बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको कार्यभार र विद्यार्थीको खबरदारी

आइतबार, १० साउन २०७८, १४ : २६
आइतबार, १० साउन २०७८

नेपाली राजनीतिमा २०७८ असार २८ गते असामान्य दिन बनेको छ । नेपालको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले लोकतन्त्र, संविधान र राष्ट्रियताका लागि अभूतपूर्व फैसला सुनाएको दिनका रूपमा रहन पुग्यो । सर्वोच्चले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभा ब्यूँताएर नागरिक सर्वोच्चता स्थापित गरेको दिन हो ।

यसैको जगमा दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने ओलीको बालुवाटारबाट बहिर्गमन सम्भव भयो । बालुवाटारबाट ओलीको बालकोट सराइ नेपाली राजनीति इतिहासमा अरू प्रधानमन्त्री पदमुक्त भएर आफ्नो निजी निवासमा गएजस्तो सामान्य थिएन । बालुवाटारबाट ओलीको बिदाइ र धरापमा परेको संविधान, लोकतन्त्र र राष्ट्रियता बचाउने नयाँ अध्यायको सुरुवात पनि थियो ।

विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनु समृद्धि र सुशासनका लागि कति महत्त्वपूर्ण हुन्छ ? छिट्टै नतिजा देखिनेछन् । विगतको ‘ट्र्याक रेकर्ड’ सुखद नभएकाले देउवाको प्रधानमन्त्रीको कार्यकालमा चमत्कार पूर्ण काम होला भन्ने आशङ्का कायमै छन् । यति चाहिँ ढुक्कसँग भन्न सकिन्छ– लोकतान्त्रिक पार्टीका सभापतिसमेत रहेका देउवाले ओलीले जस्तै लोकतन्त्र, संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनमाथि प्रहार गर्ने छैनन् ।

प्रतिगमनविरोधि आन्दोलनको अग्रमोर्चामा रहेका माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन्, त्यसैले उनीमाथि बाटो बिराउन नदिने ‘ब्रेकर’ पहिला नै छन् । प्रतिनिधि सभाको अधिवेशनमा बलियो विश्वासको मत पाएसँगै देउवासँग लोकतन्त्र र संविधान बचाएर जनतालाई सरकार रहेको अनुभूति दिने अब अवसरै अवसर छन्, खाँचो छ त उनमा इच्छाशक्तिकै मात्रै ।

सत्ता गठबन्धनसँग अनेकौं कार्यभार छन् । पछिल्ला तीन वर्षमा राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्य भएका छन् । लोकतान्त्रिक प्रणाली र देशलाई नै सङ्कटतर्फ धकेल्ने कार्य भएका छन् । व्यवस्था बचाउने वा नबचाउने भन्ने बीचको लडाइँमा बचाउने पक्षधरको जित भएको छ । गठबन्धनले यसको आत्मा बुझ्नुपर्छ । नेतृत्व गरेकाले यसको दायित्व देउवासँग छ ।

अब स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बेला आएको छ । नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्नुपर्नेछ । बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीका आधारमा गर्नुपर्छ । ओली कार्यकालमा जस्तो विदेशी चलखेल हुन नपाओस् भन्नेमा सचेत हुनैपर्छ । ओलीको पुनरावृत्ति अहिलेको गठबन्धनलाई छुट छँदैछैन ।

‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अङ्गीकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर सङ्कटतर्फ धकेलिएको छ,’ तत्कालीन विपक्षी गठबन्धनले ओलीबारे निष्कर्ष निकालेको थियो । अहिले सत्तारुढ गठबन्धन भएपछि यी विषयमा उसको भूमिका र कार्यशैली के हुन्छ ? चासो छ । कामबाट जवाफको प्रतीक्षा छ ।

ओली सरकारले संवैधानिक सर्वोच्चताको उल्लङ्घन गरी स्वेच्छाचारी रूपमा प्रतिनिधि भाको दुई–दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अङ्गलगायत राज्यका निकायहरूको दुरुपयोग, राजनीतिक दलहरूमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलन तथा कोरोना र प्राकृतिक विपत् व्यवस्थापनमा सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखाएको तत्कालीन विपक्षी गठबन्धनको आरोप थियो । त्यसैले देउवा नेतृत्वको गठबन्धन आफै परीक्षामा छ ।

नेपालको संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय हितको रक्षा गर्ने राजनीतिक दायित्वले मात्र गठबन्धनको काम पूरा हुँदैन । कोरोना महामारी र बाढीपहिरो र डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथा पुनस्र्थापना गर्नुपर्नेछ । जनताका अपेक्षा एवं आवश्यकता प्रतिको जिम्मेवारीबोधका साथ सरकारका नीति कार्यक्रम बनाउनुपर्नेछ ।

गठबन्धन सरकार हुन्जेल मात्र होइन, कम्तीमा चुनावसम्म जाने तयारीसहित अगाडि बढ्नुपर्छ । किनभने प्रतिगमन परास्त भएको छ तर अझै ध्वस्त भइसकेको छैन । राष्ट्रपतिलाई संवैधानिक मर्यादामा राख्न पनि गठबन्धन बलियो हुनु जरुरी छ । प्रतिगमनविरुद्ध आमनागरिकलाई सुसूचित गर्नुपर्ने हुन्छ । संविधान र लोकतन्त्रको पक्षमा जनमत तयार गर्नुपर्ने हुन्छ ।

इतिहासको रथको बाटो परिवर्तन गर्न विद्यार्थी सङ्गठनहरुले निर्णायक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । नेपालका हरेक राजनीतिक आन्दोलनमा विद्यार्थी सङ्गठन या समूहहरूको उपस्थितिकै कारण २००७ सालदेखि २०६३ सम्मका उपलब्धि हासिल भएका हुन् । विद्यार्थी समुदाय उमेर, चेतना र मनोविज्ञानका हिसाबले यथास्थितिसँग सम्झौता नगर्ने प्रकृतिका हुन्छन् ।

गलत कार्यविरुद्ध, अन्यायविरुद्ध, बेथितिविरुद्ध जुझारुपन यो समुदायमा हुन्छ । त्यसैले हरेक आन्दोलनमा जसरी राजनीतिज्ञहरुले त्यसको वैचारिक आयाम हाँक्दै आएका छन्, विद्यार्थीहरुले भने त्यसमा आत्मा भर्ने काम गरेका छन् । अहिले विद्यार्थीहरु माझ इतिहासले फेरि नयाँ जिम्मेवारीको माग गरेको छ । गठबन्धनलाई बाटो बिराउन नदिन विद्यार्थीले गर्ने खबरदारी महत्वपूर्ण हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक चुँदाली
दीपक चुँदाली
लेखकबाट थप