कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो

person explore access_timeसाउन १२, २०७८ chat_bubble_outline0

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । 

गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले बताए । यो विगतका वर्षको तुलनामा बढ्दो सङ्ख्या हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा नाउर पाइने गरेको छ । नाउरको बासस्थान र चरन क्षेत्रलाई आधार मानिएर चार वटा ब्लक क्षेत्र विभाजन गरी नाउरको गणना गरिएको थियो । तीन ब्लक क्षेत्रमा नाउर गणना गर्दा एक हजार ४२१ रहेको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी तथा रेन्जर धर्मेन्द्र थापाले बताए । कोभिड–१९को कारणले ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना हुन बाँकी छ । अझ ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना गर्दा यो सङ्ख्या बढ्न जाने थापाले बताए ।

घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ नाउर रहेको गणना तथ्याङ्कमा आएको छ । याङमा ब्लक क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ वटा नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।  पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ । चार सय ९५ पोथी, ८१६ वटा भाले र ८० बच्चा नाउर रहेको गणनाको तथ्याङ्कले जनाएको छ । सत्ताइस वटा भालेपोथी नछुट्टिएका नाउर रहेका छन् । दुई सय आठ नाउर बयस्क भाले, २०७ नाउर तरुण भाले रहेको र २०६ नाउर किशोरावस्थाको रहेको तथ्याङकमा उल्लेख छ । एक सय ९८ वटा अर्धवयस्क उमेरका नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । 

संरक्षण क्षेत्रमा चारवटा हिउँ चितुवा उपसमिति गठन गरिएको छ । उपसमितिलाई हिउँ चितुवाको अवलोकन गर्ने मुख्य जिम्मेवारी दिइएको छ । त्यही उपसमितिले हिउँ चितुवाको आहाराका रूपमा मानिने नाउरको पनि आवलोकन गर्दै आएको याङ्मा हिउँ चितुवा उपसमितिका अध्यक्ष फिन्सो शेर्पाले बताए । हिउँ चितुवाका उपसमितिका पदाधिकारी र संरक्षण क्षेत्रले तोकिएको प्राविधिकहरुमार्फत नाउरको गणना हुने गरेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए ।

कञ्चनजङ्घा क्षेत्रमा घुन्साबाट पाङ्पेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामबाट कञ्चनजङ्घा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङ्मा क्षेत्रलाई याङ्मा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए। 

समुद्र सतहदेखि  तीन हजार ८०० मिटरको उच्च हिमाली क्षेत्रमा  नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्ने गरिएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X