शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चैतसम्म ३ करोड २३ लाख मात्रा खोप आउँछ : स्वास्थ्य मन्त्रालय

सोमबार, ११ साउन २०७८, १८ : ५३
सोमबार, ११ साउन २०७८

सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ । १२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए  ।

सोमबार बसेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए । यद्यपि सरकारले चैतसम्म ४ करोड २८ लाख ४८ हजार बढी मात्रा खोप प्राप्त हुने प्रक्षेपण गरेको छ ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोपको प्राथमिकतामा पारेको थियो । त्यसमा बालबालिका परेका थिएनन् । तर अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिका समेत गरी २ करोड ६४ लाख जनालाई खोप दिने लक्ष्य सरकारले राखेको छ ।

असोज मसान्तभित्रै १ करोड ५ लाख ४८ हजार मात्रा खोप प्राप्त गर्ने डा. लोहनीले जानकारी दिए । जापानबाट १६ लाख डोज एक्स्ट्राजेनेका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने भएको छ । यस्तै कोभ्याक्सबाटै ३ लाख ४८ हजार डोज खोप भदौको चौंथो साता नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै चीनबाट साउनको अन्तिम हप्ताभित्र १६ लाख डोज खोप नेपाल भित्रिने डा. लोहनीले बताए । यो खोप अनुदान र खरिद प्रक्रियाबाट ल्याइने उनले बताए । चीनबाट भदौ मसान्तसम्म ६० लाख डोज खोप नेपाल भित्रिने उनको दाबी छ । यस्तै भारतबाट प्राप्त गर्न बाँकी १० लाख डोज (कोभिसिल्ड) खोप भदौ दोस्रो सातासम्म आइपुग्ने डा.लोहनीले बताए । लोहनीका अनुसार २० प्रतिशत कोभ्याक्स खोप निःशुल्क प्राप्त हुँदैछ । जुन १ करोड १३ लाख मात्रा हो । बालबालिकाहरु चैत्र मसान्तसम्म फाइजरको ६० लाख मात्रा खोप नेपालले प्राप्त गर्ने डा.लोहनीको दाबी छ ।

हालसम्म ३४ लाख  ५ हजार १ सय ५४ अर्थात १५.८ प्रतिशत जनताले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइसकेका छन् भने १४ लाख ३० हजार ४ सय १५ अर्थात ६.६ प्रतिशतले दुवै डोज खोप लगाएको डा. लोहनीले जानकारी दिए ।  नेपालमा कोभिशिल्ड, भेरोसिल र जोनसन एण्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप