शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या

सोमबार, ११ साउन २०७८, १९ : १९
सोमबार, ११ साउन २०७८

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । फुटबल खेल्ने क्रममा भएको विवादको रिसिबीका साँधेर भएको छुरा प्रहारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएकोमा आज दिउँसो उनीमाथि छुरा प्रहार भएको थियो ।

दिउँसो १ः १५ बजेतिर भएको छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुर्याइएको थियो । तर झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका चिकित्सकले उनलाई अस्पताल पुर्याउने बित्तिकै मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए ।
प्रहरीका अनुसार  स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला ६–७ जनाको समूहमा रहेका युवाहरूले अभिषेकमाथि छुरा हानेका हुन् । छुरा प्रहार र आक्रमणबाट अभिषेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् ।

छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डीएसपी श्रेष्ठको भनाइ छ । अवस्था मध्यम रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ ।  घटनास्थलमा पुगेको  प्रहरीको टोलीले घटनामा संलग्न भएको आशङ्कामा  १८ वर्षीय निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । 

घटनामा संलग्न अरू युवाहरू फरार रहेका कारण खोजी भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार झगडा भएको खुलेको छ ।  विवाद त्यतिबेलै मिलाइएको भए पनि रिसइबी साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका अभिषेकमाथि छुरा हानेका थिए । उनले घटनाका बारेमा गम्भीर ढङ्गले अनुसन्धान थालिएको जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप