सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस पुनर्निर्माणको प्रस्ताव : अबको विकल्प प्रबुद्ध समाजवाद

आइतबार, १० साउन २०७८, १४ : ३३
आइतबार, १० साउन २०७८

विश्व अनेकौँ समस्यासँग जुधिरहेको छ । ती समस्या मुख्यतः पुँजीवादी संस्कार र यसको उत्पादन प्रणालीले पुनरुत्पादन गरेको हो । खास गरी संस्कृतिमा आएको पतन र वर्गीय असमानता वर्तमान समाजका प्रधान समस्या हुन् । ती समस्याको समधानका लागि चलनचल्तीमा खोजिने उपाय निदानतर्फभन्दा पनि पीडालाई कम गर्ने क्षणिक प्रकृतिका (एनेस्थेटिक) हुने गरेका छन् ।

त्यस्ता प्रकारका बहसले समस्यालाई लम्ब्याउँदै झन गहिरो बनाउने खतरा छ । त्यसकारण समस्याको निराकरणका लागि यसको जड पहिल्याउनु पहिलो आवश्यकता हो । सामाजिक नैतिकताको अभिप्राय र भौतिक उत्पादनको उद्देश्यमा परिवर्तन ल्याई अहिंसामा आधारित समाजवादी  दिशातर्फ लाग्नु जरुरी बनेको छ ।

आम बहसमा समाजवादको प्रयोग असफल भएको र पुँजीवाद नै एक मात्र विकल्प भएको तर्क प्रशस्त भेटिन्छन् । खासगरी विश्वका विभिन्न देशमा भएका प्रयोगको असफलतासँगै पछिल्लो असफलताको उदाहरण माओवादी विद्रोहलाई पनि लिने गरिन्छ । यिनै प्रयोगलाई देखाएर समाजवाद असफल भइसकेको निचोड निकाल्ने मानिसको ठूलो जमात छ । यद्यपि यो बहस सीमित र पूर्वाग्रही छ । किनभने यसले मार्क्स र उनीपछिका अन्य वैज्ञानिक समाजवादीहरूले गरेका असफल प्रयोगलाई आधार मानेर मात्रै यसो भन्ने गरेको देखिन्छ । यो बहस एकांकी छ किनभने यसले समाजवादमा पुग्ने अन्य विधिप्रति नजरअन्दाज गर्दछ ।

मार्क्सवादी र लेनिनवादीहरूको प्रयोग असफल हुनु समाजवादको असफलता होइन । यो उनीहरूको विधिमा भएको समस्याका कारण उत्पन्न परिणाम हो । समाजवादको लक्ष्यका लागि जुनसुकै विधि पनि अपनाउन सकिने उनीहरूको सैद्धान्तिक कमजोरीका कारण प्रयोगहरू असफल भएका हुन् । समाजवादको पवित्र लक्ष्य प्राप्त गर्नका लागि हिंसालाई जायज ठहर्याउनु गलत थियो ।

मानिसको स्वभाव निर्धारणमा भौतिक परिस्थितिले अवश्य पनि भूमिका खेल्छ तर मानिसलाई उक्त परिवर्तनका लागि बाध्य बनाउँदा नयाँ विकल्पका लागि अपरिपक्व नै रहन्छ । भौतिक संरचनाको परिवर्तनका लागि पनि पहिला मानसिकतामा परिवर्तन गर्नुपर्ने हुन्छ । समाजमा विद्यमान रहेको संरचनालाई उखालेर नयाँ स्थापित गर्ने जस्तो गरी समाजवादको प्रयोग गर्न खोज्नु अपरिपक्वता थियो । समाजवादको स्थापनाका लागि प्रथमतः कम्तीमा पनि बहुसङ्ख्यक मानिसको मानसिकतामा समाजवादी परिवर्तन हुनु आवश्यक हुन्छ । उसको मानसिकतामा आएको परिवर्तनले स्वभावमा पनि स्वाभाविक परिवर्तन ल्याउँछ । मानसिकताको परिवर्तनले समाजको संरचनामा हुने परिवर्तनलाई दिगो र समृद्ध बनाउँछ ।

मानिस मानसिक रूपमा तयार भएपछि उसले गर्ने संरचनाको परिवर्तनसँग व्यावहारिक योजना जोडिएको हुन्छ । त्यसकारण समाजवादीहरूको पहिलो काम मानिसको चेतनाको परिष्कारका लागि बहसको सिर्जना गर्ने हो । बहस यस्तो होस् जसले मानिसको चेतनाको विकास र विवेकको प्रयोगका लागि मैत्रीपूर्ण वातावरणको निर्माण गर्न योगदान गरोस् ।

पुँजीवाद कुनै विष वृक्ष होइन न त यो कुनै भौतिक संरचना हो । न यसलाई उखेलेर फाल्ने र नयाँ रोप्ने गर्न सकिन्छ । यो त समाजका सदस्यहरूको साझा मानसिकता हो । चेतनशील र दिगो प्रयासले मात्रै मानसिकतामा परिवर्तन गर्न सम्भव छ । यसका लागि विद्यमान रहेको व्यक्तिको कल्पनालाई पुनर्संरचना गरी नयाँ रूप दिनुपर्ने हुन्छ । उपलब्ध मानसिक चित्रहरू र यसबाट बुनिने कल्पनाको आकृतिलाई बदल्दै जाँदा व्यक्तिले आफू अगाडिको भौतिक संरचना स्वभावतः बदल्न थाल्छ । यस्तो परिवर्तनपछि मानिसको खुसी हुने र दुःखी हुने कारण बदलिन पुग्छन् । यसरी एकजनाको मात्रै होइन बहुसङ्ख्यक समाजका सदस्यहरूको भावना जागृत गर्ने कारकहरू बदलिँदा समाजको लक्ष्य परिवर्तन हुन्छ । यसले व्यक्ति व्यक्तिको स्वभाव हुँदै अन्ततः समाजको नै संस्कृति परिवर्तन गर्छ । 

संरचना पछि बदल्ने र मानसिकता पहिले बदल्ने भन्ने जस्तो अनुत्पादक बहसमा पर्नु जरुरी छैन । भौतिक संरचनालाई बारम्बार परिवर्तन गरेर प्रयोग गर्ने विषय नै हो । तर त्यस परिवर्तनले समाजलाई समृद्ध बनाउँछ भन्ने आत्मविश्वास आम नागरिकमा हुनुप¥यो । मानसिकता परिवर्तनलाई जोड दिनुको मतलब भौतिक प्रयोगलाई सँगसँगै नलाने भनेको पटक्कै होइन । के मात्र पनि होइन भने परिवर्तनलाई दिगो बनाउने यो सही विकल्प हो । अझै के पनि हो भने यस परिवर्तनसँगै मानिस जिम्मेवार बन्ने र आफै भौतिक परिवर्तनका लागि अग्रसर हुने परिपस्थितिको निर्माण हुन्छ । हिंसाको प्रयोगलाई निलम्बन गर्नका लागि पनि मानसिक परिवर्तनमा जोड दिनुपर्ने कुरा ऐतिहासिक तथ्यहरूबाट नै प्रष्ट छ, यसमा बढ केही भन्न जरुरी छैन ।

माथि भनिएझैँ मानिसहरूबीचको साझा मानसिकता नै समाजको मानसिकता भएकाले वर्तमानको सामूहिक मानसिकता सर्वविदित नै छ पुँजीवाद हो । व्यक्तिकेन्द्रीयता हो । सङ्ग्रह र भोगको पागलपन हो । यसले उत्पन्न गरेको सामाजिक विभेद र अमानवीय शोषणको परिदृश्य पुँजीवादको भौतिक स्वरूप हो ।

सामाजिक मानसिक समस्या मार्क्सले भने जस्तो ‘मनी मानिया’ हुँदै अहिलेसम्म आइपुग्दा झनै गहिरिँदो छ । जीवनको लक्ष्य धनको प्राप्ति बनेको छ । किन धन ? त्यो प्रश्न नै असान्दर्भिक बनेको छ  । धनले विनिमय गर्न नसकिने केही छैन भन्ने छ । सामाजिक प्रतिष्ठा पनि धनले खरिद तथा बिक्री गर्न सकिने अवस्था छ । अभौतिक कुराहरूको विनिमयको विषय उन्नाइसौँ शताब्दीको मध्यतिर हुने गरेको जस्तो विवादको होइन अहिले अनुकरणीय भएको छ । यति मात्रै होइन, वास्तवमा वर्तमान समाजमा धनका लागि नैतिकताको तस्करी मानिसको दैनिक कर्म बनेको छ । गरिब होस् वा धनी धनका लागि अनैतिक बन्दै जाँदा त्यस्ता जनुसुकै कार्य पनि स्वीकार्य हुने भएका छन् । 

पुँजीवादमा जस्तो धन धनका लागि नभएर अब यो मानिसको व्यक्तित्वका लागि भइसकेको छ । कम श्रममा वा श्रमबिना नै धन आर्जन गर्न सक्नेको इज्जत समाजमा सबैभन्दा ठूलो छ । श्रम गर्नुको विकल्प नहुनेले मात्रै श्रम गर्दछ । यसरी श्रमलाई अपमानित गरिएको छ । आम रूपमा गरिने श्रमहरू पनि व्यक्तिको चाहनाका कारण नभएर बाध्यता र बजारको उपलब्धताका कारण हुने भएकाले प्रायः श्रम गर्ने मानिसहरू पनि आफ्नो काममा खुसी छैनन् ।

यो समस्याग्रस्त मानसिकताले समाजमा वर्गीय विभेद मात्रै सिर्जना गरेको छैन बरु मानिसको प्राकृतिक अधिकारमाथि नै अतिक्रमण गरेको छ । यस सामाजिक पागलपनका कारण कुनै मानिस जन्मजात कथित उच्च बन्छ भने कतिपयले आफ्नो सामान्य क्षमतालाई समेत प्रयोग गर्न नपाएर मानव जीवन नै खेर गइरहेको छ ।

धन आर्जन गर्न वा सामाजिक प्रतिष्ठा आर्जन गर्न सफल भनिएको वर्ग सङ्ग्रहको भोग गर्दा लोभी बन्दै जाने र यो सङ्ग्रह घट्ने कुरामा भयग्रस्त (फोविक) हुँदै पनि जाने गर्छ । अर्को समाजको तप्का हातमुख जोड्न नसक्ने गरी शोषित व्यवस्थामा बाँधिएकाले मौका पाउँदा चोरी डकैती तथा अन्य आपराधिक कर्मसमेत गर्न सक्ने परिस्थितका लागि अभिशप्त छ । त्यसकारण पुँजीवादले मानिसको सर्वाङ्गीण विकासमा बाधा पुर्‍याइरहेको कुरा बुझ्न गाह्रो छैन । प्रष्ट पार्न खोजिएको के हो भने समस्याको पुनरुत्पादन हुँदै जाँदा अब सामाजिक मानसिकता धनको आर्जनमा लिप्त हुने अवस्थामा मात्रै छैन । त्यसका लागि जुनसुकै अमानवीय विधिको पनि प्रयोग गर्ने गम्भीर नैतिक ह्रासको अवस्थामा पुगेको छ ।

यस्तो परिस्थितिमा समाजवादको लक्ष्यमा पुग्नका लागि अहिंसात्मक विधि नै सही विधि हो । यस समाजवादी मानसिकताको निर्माणको विधिमा भिन्नताका बाबजुत अवश्य पनि अहिंसामा विश्वास गर्ने समाजवादी र वैज्ञानिक समाजवादीहरूले राखेका लक्ष्यमा समानता छन् । वर्गविहीन समाज र सामुदायिक भावना जस्ता विचारहरू साझा परिकल्पना हुन् । विशेषतः समाजवादमा पुग्ने तरिका र त्यसका लागि तय गरिने राजनीतिक कार्यक्रमहरूका सवालमा गम्भीर मतभिन्नता छन् । ती साधन र साध्य बीचको सम्बन्ध परिभाषित गर्ने सवालमा उत्पन्न भएका हुन् । तीमध्ये केही यस लेखमा बहस गर्ने प्रयास गरिएको छ ।

समाजवादीहरूबीचमा हिंसाको विषयलाई लिएर मतभिन्नता भएको देखिन्छ । अहिंसाको प्रयोगबाट समाजवादमा पुग्ने र हिंसाको प्रयोगलाई जायज ठहर्याउने मोटामोटी दुई धारमा समाजवादी आन्दोलन विभाजित छ । नेपालको सन्दर्भमा पनि हिंसा प्रयोग गर्ने वा नगर्ने भन्ने प्रश्नमा समाजवादीहरू विभाजित भएका देखिन्छन् । यद्यपि हिंसात्मक तवरले गर्न खोजिएका समाजवादी अभ्यासहरूको असफलता पछि अहिंसात्मक परिवर्तनका पक्षमा मत निर्माण हुँदै गएको विश्व परिस्थिति छ ।

नेपाली काँग्रेसले अहिंसात्मक विचारधारको नेतृत्व गर्ने गरेको छ । हुन त नेपाली काँग्रेसले पनि हिंसाको प्रयोग गरेको इतिहास छ । यद्यपि पार्टीले आफ्नो उक्त कार्यनीतिमा परिवर्तन गरेको लामो समय भइसकेको छ । पछिल्लो समय काँग्रेसमा अहिंसाको विकल्पमा बहस नै हँुदैन । हिंसाको वकालत गर्ने मार्क्सवादी र लेलीनवादी दलहरू पनि आफ्नो विचारलाई बदल्दै गएका छन् ।

पुँजीवाद र वैज्ञानिक समाजवादको विकल्पका रूपमा लोकतान्त्रिक समाजवादलाई अगाडि बढाउने प्रयास पनि भएको छ । मानिसको विचारको परिवर्तन सत्ताको परिवर्तन र धनको बाँडफाँटले गर्न सक्छ भन्ने जड मान्यताका विरुद्धमा यो विचार आएको थियोे । नागरिक स्वतन्त्रतालाई बन्दक बनाएर समाजवादमा पुग्न सकिँदैन भन्ने मान्यताका आधारमा कतिपय समाजवादीहरूले आन्दोलनलाई हिंसाको प्रयोगबाट अलग गर्ने प्रयास गरेका थिए । आर्थिक नीतिहरूमा समाजवादी र राजनीतिक नीतिहरूमा उदारवादी एक मिश्रणका रूपमा सामाजिक लोकतन्त्रको विकल्प निर्माण भएको थियो । उत्तरी युरोपका केही देशमा यस मध्यमार्गी नीतिले ल्याएको तुलनात्मक सफलताले अन्य भूभागका गरिब तथा तेस्रो देशमा अनुसरण गर्ने प्रयास गरेको देखिन्छ । प्राकृतिक स्रोत तथा त्यसबाट उपलब्ध पुँजीको प्रयोग मानव संशाधनको विकासमा लगानी गर्दा उक्त देशहरू आफ्ना नागरिकलाई सार्वजानिक सुविधा निःशुल्क प्रदान गर्न सक्ने भए । उनीहरूले नागरिकलाई काम दिएर त्यसबाट उब्जने धनको उपयोगबाट सार्वजानिक संरचनाको निर्माण गर्न सफल हुन् । पारदर्शी जीवन र राज्य स्तरमा हुने भ्रष्टाचारको नियन्त्रण उनीहरूको सफलताको कडी हो ।

सामाजिक लोकतन्त्रको प्रयोग पुँजीवादभित्रकै एक अंश हो । विकल्प होइन । उत्पादनको उद्देश्य उही पुँजीवादी पुँजीनिर्माण राखेर सामाजिक लोकतन्त्रले दिगो विकल्प दिन सक्दैन । यो विकल्पको प्रयोग विश्वव्यापी रूपमा गर्न नखोजिएको पनि होइन । हाम्रा सामु अनुभव पनि छन् । के देखियो भने सामाजिक लोकतन्त्रका लागि पहिला उत्पादनलाई नै बढाउनुपर्ने भयो । त्यो त ठीक थियो तर उही पुँजीवादी उद्देश्य र विधिमा निर्भर रहेर । यस अवस्थामा उत्पादन प्रणालीको विकल्पविना ठूलो मात्राको सस्तो उत्पादनको होडमा अगाडि आउन सक्ने अवस्थाको निर्माण हुने कुरै भएन । बोलवाला पुँजीवादको नै रह्यो । यसरी सामाजिक लाकतन्त्रको अभ्यास गर्न खोजेका कतिपय गरिब देश असफल भए । भन्नुको मतलब पुँजीवादको विकास गर्न सक्ने देशले सामाजिक लोकतन्त्रको अभ्यास गर्नसक्ने देखियो भने सामाजिक लोकतान्त्रिक देशहरूले पुँजीको विकास गर्न नसक्ने पनि दखियो । यसरी सामाजिक लोकतन्त्र विकल्प बन्न सकेन । उत्पादनको उद्देश्य र प्रणाली दुरुस्तै रह्यो । अन्ततः पुँजीवादले नै सामाजिक लोकतन्त्रको स्वरूपलाई आफू अनुकूल बदल्ने गरेको देखियो ।

पुँजीवादको केन्द्रमा पनि सामाजिक लोकतन्त्रको बहस नहुने होइन तर त्यसको कार्यान्वनका लागि पुँजीको निर्माण नै प्रमुख भएका कारण कतिपय यस्ता नीतिहरूको कार्यान्वयका लागि पुँजीपतिले कर तिर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा पुँजी पलायन हुने भय हुँदा यस्ता कार्यक्रमका लागि स्रोत जुटाउन गाह्रो हुने देखिन्छ । अवश्य पनि यही पुँजीवादी व्यवस्थालाई पुनर्निर्माण गरी अगाडि बढ्नुपर्ने भएकाले समाजवाद उन्मुख नीतिमार्फत राज्यको स्वरूपलाई बदल्दै लैजानु जरुरी छ । सामाजिक समस्या गहिरिँदै जाँदा र यस परिस्थितिमा समाजवादी बहसको सान्दर्भिकता बढ्दै जाँदा राजनीतिक नेतृत्व समाजवादी नीतिहरू अवलम्बन गर्न बाध्य बन्दै गएको जस्तो पनि देखिन्छ । यद्यपि आमूल परिवर्तनका लागि सामाजिक लक्ष्य र उत्पादनको उद्देश्य परिवर्तन नभई सम्भव छैन ।

पछिल्लो समय अर्को प्रयोग देखिएको छ चीनमा । यहाँको कम्युनिस्ट पार्टीले अगाडि बढाएको राजनीतिक मोडलका बारेमा त्यतिसारो प्रशंसा हुने गरेको त छैन । तर के भौतिक विकासका लागि यो मोडल उपयोगी छ त ? भन्ने प्रश्नहरू उठाउन थालिएको छ । पुँजीवादको अन्यसङ्क्रामण बढ्दै जाँदा कतिपय गरिब मुलुकका जनता धनी हुने लालसामा र शासकहरू यस मोडलबाट आफ्नो सत्ता पनि पक्का हुने भएका कारण नक्कल गर्न लालाहित भएका देखिन्छन् ।

वास्तवमा यो मोडलले पनि पुँजीवादी उत्पादनको उद्देश्य र प्रणालीको विकल्प प्रस्तुत गर्दैन । बरु झन् पुँजीवादमा समेत उपलब्ध सामान्य व्यक्ति स्वतन्त्रताको हकमा समेत बन्देज लगाएर दमन गर्ने गरिन्छ । मानिसलाई उत्पादनमा व्यापक रूपमा जोड्ने नाममा राज्यद्वारा व्यक्तिको शोषणलाई वैधानिक मानिएको छ ।

चिनियाँ मोडलमा पुँजीवादी अन्य सङ्क्रमणको समस्या झनै गम्भीर देखिन्छ । धेरै उत्पादन गर्नु र उक्त उत्पादनबाट आएको आर्जनलाई भौतिक विलासमा खर्च गर्नु आम मानिसको लक्ष्य भएको प्रष्ट उदाहरण चिनियाँ प्रयोग हो । विवेक, सहभागिता तथा बहसको गुन्जायस नभएको र ठूलो सांस्कृतिक तथा मानवीय क्षतिका बाबजुद क्षणिक उत्पादन गर्न सफल मानिएको चीनले भविष्यसम्म यही उत्पादनको चक्रलाई कायम गर्न सक्ने सम्भावना छैन । न त चिनियाँ नेतृत्वसँग कुनै आदर्श समाजवादमा पु¥याउने विचार वा चाहना नै छ । वास्तवमा चिनियाँ मोडल पुँजीवाद र वैज्ञानिक समाजवादका गलत धारणाहरूको मिश्रणबाट निर्मित विकल्प हो । यसले पुँजीवादको शोषणमा आधारित उत्पादन प्रणाली र वैज्ञानिक समाजवादको तानाशाही राजनीतिलाई मिलाएर अगाडि बढेको देखिन्छ ।

प्रबुद्ध समाजवाद

मानिस चेतनशील प्राणी हो । ऊ अन्य प्राणीभन्दा फरक एउटा कारण मात्रै छ, त्यो हो उसले आफ्नो पशुवृत्तिलाई पहिचान गर्ने क्षमता राख्छ । उसमा निहित समस्याको पहिचान गरी तिनको समधानसँगै जीवनलाई सुधार गर्ने प्रयास मानव समाजमा मात्रै सम्भव छ । मानिस चेतनाको आदानप्रादन तथा हस्तान्तरणसमेत गर्न सक्ने भएकाले सभ्यताको ज्ञानबाट लाभान्वित हुँदै आएको छ । यसरी मानिसका लागि आफूलाई छिटो परिवर्तन गर्न सक्ने अवसर छ । आजसम्म सभ्यतामा जेजस्ता परिवर्तन भए त्यो चेतनाका कारण नै सम्भव भए । मानिसले जेजति परिवर्तनहरू ग¥यो त्यो चेतनाको परिवर्तन नै थियो ।

वर्तमान विश्वमा प्रबुद्ध समाजवादको औचित्यको एउटा मात्र कारण मानिसको यही चेतनामा परिवर्तन गरी भौतिक परिवर्तनका लागि ऊ आफैलाई सक्षम बनाउनु हो । राजनीतिक पार्टी तथा राज्यसत्ताले गर्ने भौतिक परिवर्तनले आम मानिसको मानसिकतामा परिवर्तन ल्याउँदैन । प्रबुद्ध समाजवादी राजनीतिको प्रमुख जिम्मेवारी उपलब्ध राज्य संयन्त्रको प्रयोग नागरिकलाई सबल बनाउनका लागि गरिनु पर्छ । आफैमा निर्भर बनाउनका लागि गरिनुपर्छ । राज्य कम शासन गर्नका लागि प्रयत्नरत हुनुपर्छ । त्यसका लागि उपयुक्त वातावरणको निर्माण गर्नु नै प्रबुद्ध समाजवादी राजनीतिको प्रमुख जिम्मेवारी हो । जनताको चेतनाको परिवर्तनले जस्तो संरचनाको माग गर्छ त्यही अनुरूप अहिंसात्मक तवरले परिवर्तन गर्दै लैजानु यसको महत्त्वपूर्ण कार्यभार हो ।

आम मानिसको चेतनामा आएको परिवर्तनलाई कुनै नेता वा पार्टीले प्रतिनिधित्व गर्न सक्दैन । त्यसकारण उनीहरूलाई आफ्नो चेतनाको प्रस्तुतिका लागि व्यक्तिगत स्वतन्त्रता अनिवार्य छ । व्यक्तिले उसका विचारलाई अरूसामु राख्न, विरोध गर्न वा उसको विचारको अहिंसात्मक प्रयोग गर्नका लागि आवश्यक वातावरणको निर्माण नै वर्तनमान राजनीतिको उद्देश्य हुनु पर्छ । शान्तिपूर्ण आह्वान, मतदान तथा उनीहरूको राज्य सञ्चालनमा सहभागिताबाट आम मानिसको चेतनाको परिवर्तनलाई व्यक्त गर्न सकिन्छ । माथिबाट दिइने आदेश वा अधिनायकवादी राज्य व्यवस्थामा व्यक्तिका तमाम विकासका सम्भावनामा अवरोध सिर्जना हुने गर्छ । वास्तवमा राज्यको उद्देश्य कम शासन गर्ने हुनुपर्छ भने नागरिकको उद्देश्य राज्यको आवश्यकतालाई कसरी अनावश्यक बनाउने भन्ने हुनुपर्छ ।

यसरी वास्तवमा प्रबुद्ध समाजवादले राज्यको अस्तित्वलाई सङ्क्रमणकालीन बाध्यता ठान्छ । राज्यको अहिलेको जड स्वाभावलाई अन्त्य गरी यसलाई लचक र आवश्यकता अनुसार भङ्ग तथा पुनस्र्थापना गर्न सक्ने अवस्थामा समाजलाई पु–याउन जरुरी मान्छ ।

राज्यको आवश्यकता मानिसका आवश्यकता अनुसार निश्चित उद्देश्यका लागि हुन सक्छ । उद्देश्य प्राप्तिपछि यसको विगठन गर्न सक्ने वा नयाँ आवश्यकताअनुसार पुनः गठन गर्न सकिने लचक अवस्थामा पु¥याउनुपर्ने छ । विगठन हुँदा पनि नागरिकको जीवनमा नकारात्मक असर नपुग्ने अवस्थाको निमार्णका गरिनुपर्नेछ । यही प्रबुद्ध समाजवादी राजनीतिको प्रथामिकता हुनुपर्दछ । उक्त उद्देश्यमा पुग्नका लागि राज्य स्थापनाको उद्देश्य पनि पुनः परिभाषित गर्नुपर्ने देखिन्छ । लोकतान्त्रिक राजनीतिमा यस सम्भावनाको गुन्जायस अवश्य छ । यद्यपि यसमा निहित शुन्डाकार संरचना र उत्पादनको गलत उद्देश्यका कारण यस बहसले स्थान पाउन सकिरहेको छैन । प्रबुद्ध समाजवाद यही लोकतान्त्रिक संस्कारलाई समृद्ध बनाउनका लागि अगाडि बढाइइएको विचार हो ।

चेतनाको विकासमा सामाजिक संरचनाले प्रभावित गर्ने एक पाटो छ । यसका साथसाथै प्रबुद्ध समाजवाद स्थापनार्थ मानिसले आफ्नो आन्तरिक परिवर्तनको पाटोलाई अझै महत्त्वकासाथ लिनुपर्ने हुन्छ । मानिस आधारभूत रूपमा पशु भएकाले उसमा अनेकन प्राकृतिक विशेषता छन् । लोभ, मोह, तृष्णा, क्रोध, भय, पूर्वाग्रह र अरूभन्दा विशिष्ट हुनुपर्ने मपाइँत्व (इगो) जस्ता आन्तरिक बाधाहरू उसको चेतनाको विकासका ठूला अवरोध हुन् ।

मानिस आफ्नो व्यक्तित्व परिवर्तनका लागि शिक्षा लिन्छ । शिक्षाको उद्देश्य ती वृत्तिहरूलाई पहिचान गरी परास्त गर्नु हो । यस अभ्यासमा पूर्ण रूपमा सफलता प्राप्त गर्न अधिक कठिन भए तुलनात्मक सुधारले पनि मानिसको जीवनमा खुसी ल्याउन सक्छ । प्रबुद्ध समाजवादमा पुग्नका लागि व्यक्तिले आन्तरिक रूपमा गर्नुपर्ने सुधारका पक्षहरू प्रधान भएर आउँछन् । किनभने व्यक्ति नै समाजको केन्द्र हो । उसमा आउने परिवर्तनले समाजलाई प्रभावित गर्न सक्छ । समाज मानिसको साझा नैतिक कल्पना भएका कारण व्यक्ति व्यक्तिको चेतनामा आउने परिवर्तनले अन्त्यमा समाजको साझा स्वभाव वा संस्कृतिमा परिवर्तन ल्याउँछ । यी अवरोधसँग जुध्नका लागि मानिसलाई परिवार, समाज तथा राजनीतिको आवश्यकता पर्छ । सही वातावरणको उपलब्धताले आफूभित्रको सङ्घर्षका लागि सघाउ पु–याउने हुँदा सामाजिक व्यवस्थाको उद्देश्य यही वातावरणको निर्माण हुनुपर्छ ।

वास्तवमा समाज सभ्यताको चेतनाको निरन्तरता हो । प्रत्येक कालखण्डमा विशिष्ट सामाजिक परिस्थितिको निर्माण हुन्छ । उक्त परिस्थितिमा उत्पन्न हुने अवसर र चुनौतीको सामना मानिस जन्मनासाथ गर्छ । बच्चाका लागि उपलब्ध त्यो परिस्थितिले भविष्यलाई प्रभावित गर्न सक्ने भएकाले समाज बच्चाका लागि स्वस्थ हुनुपर्दछ । त्यसकारण नै बच्चाको पालन पोषण एवं शिक्षाका लागि समाजको ठूलो पुँजी लगानी गर्ने गरिन्छ अर्थात मानिसको चेतनालाई विकास र हस्तान्तरण गर्न सकिन्छ । यसको विकासले भविष्यको पनि निर्धारण गर्ने भएकाले मानिसको चेतनाको विकासभन्दा अर्को कुनै महत्त्वपूर्ण राजनीतिक कार्यनीति हुन सक्दैन । यसैमार्फत मात्रै समाजवादको स्थापना गर्न सकिन्छ ।

प्रबुद्ध समाजवाद के मान्दछ भने समाजका बहुसङ्ख्यक व्यक्तिको मानसिकतालाई परिवर्तन नगरी वास्तविक रूपमा परिवर्तन सम्भव छैन । चेतनाको परिवर्तन अहिंसात्मक विधिबाट मात्रै सम्भव छ । मानिस चेतनशील प्राणी भएकाले उसको चेतनाको परिवर्तन नै वास्तविक परिवर्तन हो । मानिसमा सत्गुणहरू हुनेहुँदा निहित प्रेम, करुण, सहयोग तथा सहकार्य जस्ता चेतनाका वृत्तिहरूलाई उजागर गरेर समाजको दिगो परिवर्तन गर्न सकिन्छ । तत्काललाई समाजको लक्ष्य परिवर्तन गरी उत्पादनको उद्देश्यलाई पुनरपरिभाषित गर्नु आवश्यक छ । मानिस उसका भौतिक तथा बौद्धिक आवश्यकताहरूको पूर्तिका लागि ऊ आफै सक्षम हुनुपर्दछ तब मात्र समाजवाद सम्भव छ । मानिसले रूपैयाँले खरिद गर्ने आत्मनिर्भरताले अन्तरनिर्भर बढाउँदै परनिर्भर बनाउँछ । यस परनिर्भरताको वास्तविकतालाई स्वीकार गर्दै यसको परिवर्तनका लागि राजनीतिक कार्यक्रमहरू अगाडि बढाउनु वर्तमानको कार्यभार हो ।

मानिसको लक्ष्य भौतिक हुन सक्दैन । मानिस एक चेतनशील प्रणाली भएकाले उसले आफ्ना भौतिक आवश्यकताहरूको प्रकृतिलाई बुझेर तिनलाई घटाउने उसको उद्देश्य हुन्छ । प्रबुद्ध समाजवाद के मान्छ भने मानव सभ्यता अत्यावश्यक भौतिक आवश्यकताको परिपूर्तिका लागि सक्षम भइसकेको छ । अहिले जति अभाव र विभेद छ त्यो उत्पादन गर्न सक्ने क्षमता नभएका कारणले होइन, त्यसको नियन्त्रण र वितरणमा भएको असमताका कारण हो भन्ने कुरा प्रष्ट छ । त्यसकारण मानिसलाई समान अवसरले प्रत्याभूत गर्नका लागि आवश्यक केही आधारभूत अधिकारहरू नागरिकमा हुनुपर्छ भन्ने कुरामा दृढ छ ।

आधारभूत आवश्यकताको परिपूर्ति जमिनबाट मात्रै सम्भव छ । मानिस उसले चाहेको जमिनबाट उत्पादन गर्नका लागि स्वतन्त्र छ । जमिनको प्राकृतिक अधिकारको स्थापनापछि मात्रै व्यक्ति आफ्ना आवश्यकताको परिपूर्तिका लागि श्रम गर्न स्वतन्त्र बन्छ । कोही पनि भूमिहीन हुनु हुँदैन । मानिसले जुनकुनै बाँझो जमिनमा आफ्नो पसिना बगाउन स्वतन्त्र छ । व्यक्तिले जमिनको प्रयोग उत्पादनका लागि मात्रै गर्न सक्छ । जमिनको बेचबिखनलाई रोकिनु पहिलो आवश्यकता हो । व्यक्तिले उत्पादन गर्न सक्ने समयसम्म त्यो जमिन उसको नियन्त्रणमा रहन सक्दछ । यस्तो सम्पत्तिको पुस्ता हस्तान्तरण पनि रोकिनु पर्छ ।

प्रबुद्ध समाजवादले भूमिमाथिको प्राकृतिक अधिकारलाई स्थापित गर्न खोज्नुको महत्त्व यति कुरामा मात्रै सीमित छैन । व्यक्ति पूर्ण रूपमा स्वतन्त्र बनाउनका लागि आवश्यक जमिनबाट भौतिक आवश्यताको पुर्ति त गर्छ नै । यसका साथसाथै माटोसँगको उसको सम्बन्धले विद्यमान बजारको अनिश्चितता र मूल्यमा हुने परिवर्तनको भयबाट मुक्त गर्दै बजार वा अन्य उत्पादकमा निर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गर्छ । कृषि कर्म सबै मानिसले गर्नुपर्ने भौतिक रूपमा आत्मनिर्भर बन्नका लागि मात्रे होइन यसको आध्यात्मिक महत्त्व पनि उस्तै छ । के कुरा प्रष्ट छ भने भौतिक र मानसिक कुराको अन्तरसम्बन्ध भएका कारण भौतिक रूपमा आत्मनिर्भर मानिसले मात्रै मास्तिष्कलाई स्वतन्त्र बनाउँदै सही विवेकको प्रयोग गर्न सक्छ । कृषि कर्मले प्रकृतिसँग जोड्ने भएकाले प्रकृतिको ज्ञानका साथै शारीरिक श्रम र स्वस्थ खानाले मानिसलाई लाभान्वित गर्छ । वर्तमान व्यवस्थामा खाद्य जस्तो अत्यावश्यक वस्तुको नियन्त्रण केही पुँजीपतिको हातमा पुग्दा उत्पादन गर्ने र उपभोग गर्ने दुवै मानिसहरू अमानवीय ढङ्गले शोषणमा परिरहेका छन् । कृषि कर्मले मानिसलाई यस शोषणको चक्रबाट मुक्त गर्नुका साथै बढ्दो वातावरणीय असन्तुलनलाई नियन्त्रण गर्न पनि सघाउ पु–याउने हुँदा यसको महत्त्व बढ्दै गएको छ ।

कृषि कर्मको कुरा गर्दा मानिसमा भ्रम हुने गरेको छ । के प्रबुद्ध समाजवादले हामीलाई कृषि युगमा फर्काउन चाहन्छ ? त्यो होइन । प्रत्येक युग कृषि युग हो । प्रविधिको प्रयोगका कारण थोरै मानिसहरूको संलग्नताले नै सबैलाई पुग्ने उत्पादन सम्भव भएको हो । अहिलेको समस्या उत्पादनको कमी होइन । यसको नियन्त्रणको हो । यसको नियन्त्रण ठूलो प्रविधिमार्फत केही व्यक्तिहरूको हातमा रहन गयो । ठूलो पुँजी र ठूलै उत्पादनलाई वर्तमान व्यवस्थाले प्रोत्साहन गर्दै जाँदा कम्तीमा खानाका लागि आत्मनिर्भर कृषक वर्ग परिनिर्भर बन्दै ठूला फार्ममा मजदुरी गर्न विवस भए । समस्या प्रविधिको एकाधिकारमा त छँदै छ । त्यसका साथसाथै साना तथा सर्वसुलब प्रविधि अभावले पनि मानिसलाई पुँजीपतिमा निर्भर हुन बाध्य बनाएको छ । ज्ञान तथा प्राविधिमा मानव सभ्यताले प्राप्त गरेको उपलब्धिलाई केही व्यक्ति वा देशले आफ्ना निजी सम्पत्ति बनाउँदा विभेदको दायर झनै बढ्दै गयो । उपलब्धिलाई छिपाएर राख्ने वा महँगोमा बच्ने अवसरको खोजी गर्ने प्रवृत्तिका कारण साझा सम्पत्ति माथि बहुसङ्ख्यक मानिसको पहुँच स्थापित हुन सकेन ।

यदि प्रविधिको आविष्कारपछि उत्पादन भएको पुँजी श्रमिक वर्गमा पनि समान तवरले बाँडिन्थ्यो भने ती धेरै विकराल असमनाको समस्या नै आउने थिएन । त्यस कारण मानव सभ्याताको साझा सम्पत्ति ज्ञान र प्रविधिमाथिको एकाधिकारलाई तत्काल तोड्नुपर्छ भन्ने मान्यता प्रबुद्ध समाजवादले राख्छ ।

सानो, सर्वसुलभ र आत्मनिर्भर प्रविधिको विकासबाट अहिले विद्ययमान रहेको एकाधिकार र यसले उत्पन्न गरेको विभेदको समस्यालाई समधान गर्न सकिन्छ । आत्मनिर्भर प्रविधि प्रबुद्ध समाजवादको प्राथमिक महत्त्वको क्षेत्र हो । यो कस्तो प्रविधि हो भने जसको पूर्ण ज्ञान र नियन्त्रण प्रयोगकर्तामा हुने गर्छ । उदाहरणका लागि कुनै एक यन्त्रले मानिसलाई कृषि कर्म गर्न सहज बनाएको छ भने उक्त यन्त्रको निर्माण, नियन्त्रण र ऊर्जाको पनि उत्पादन गर्न उक्त प्रयोगकर्ता सक्षम हुनुपर्छ । यन्त्रलाई कसरी सानो र कम ऊर्जामा चल्न सक्ने सर्वशुलभ र सस्तो बनाउने बन्ने विषयमा नै प्रबुद्ध समाजवादको राजनीतिक कार्यक्रम अगाडि बढ्नुपर्छ । वर्तमानमा के देखिएको छ भने प्रविधिको ज्ञानलाई निजीकरण गर्ने र यसलाई बजारमा महँगोमा बेच्ने ।

जब मानिस यस्तो प्रविधिको प्रयोग गर्न थाल्छ तब उक्त प्रविधिको निर्माण त ऊ गर्नै सक्दैन बरु त्यसको मर्मत तथा ऊर्जाको उत्पादन पनि गर्न नसकेर वास्तवमा उक्त प्रविधिमार्फत परनिर्भर बन्दै गएको अवस्था छ । यदि धेरै मानिसमा प्रविधिलाई आत्मनिर्भर भएर प्रयोग गर्ने क्षमता छैन भने क्षताको विकासतर्फ लाग्नु पर्छ । यस्तो अवस्थालाई नाफा कमाउने अवसरमा बदल्ने परिपाटीले मानिसबीचको असमानतालाई झनै बढाएको छ । ज्ञान तथा प्रविधिलाई यसरी नाफा कमाउने माध्यम बनाइनु अनैतिक छ । नयाँ प्रविधि बजारमा ल्याउने र त्यसको ज्ञानलाई निजीकरण गर्ने एक सामाजिक गैरजिम्मेवारी हो । यस शोषणको चक्रबाट मानिसलाई स्वतन्त्र बनाउनका लागि आत्मनिर्भर प्रविधिको विकासमा ध्यान दिनुको विकल्प छैन ।

निष्कर्ष

पुँजीवाद बदलिँदै जाँदा अब विश्व अर्थतन्त्र नाफामा होइन दलालीमा निर्भर हुने अवस्थामा पुगेको छ । व्यक्ति श्रम नै नगरी धनी हुन चाहन्छ । धनको एक साधन हो तर उक्त साधनको प्रयोग के कामका लागि भन्ने प्रश्न नै उठाउन छाडिएको छ किनभने साधन नै साध्य भएको सांस्कृतिक अन्यसङ्क्रामणको अवस्थामा समाज पुगेको छ । अभौतिक चिजहरूको विनिमय हुँदै नैतिकताको तस्करी गरी धनको सङ्ग्रह गर्ने पागलपन वर्तमान समाजको प्रधान समस्या भएका कारण यसको समाधन नै प्रगतिशील राजनीतिको कार्यभार हुनुपर्छ ।

ऐतिहासिक रूपमा प्रयोग भएका वैज्ञानिक समाजवाद, सामाजिक लोकतान्त्रिक प्रयोग र पछिल्लो चिनियाँ मोडललगायत यी कुनै पनि व्यवस्थाले पुँजीवादको विकल्प प्रस्तुत गर्न सकेनन् । त्यसकारण नयाँ विकल्पको खोजी हुँदै जाँदा प्रबुद्ध समाजवाद नै अबको विकल्पको रूपमा अगाडि आएको छ ।

प्रबुद्ध समाजवादले पुँजीवादी उत्पादनको जुन उद्देश्य नाफा छ, त्यसलाई परिवर्तन गरी आत्मनिर्भरता हुनुपर्दछ भन्ने मान्यता अगाडि बढाएको छ । यसले समाजको लक्ष्यलाई पुनरपरिभाषित गरी इन्द्रीय सन्तुष्टि वा भोग होइन चेतनाको समृद्धि मानिसको लक्ष्य हुनु पर्छ भन्ने कुरालाई प्रधान महत्त्व दिएको छ । वर्तमान समाजमा रहेका शोषण, विभेद तथा वातवरणीय असन्तुलन जस्ता समस्याको न्यूनीकरण गर्दै मानव सभ्यतालाई नयाँ विवेकको मार्गमा लैजाने उद्देश्यका साथ प्रबुद्ध समाजवाद अगाडि आएकाले अबको सान्दर्भिक बहस यही नै हो ।

सापकोटाको प्रस्तावको पूर्णपाठ: ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश सापकोटा
दिनेश सापकोटा
लेखकबाट थप