शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खनाल ‘एजएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१’ बाट सम्मानित

मङ्गलबार, १२ साउन २०७८, ०९ : ५२
मङ्गलबार, १२ साउन २०७८

नेपाल पत्रकार महासंघ ( एफएनजे ) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच वरिष्ठ पत्रकार श्रीभक्त खनाललाई एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ द्वारा सम्मान गरेको छ । खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह‘ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नविन पोखरेलले ५०२ पाउण्ड (८२ हजार रुपैयाँ ) राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका थिए । पत्रकारिता, डकुमेन्ट्री निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालका तीन वटा पुस्तक प्रकाशित छन् । 

पुरस्कार ग्रहण गर्दै पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताए । उनले पुरस्कारका लागि शाखालाई धन्यवाद ज्ञापन गरे ।   

त्यसअवसरमा शाखाका निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारहरुबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरिएको बताए ।   

शाखाले बेलायतमा कार्यरत नेपाली मूलका पत्रकारहरुद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशी एकल भए ५०२ पाउण्ड दुई जनालाई भए जनही २५१ पाउण्ड र सम्मान पत्र राखिएको छ । 

पुरस्कृत पत्रकार छनौटका लागि डा. कृष्ण अधिकारीको संयोजकत्वमा डा. प्रियंवदा पौड्याल, नरेश खपाङ्गीमगर र डा. जगन कार्की रहेको एक छनौट समिति गठन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप