बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका

सोमबार, ११ साउन २०७८, १३ : ३३
सोमबार, ११ साउन २०७८

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । शिक्षा ऐन बनेको धेरै समयपछि नगरपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएको छ । 

समितिको संयोजकमा नगरशिक्षा अधिकारी पोखरेल रहेका छन् । उनको संयोजकत्वमा गठित समितिमा सिगाना मावि तित्याङका प्रअ गोपालकुमार शर्मा, पूर्वआरपी उमानाथ शर्मा, जनता धन माविका प्रअ कुमार पौडेल, पूर्व प्रअ टीकाराम सापकोटा, कालिका कन्या माविका शिक्षक हुमा रिजाल र संस्थागत विद्यालयका प्रतिनिधिका रुपमा महेशचन्द्र प्रधान रहेका छन् ।

यो समितिले कक्षा ३ सम्मको पाठ्यक्रम बनाएर लागू गर्ने योजना बनाएको छ । आइतबार बसेको समितिको बैठकले आगामी भदौ १५ गतेसम्म पाठ्यक्रम तयार पार्ने निर्णय गरेको पोखरेलले जानकारी दिए । “हामीले कम्तीमा भदौ १५ गतेसम्म मस्यौदा बनाइसक्ने र शैक्षिकसत्रभरिमा पाठ्यक्रम बनाएर पुस्तकसमेत छाप्ने योजनामा छौँ”, पोखरेलले भने, “यो पाठ्यक्रम आएपछि नगरपालिकको मौलिकपना पनि बढ्ने छ ।” 

पाठ्यक्रममा नगरभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र पनि समावेश गरिने बताइएको छ । यसअघि तमानखोलाले आफ्नो पाठ्यक्रम बनाइसकेको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप