शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

खतराको सूचीबाट हट्दै उपत्यकाको सांस्कृतिक सम्पदा

सोमबार, ११ साउन २०७८, ०७ : ०२
सोमबार, ११ साउन २०७८

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ । सन् २०१५ मा गएको भूकम्पलगत्तै उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । भूकम्पले ध्वस्त पारेको सम्पदाको पुनर्निर्माणमा प्रगति गर्न नसकेको जनाउँदै युनेस्कोले उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीमा राखेको हो । अहिले विश्वसम्पदा समितिको जारी बैठकले पुनर्निर्माण प्रगतिउन्मुख रहेको भन्दै खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।

चीनको फुजोमा जारी विश्वका १ सय ९८ पक्ष मुलुकको सहभागिता रहेको भर्चुअल बैठकबाट नेपालको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट हटाइएको हो । बैठकबारे जानकारी दिँदै पुरातत्व विभागका सूचना अधिकृत एवं विश्वसम्पदा महाशाखा प्रमुख डा. सुरेश सुरस श्रेष्ठले नेपाल समाचारपत्रसँग भने– ‘विश्वका अधिकांश पक्ष राष्ट्रले नेपालको सम्पदा पुनर्निर्माण प्रगतिउन्मुख रहेको बताएका थिए । सोही आधारमा तत्काललाई खतराको सूचीबाट हटाइएको घोषणा गरेको छ । विस्तृत विवरण बैठक सकिएपछि प्राप्त हुनेछ ।’

विश्वसम्पदा समितिको जारी बैठक साउन १६ गते सकिँदै छ । बैठकमा विश्वका विभिन्न मुलुकले भूकम्पले ध्वस्त भएका विश्व सम्पदा क्षेत्रका संरचना पुनर्निर्माणका लागि केही थप समय माग्दै ती क्षेत्रलाई खतरा सूचीबाट हटाउनुपर्नेमा जोड दिएको श्रेष्ठले बताए ।

युनेस्कोले भूकम्पलगत्तै हरेक वर्षको बैठकदेखि उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिइरहेको थियो । शुरुमा ८६ वटा मात्रै सम्पदा पुनर्निर्माण हुँदा खतराको सूचीमा रहेको थियो । अहिले १ सय १६ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । लकडाउनको अवधिमा सम्पदा पुनर्निर्माण सन्तोषजनक भएपछि चालू बैठकले खतराको सूचीबाट हटाएको महाशाखा प्रमुख श्रेष्ठको भनाइ थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप