शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा चोरेका गाडी र मोटरसाइकल बेच्न काठमाडौंमा सैनिक कर्मचारीको सहयोग !

सैनिक जवानसहित गिरोहका दुई सदस्य पक्राउ
आइतबार, १० साउन २०७८, १८ : ५८
आइतबार, १० साउन २०७८

भारतमा चोरी गरेर भन्सार छल्दै काठमाडौं आइपुग्ने गाडी र मोटरसाइकल बेच्न सैनिक कर्मचारी नै संलग्न रहेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाले चोरीका गाडीको नक्कली ब्लुवुक र नम्बर प्लेट राखेर चोरीका गाडी बेचेको आरोपमा नेपाली सेनाका जवान कृष्ण रोकाया उर्फ किसनलाई पक्राउ गरेको छ । 

नेपाली सेनाका जवान रोकाया र कञ्चनपुर घर भएका अर्जुन कठायतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । महाशाखाबाट खटिएको टोलीले रोकाया र कठायतले बेच्ने तयारी गरिरहेको अवस्थामा प्रदेश–३–७६२३ नम्बरको हुण्डाई कम्पनीको सेन्ट्रो कार बरामद गरेको छ । 

सैनिक जवान रोकाया कञ्चनपुरस्थित वाडीका हुन् । महाशाखाले सेन्ट्रो कारसँगै भारतबाट चोरी गरेर ल्याएका दुईवटा बुलेट र एउटा केटिएम ड्युक मोटरसाईकल बरामद गरेको छ । भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै ती मोटरसाइकल र गाडी काठमाडौं ल्याइएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

असार १४ मा प्रहरीले भारतबाट चोरेर ल्याएका दुईवटा क्रेटा गाडी र नक्कली ब्लुबुकसहित ३ जनालाई पक्राउ गरेको थियो ।  मोरङ घर भएका रेवतीरमण निरौला, मधुसुदन पाण्डे र कमलबावु पुरी भन्ने कमलबावु भट्टलाई पक्राउ गरेर प्रहरीले ५ बोरा नक्कली कागजात बरामद गरेको थियो । 

‘कमलबावु भट्टको समुह र अहिले पक्राउ परेकाहरुको बीचमा अन्तरसम्बन्ध देखिएको छ’ एसएसपी खापुङले रातोपाटीसँग भने– ‘चोरेर ल्याएका गाडी किनबेच गर्ने सो समूहबारे हामी अनुसन्धान गरिरहेका छौं ।’

३ वटा समूह सक्रिय 

भारतबाट गाडी तथा मोटरसाइकल चोर्न र काठमाडौंमा बेच्नका लागि ३ वटा समूह सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भारतमा चोर्ने समूहले चोरेर कैलालीको गौरीफन्टा नाका सम्म ल्याइदिन्छन् ।  कैलालीमा अर्को समूह छ । सो समूहले काठमाडौंसम्म ल्याउँछन् । काठमाडौंमा नक्कली कागजात बनाउने र बेच्ने काममा कमलबावु भट्ट र सैनिक जवान रोकाया सहितको समूह सक्रिय रहेको अनुसन्धानमा संलग्न महाशाखाका डिएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । चोरीका गाडी बेच्ने समूहले हुण्डाई कम्पनीको क्रेटा गाडी २० देखि ३० लाख र बुलेट मोटरसाइकल २ लाख ३० हजारमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

चोरीका गाडीमा अञ्चलीकरण भएर खालीरहेका नम्बर राखेर नक्कली कागजात तयार गरेको भेटिएको छ । खाली रहेको नम्बरको सूचना यातायात ब्यवस्था विभागका कर्मचारीबाट चुहिएको हुनसक्ने बताइएको छ । त्यसबारे पनि महाशाखाले अनुसन्धान शुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप