन, विकृति विरुद्धको लडाइँ हो
मङ्गलबार, १२ साउन २०७८, ११ : ४५
मङ्गलबार, १२ साउन २०७८

०७७ पुस २७ गते भर्चुअल माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विद्यार्थी र प्राध्यापकलाई निस्कासन गरिदिने धम्की दिए ।

उपकुलपति र रजिस्ट्रारले आफूहरुको पेसागत मर्यादा, नैतिकता र पदीय आचरणमाथि मानमर्दन मात्र नभई आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको भन्दै चारजना उपप्राध्यापकले राजीनामा दिएको विषयका बारेमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

केही दिन अघि (असार २२) मा दुई प्राध्यापकलाई ‘अक्षम्य अपराध’ गरेको भन्दै बर्खास्त गरेको विषयमा विश्वविद्यालयले भर्चुअल पत्रकार सम्मेलन ग¥यो । त्यहाँ पनि उपकुलपति सिंहको शैली उस्तै देखियो । त्यहाँ उनले चेतावनीसहित भनेका थिए, ‘गलत कुरामा लाग्ने कोही कसैलाई कुनै हालतमा छाडिन्नँ । बरु मेरो ज्यानै किन नजाओस् !’

यी प्रतिनिधिमूलक घटनामात्र हुन् । हरेक विवादका विषयमा उनले प्रस्तुति यस्तै हुने गर्दछ । विश्वविद्यालयको उपकुलपति जस्तो पदमा रहेको व्यक्तिले ठाडो र आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै विद्यार्थी संगठन र प्राध्यापकहरू एक ठाउँमा उभिएका छन् ।

विश्वविद्यालयमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले बेलाबेलामा संयुक्त रुपमा आन्दोलन चर्काउने काम गरिरहेका छन् भने प्राध्यापकहरूले पनि त्यस्ता आन्दोलनमा समर्थन जनाउँदै आइरहेको देख्न सकिन्छ ।

तर, शिक्षाविद्हरु भने विश्वविद्यालयजस्तो निकाय शैक्षिक केन्द्रभन्दा पनि राजनीतिक थलोको रुपमा केन्द्रित भएको बताउँछन् ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीनसमेत रहेका नागरिक अगुवा पीताम्बर ढकाल विद्यार्थी, कर्मचारीहरुले विभिन्न माग राख्नु स्वाभाविक मान्छन् । उनले भने, ‘तर त्यस्ता मागलाई बेवास्ता गरेर बस्नु राम्रो होइन । तत्काल समाधान गरेर अघि बढ्नुपर्छ ।’

विश्वविद्यालयका पदाधिकारीहरुले आफूलाई राजनीतिक रुपमा प्रस्तुत गर्न नहुने उनको भनाइ छ ।

लगातार ८ दिनदेखि विश्वविद्यालय परिसर तनावग्रस्त

यतिबेला कोरोना महामारीको कारण सबै क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा लागु गरिएको छ । कोरोनाको जोखिम उत्तिकै रहेकाले प्रशासन/जनस्वास्थ्यविद्हरुले भिडभाड नगर्न र स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न अनुरोध गरिरहेका छन् ।

तर, मध्यपश्चिम विश्वविद्यालय विगत आठ दिनदेखि तनावग्रस्त बनेको छ । अघिल्लो साताको आइतबार संयुक्त विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै सुरु गरेको आन्दोलन जारी छ ।

अघिल्लो मंगलबार साँझ विश्वविद्यालय परिसरमा विद्यार्थीहरुले नारा जुलुससहित उपकुलपति सिंहको पुत्ला जलाए । गत बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरे । उक्त, ताला हालसम्म पनि खोलिएको छैन ।

प्राध्यापक पनि आन्दोलनमै

विद्यार्थीहरुले एक हप्ता अघिदेखि आन्दोलन गर्दै आईरहेको समयमा सोमबारदेखि विश्वविद्यालयका प्राध्यापकसमेत उपकुलपति विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

पत्रकार सम्मेलन गरेरै प्राध्यापकहरूले उपकुलपतिमाथि विभिन्न आरोप लगाएका छन् । उपकुलपतिले विश्वविद्यालयलाई स्वेच्छाचारी, जङ्गे र हुकुमी शैलीमा सञ्चालन गर्न खोजेको उनीहरुको आरोप छ ।

विश्वविद्यालयको नेपाल राष्ट्रिय प्राध्यापक संगठनले उपकुलपति सिंहले राजनीतिक पूर्वाग्रह तथा स्वेच्छाचारी रुपमा विश्वविद्यालयलाई सञ्चालन गर्न खोजेको आरोप लगाएको छ ।

संगठनले विश्वविद्यालयका शिक्षक, तथा कर्मचारीलाई गालीगलौज गर्ने, मानहानीको भाषा प्रयोग गर्ने तथा अमानवीय व्यवहार गर्ने गरेको र विश्वविद्यालयलाई आफन्तको भर्ती केन्द्र बनाएको आरोपसमेत लगाएको छ । 

उपकुलपतिले फरक आस्थाका कर्मचारी र शिक्षकलाई कारबाही गर्ने तथा आफ्ना नजिककालाई अपराध नै गरे पनि संरक्षण गर्दै आएको संगठनको आरोप छ । 

प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले आफूहरुका माग सम्बोधन नगरेको खण्डमा रिले अनशन र आमरण अनसनसमेत गर्ने चेतावनी दिएका छन् ।

सबैखाले परीक्षा स्थगित 

विद्यार्थीहरुको निरन्तर आन्दोलनका कारण विश्वविद्यालयका सबैखाले परीक्षा स्थगित भएका छन् । गत शुक्रबारदेखि सञ्चालन हुने मौका, मंगलबादेखि सञ्चालन हुने भनिएका स्नातक तह र बुधबारदेखि सञ्चालन हुने स्नातकोत्तर  तहको सत्रान्त परीक्षा पनि स्थगित भएका छन् ।

परीक्षा व्यवस्थापक प्रमुख डा. आनन्दप्रसाद सुवेदीले सबै परीक्षा एक हप्ता पछाडि सार्नेगरी स्थगित गरिएको जानकारी दिए ।

उनले भने, ‘विद्यार्थी संघ–संगठनका मागप्रति विश्वविद्यालय प्रशासन गम्भीर छ । विद्यार्थीहरुको समस्या समाधान गर्ने सम्बन्धमा उच्चस्तरीय वार्ता टोली प्रयासरत छ ।’

विद्यार्थीहरुले १८ बुँदे माग उचित ढंगले सम्बोधन हुन नसके विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुल्न नदिने बताउँदै आएका छन् ।

विकृति हटाउन खोज्दा ममाथि प्रहार : उपकुलपति सिंह

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह भने आफुले विश्वविद्यालयमा भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताका साथै विभिन्न विकृति  हटाउनका लागि ‘एक्सन’ लिँदा विगतमा विश्वविद्यालयमा राज गरेर बसेकाहरुलाई सन्नाटा भएको बताउँछन् । 

आफुले विश्वविद्यालयलाई आधुनिक तरिकाले अघि बढाउन खोज्दा खोज्दै पनि राजनीतिक संरक्षणको आधारमा रहेर  आफूमाथि प्रहार भएको उनको आरोप छ ।

‘म प्रजातन्त्रमा विश्वास राख्ने मान्छे हो । विकृतिका विरुद्ध लडेको हो । प्रजातन्त्र भनेकै विकृतिका विरुद्धको लडाइँ हो,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र पारदर्शितालाई आधार मानेर म अघि बढेपछि हिजोदेखि विश्वविद्यालय ध्वस्त बनाएर बाँडीचुँडी खाएका समूहहरुलाई ऐठन भएको छ ।’

अनुशासनमा नबस्ने, नपढाउने अनि मिलेर खाने बानी परेकाहरुलाई ‘त्यो नगर’ भनेर आफूले भनेकोमा ‘गालीगलौज’ को आरोप लाग्ने गरेको उनको भनाइ छ ।

उनले आफूलाई केपी शर्मा ओलीले नियुक्त गरे पनि ३३ जना प्राध्यापकबाट प्रतिस्पर्धा गरेर, ३ जनाभित्रबाट पनि नम्बर एकमा आएर  उपकुलपति भएको बताए । ‘म गलत कुरामा डिलिङ गर्न चाहन्नँ,’ उनले भने, ‘कतिपयले यसलाई नै हुकुमी शासन भनेको पाइन्छ, यो हुकुमी शासन होइन ।’ आन्दोलनरत पक्षसँग वार्ता भइरहेको र सकारात्मक नतिजा आउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप