शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६ महिनाअघि हराएका ३ बालबालिका भारतबाट उद्धार

सोमबार, ११ साउन २०७८, १५ : ०४
सोमबार, ११ साउन २०७८

बाँकेको कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो ।  कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी,  सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी  छन् ।  रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ । 

भारतको बरेलीस्थित नारी निकेतन अनाथ आश्रममा रहेका उनीहरुलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो । उनीहरुसँगै बैतडीका १ र दाङका १ गरी थप दुई बालक पनि सोही बालगृहमा राखिएको वडाध्यक्ष थारूले जानकारी दिए । ६ महिनाअघि कोहलपुरबाट हराएका बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिहमा पुगेका जनाइएको छ ।

त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन् । बरेली पुग्नु भन्दा दुई÷तीन किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो ।

नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारत गएर बालबालिका अलपत्र पर्ने गरेका छन् । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले साथीका लहलहैमा घर छोडेर हिँडेका बालबालिका जोखिमपूर्ण यात्रा गरी भारतका विभिन्न शहरमा अलपत्र पर्ने गरेको बताए । उनका अनुसार यसअघि पनि भारतको बहराइच, लखनउ, दिल्लीलगायतका स्थानमा अलपत्र परेका बालबालिकाको उद्धार गरी पारिवारिक पुनः मिलन गराउने काम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप