शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : आत्महत्या र जबर्जस्ती करणीका घटना बढे

लागु औषधका घटनामा कमी
सोमबार, ११ साउन २०७८, ११ : २२
सोमबार, ११ साउन २०७८

बुटवल । लुम्बिनी प्रदेशमा आत्महत्या, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीका घटना बढेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । यस्तै ज्यान मार्ने उद्योगका घटना पनि तीन वर्ष यता बर्सेनि उकालो लाग्दै गएको छ ।

जबर्जस्ती करणीका घटना २०७५/७६ को तुलनामा २०७६/७७ मा केही कमी देखिए पनि २०७७/७८ मा भने अस्वाभाविक वृद्धि भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ७९८ थियो । आर्थिक वर्ष २०७६/७७ मा यो संख्या बढेर ९४५ पुग्यो । आर्थिक वर्ष २०७७/७८ मा झुण्डिएर आत्महत्या गर्नेको संख्या अझ बढेर एक हजार ९० पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, आत्महत्या गर्ने दुरुत्साहनको घटना पनि बढ्दो छ । आर्थिक वर्ष २०७५/७६ मा आत्महत्या गर्ने दुरुत्साहनका घटना १७ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा यो संख्या बढेर २७ पुग्यो भने आर्थिक वर्ष २०७७/७८ मा अझ बढेर ३१ पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विष सेवन गरी आत्महत्या गर्नेको संख्या भने आर्थिक वर्ष २०७५/७६ मा ३०४ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेर  २४९ मा सीमित थियो । तर आर्थिक वर्ष २०७७/७८ मा यो संख्या बढेर २६८ पुगेको छ । यस्तै, हाम फालेर आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ६/६ जना रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा भने यो संख्या बढेर ९ पुगेको छ ।

प्रदेशमा साधारण चोरीका घटनामा भने कमी आएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा साधारण चोरीका ३६७ घटना रहेकोमा २०७६/७७ मा यो संख्या घटेर २१८ मा सीमित भयो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा यो संख्या अझ घटेर १६४ रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार लागु औषधका घटनामा विगत तीन वर्षमा उल्लेख्य कमी आएको छ । आर्थिक वर्ष २०७५/७६ मा लागु औषधका ८२६ घटना भएकोमा आर्थिक वर्ष २०७६/७७ मा यो संख्या ४९४ मा झरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने लागु औषधका घटना ३६३ मा सीमित छ ।

मानव बेचविखन तथा ओसारपसारका घटनामा पनि विगत तीन वर्षमा निकै कमी आएको छ । आर्थिक वर्ष २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका ४७ घटना भएकोमा आर्थिक वर्ष २०७६/७७ मा ३० र आर्थिक वर्ष २०७७/७८ मा भने २६ वटा त्यस्तो घटना प्रकाशमा आएको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा जबर्जस्ती करणीका ३५७ घटना भएको लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा यो संख्या घटेर ३४१ मा सीमित भयो तर आर्थिक वर्ष २०७७/७८ मा भने यो संख्या बढेर ४२३ पुगेको छ । वैवाहिक जबर्जस्ती करणीका घटना आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा २/२ रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा भने यो संख्या बढेर ८ पुगेको छ ।

यसैगरी बालयौन दुरुपयोगका घटना पनि आर्थिक वर्ष २०७५/७६ मा ३८ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेर ३६ मा सीमित थियो भने आर्थिक वर्ष २०७७/७८ मा यो संख्या ३३ मा झरेको छ ।

जबर्जस्ती करणी उद्योगका घटना आर्थिक वर्ष २०७५/७६ मा १२९ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेर १०० मा सीमित थियो तर आर्थिक वर्ष २०७७/७८ मा यो संख्या बढेर १३३ पुगेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र सिंह खड्काका अनुसार संख्यात्मक रुपमा हेर्ने हो भने आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा कुल आपराधिक घटना ६ हजार ६२९ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा यो संख्या घटेर ५ हजार ८०३ मा झरेको थियो । तर आर्थिक वर्ष २०७७/७८ मा भने यो संख्या बढेर ५ हजार ८३५ मा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप