निर्वाचन आयोगको आँगनबाट राजेन्द्र महतोको घोषणा– ओलीले प्रतिगमन गरेकै हो, अब जनतामा जान्छौँ’

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारमा उपप्रधानमन्त्री बनेर १८ दिनमै सर्वोच्च अदालतको फैसलाबाट पदच्युत भएका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले अन्ततः केपी ओलीलाई प्रतिगमनकारी करार गरेका छन् ।
सोमबार निर्वाचन आयोगको प्राङ्गणमा उभिएर नेता महतोले भने, ‘केपी ओलीले प्रतिगमन गरेकै थियो । केपी ओली वा देउवा हाम्रा लागि सब बराबर हो ।’
जसपा नेता महतोले अगाडि भने, ‘हामीले पहिलेदेखि भन्दै आएको, हाम्रा लागि त सबै प्रतिगमनकारी नै हो नि त । काँग्रेस, एमाले माओवादी सब मिलेर प्रतिगमनकारी संविधान बनाएको होइन ?’
महतोले नेपाल बहुल राष्ट्रिय राज्य रहेको बताउँदै भने, ‘जनता अगाडि बढ्छन् । यो बहुल राष्ट्रिय राज्य सबैको देश हो । सम्पूर्ण नेपालीको देश हो । योचाहिँ संवैधानिक र व्यवहारिक रुपले पनि हामीले निर्माण गर्न सक्नुपर्छ ।’
उनले थपे, ‘नेपाल विविधताले भरिएको देश हो । यो अभियान हो हाम्रो । शोषण उत्पीडनबाट मुक्ति दिलाउने अभियान हो । त्यसैले, देशको शासन र संविधान सम्पूर्ण नेपाली जनताको लागि बन्नुपर्छ । त्यसका लागि हामी संघर्षको बाटोमा छौं ।
‘विभाजन दुर्भाग्यपूर्ण छ, अब जनतामा जान्छौं’
जसपा विभाजित हुनु दुर्भाग्यपूर्ण भएको महतोले बताए । निर्वाचन आयोगमा सोमबार सनाखतका लागि पुगेका नेता महतोलाई पत्रकारले सोधेका थिए, ‘दल त तपाईको गयो हैन ?’
जवाफमा उनले भने, ‘दल कतै गएको छैन । ५१ जनामात्रै दल होइन, दल जनताबाट निर्माण हुने हो । यो कुरा हामीले बुझेका छौं । सम्पूर्ण नेपाली जनताले बुझेको हो । हामीले यहाँ विभाजनसम्बन्धी जुन प्राविधिक काम गर्यौं, यो दुर्भाग्यपूर्ण हो ।’
पार्टीभित्र महन्थ ठाकुरसँगै अल्पमतमा परेका महतोले निर्वाचन आयोगको प्राङ्गणबाट भने, ‘उपेन्द्र यादवको पार्टी हामीले एक वर्ष पहिले बचाइदिएका थियौं । एक साल पहिल्यै उपेन्द्रजीको पार्टी विभाजन भइरहेको थियो, एक सालभित्रै यो अवस्था आउला भनेर कल्पना पनि गरिएको थिएन । तर, दुर्भाग्यपूर्ण अवस्था आयो ।’
पार्टीभित्र प्राविधिक बहुमत देखाएर केही पनि नहुने भन्दै यसको फैसला अब जनताले नै गर्ने महतो बताएका छन् । यसबाट जनताको मत विभाजन नहुने बताउँदै उनले भने, ‘जनता वैकल्पिक शक्ति निर्माण गर्न चाहन्छन् ।’
महतोले अगाडि भने, ‘यो देशमा वैकल्पिक शक्ति निर्माण गर्न र उत्पीडित जनतालाई न्याय दिनका लागि हामी एकतावद्ध भएका थियौं । त्यसको ठीक विपरीत प्राविधिक विभाजन यहाँ देखाएर यो जुन विभाजन गर्न खोजिएको छ, यो दुर्भाग्यपूर्ण छ ।’
अब आफूहरु जनतामा जाने बताउँदै महतोले भने, ‘जनतामै जाने हो । दलसम्बन्धी, जनमतसम्बन्धी, जनाधारसम्बन्धी सम्पूर्ण निर्णय जनताले नै गर्ने हो । त्यसैले जनतामै जाने हो । यसमा हामी कतै विचलित हुनेवाला छैनौं । यो प्रविधिक विभाजनबाट कुनै असर पर्नेवाला छैन । ढुक्क भए हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’
-
राजेश हार्डवेयरसहित ५ कम्पनीको बिक्री वितरण रोक्का
-
आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक
-
ट्रम्पले फेरे मतदान प्रक्रियाको नियम
-
कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली
-
अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?