कथा : एमेजन जङ्गलमा हेप्पीमाथि रचिएको षड्यन्त्र

person explore access_timeसाउन १०, २०७८ chat_bubble_outline0

नौवटा दक्षिण अमेरिकी देशमा फैलिएको विशाल जङ्गलको नाम एमेजन हो । एमेजन जङ्गलको ६० प्रतिशत ब्राजिल, १३ प्रतिशत पेरु र १० प्रतिशत भू–भाग कोलम्बियामा पर्छ । बाँकी १७ प्रतिशत भू–भाग बोलिभिया, भेनेजुएला, गाइआना, फ्रेन्च गिआना, इक्वेडर हुँदै सुरिनेमसम्म फैलिएको छ । एमेजन जङ्गलभित्र असङ्ख्य आदिवासीहरू बसोबास गर्छन् । तीमध्ये ‘ग्वारानी’ समुदाय एक हुन् । ‘ग्वारानी’ समुदाय ब्राजिलको उत्तर–पश्चिमी क्षेत्रमा बसोबास गर्छन् । अन्य आदिवासीको तुलनामा, ‘ग्वारानी’ समुदायको जनसख्या एमेजन जङ्गल भित्र–बाहिर अधिक रहेको छ ।

मार्कोस भेरोन ग्वारानी समुदायका मुखिया हुन् । यिनी ग्वारानी समुदायको हकहितका निम्ति सङ्घर्षमा होमिएका नायक हुन् । यिनले जीवनका अधिक हिस्सा ग्वारानी समुदायकै उन्नयनमा समर्पित गरेका थिए । बाँकी हिस्सा घर–परिवार र व्यवसायमा खर्चेका थिए । मार्कोसद्वारा सामाजिक, व्यावसायिक र पारिवारिक जीवनलाई सन्तुलनमा राखिएको देखिन्छ । सामाजिक जीवनझै, पारिवारिक र व्यावसायिक जीवनमा पनि माया, प्रेम र भातृत्वको  रङहरू छरिएको देखिन्छ । सत्तरीयौँ वसन्त टेके पनि मार्कोसको स्मरण शक्ति धमिलो भएको छैन तर शारीरिक रूपमा पोहोर परारभन्दा निकै कमजोर देखिन्छन् । वृद्धावस्था सँगसँगै यिनका पुराना जोस जाँगरहरू क्रमश लुप्त भएका छन् ।

सत्तरीऔं जन्मजयन्ती मनाएको तेस्रो साँझ, छोरा आभा भेरोन र बुहारी दामीआना भेरोनलाई आफू छेउ डाक्छन् । आफ्ना कुरा ध्यानपूर्वक सुन्न आग्रह गर्छन् । “प्यारा छोरा–बुहारी, हिजो आज म कमजोर भएको छु । अस्वस्थ देखिएको छु । अब लामो समय बाँच्छु जस्तो लागेको छैन । संसारबाट छिट्टै बिदा हुन्छु जस्तो लागेको छ । तर मृत्यु अगाडि घरसल्लाह गर्न चाहन्छु । हाम्रा विगतबारे जानकारी दिन चाहन्छु । आज हाम्रो तबेला, घोडाहरूले भरिभराउ छ । यहाँ रहेका सबै घोडा भारी बोक्छन् । हामीलाई मनग्य आम्दानी गर्न सहयोग गर्छन् । यी घोडाकै बलमा हाम्रा दिन फेरिएका छन् । तर सुदूर अतितमा हाम्रो अवस्था भिन्नै थियो । हामी गरिबी, अभाव र पछौटेपनको भुमरीमा रुमल्लिएका थियौँ । मेरा आमा–बुबा, दिनहुँ उखु खेतीमा जोतिन्थे ।

उखु खेतीमै मजदुरी गरेर, जीविकोपार्जन गरेका थिए । गरिबी र अभावका कारण, आमा–बुवाले अल्पायुमै ज्यान गुमाउनुपर्यो । बुवा पैँतीस र आमा सैँतीस वर्षको उमेरमा परलोक जानुभयो । उहाँहरूको मृत्युपछि म बेसहारा भएँ । अभिभावकहरूको छहारीबाट विमुख भएँ । त्यसपछि म पनि बुवा–आमाझैँ उखु खेतीमा काम गर्न थालेँ । तेह्र वर्षको कलिलो उमेरदेखि मजदुरी गरेँ । मजदुरी गरेको दशकौँ पछि पनि जीवनमा कुनै परिवर्तन नआएको महसुस गरेँ । दशकौँदेखिको श्रम निरर्थक भएको मूल्याङ्कन गरे । सायद, मभित्र परिवर्तनका अङ्कुर पलाएका हुनुपर्छ । फलस्वरूप दशकौँदेखिको मजदुरी पेसा त्याग्ने सोच बनाए । विकल्पमा नयाँ व्यवसाय प्रारम्भ गर्ने सपना बुने । आफूसगँ सञ्चित र छिमेकीसँग लिएको सापटी रकमबाट घोडा किन्ने अठोट गरे । योजना अनुरूप एउटा वयस्क घोडा खरिद गरे । घोडाको नाम ‘हेप्पी’ राखे । हेप्पीको आगमन पछि घरको आर्थिक अवस्थामा सुधार हुन थाल्यो । हेप्पी र मैले कठोर परिश्रम गरिरह¥यौ । साथ साथै सामान ढुवानीको काममा वृद्धि भयो । गाउँकै अगुवाहरुको रहोबरमा बिहे गरे ।

अर्को वर्ष आभाको जन्म भयो । हेप्पी र म एकनासले सामान ढुवानीमा लागिरह्यौँ । हामीसँग अटुटरूपले पैसा जम्मा हुँदै गयो । जम्मा भएका रकमबाट, वर्षैपिछे नयाँ घोडा किन्दै गयौँ । नयाँ घोडा, हेप्पी जस्तै परिश्रम गरे । परिश्रमी घोडाकै कारण आज हामीले गरिबी र अभावमाथि विजय हासिल गरेका छौँ । साथसाथै दुई दर्जन घोडाका धनी भएका छौँ । यी सबै घटना क्रमहरूलाई मूल्याङ्कन गर्दा हेप्पीको आगमनले हामीलाई उन्नतिको मार्गमा दोहो¥याएको छर्लङ्ग हुन्छ । हेप्पीले हाम्रो परिवारलाई लगाएको गुण, हामीले कदापी बिर्सिन हुँदैन । हेप्पी हाम्रो घरमा सौभाग्य बनी आयो ।

उसको अनुपस्थितिमा घरको सौभाग्य हराउन सक्छ । त्यसर्थ जस्तोसुकै परिस्थितिमा हेप्पीलाई नबेच्नु । बेवारीसे नबनाउनू ।” यति कुरा भनेसँगै मार्कोस आफ्ना भनाइ टुङ्ग्याउँछन् । बुवाको कुरा सुनेपछि छोराबुहारी गम्भीर मुद्रामा देखिन्छन् । एकअर्काको  मुहार हेर्छन् । दुवैजना वृद्ध बुवाको हात समाउँछन् । बुवाको सुझाव अनुरूप हेप्पीलाई कदापी नबेच्ने र बेवारिसे नबनाउने प्रतिज्ञा गर्छन् । छोरा–बुहारीको प्रतिज्ञा सुनेर मार्कोस खुसी हुन्छन् । छोरा–बुहारी र बाबाबीचको घरसल्लाह आत्मीय ढङ्गले टुङ्गिन्छ ।

घर सल्लाह भएको पाँचौँ दिन, प्रकृति अशान्त बन्छ । एमेजन जङ्गल वरपर भारी वर्षा हुन्छ । हुरी–बताससँगैको भारी वर्षाले, सयौँ रुख ढल्छन् । पुराना रुख ढलेको देख्दा, नयाँ रुखहरू बिरक्त मान्छन् । रुखहरू ढलेकै दिन, मार्कोस पनि ढल्छन् । यसरी प्रकृति अशान्तकै दिन, वृद्ध मार्कोस धर्तीबाट बिदा हुन्छन् । बुवाको देहावसानपछि, व्यापार–व्यवसायको जिम्मा आभाको काँधमा आइपुग्छ । दामीआना, घर–व्यवहार मिलाउन श्रीमानलाई हरसम्भव सहयोग गर्छिन् । समयको वेगसँगै, श्रीमान्–श्रीमती घर–परिवार र व्यापार–व्यवसाय अगाडि बढाउन अभ्यस्त हुन्छन् । घर–परिवार र व्यापार–व्यवसाय राम्ररी चलाउ छन् । अन्य घोडाझैँ हेप्पी काममा व्यस्त हुन्छ ।

समयले कोल्टे र्फेने क्रमसँगै, हेप्पी वयस्क अवस्थाबाट वृद्ध अवस्थामा हुत्तिन्छ । उसको सामथ्र्य क्रमशः विलुप्त हुन्छ । पुराना जोसजाँगर हराउँदै जान्छ । गह्रुँगो भारी बोक्न अप्ठ्यारो मान्छ । कामप्रति अरुचि बढ्दै जान्छ । हेप्पीको परिवर्तित आनीबानीसँग आभा छिट्टै परिचित हुन्छ । हेप्पीको अल्छीपना, ढिलासुस्ती र कामप्रतिको अरुचिले आभालाई खिन्न बनाउँछ । हेप्पी वृद्ध भएकाले, कडा श्रम गर्न नसक्ने आभा ठहर गर्छ । त्यसर्थ वृद्ध हेप्पीलाई तबेलामा धेरै समय राख्नु खर्चिलो र बोझिलो ठान्छ ।

हेप्पीलाई छिटो तबेलाबाट निष्कासित गर्नु श्रेय मान्छ । तथापि हेप्पीलाई गलहत्याउन सहज नभएको ठहर गर्छ । हेप्पीलाई निष्कासन गर्नु र फलामको चिउरा चपाउनु जस्तै ठान्छ । किनभने स्वर्गवासी बुवाले जतिसुकै कठिन परिस्थितिमा पनि हेप्पीलाई नबेच्नु र बेवारीसे नबनाउनु भन्नुभएको थियो । आभा स्वयंबाट, हेप्पीको सरंक्षण गर्ने प्रतिज्ञा भएको थियो । बुवाको सुझाव र आफ्नै प्रतिज्ञाले आभालाई धर्म सङ्कटमा पारेको छ । ऊ अन्योलग्रस्त भएको छ । निल्नु न ओकल्नुको दोसाँधमा उभिएको छ । हेप्पीलाई तबेलाबाट निष्कासन गर्दा आर्थिक बोझ कम हुनेछ । तर बुवालाई दिएको प्रतिज्ञाबाट भने आभा विमुख हुनुपर्नेछ । तसर्थ ऊ रणभुल्लमा परेको छ ।

समय बित्दै जाँदा, हेप्पी झनझन कमजोर बन्छ । आभा पुरानो प्रतिज्ञा भन्दा हेप्पीद्वारा सिर्जित आर्थिक बोझबाट छुट्कारा चाहन्छ । बुवालाई दिएको प्रतिज्ञाबाट विमुख हुँदा, आर्थिक बोझ कम हुने निष्र्कष निकाल्छ । यसका साथै हेप्पीलाई घरबाट निकाल्ने, सही समय आएको ठहर गर्छ । हेप्पीलाई घरबाट बेदखल गर्ने विचार दामीआनालाई सुनाउने कि नसुनाउने भनेर आभा अलमलमा पर्छ । सुनाए दामीआनाको प्रतिक्रिया केकस्तो हुन सक्छ ? भन्दै चिन्तन मनन गर्छ । बुवासँग गरिएको प्रतिज्ञालाई तलमाथि नगर्दा बेस भनी, दामीआनाबाट सुझाव पाउन सक्ने अड्कल काट्छ । जीवन सङ्गीनीबाट आफूले अपेक्षा गरेझैँ उत्तर नआउने भए, सूचना नचुहाउँदा मनासिब हुने ठहर गर्छ ।

अब धेरै ढिला नगरी, हेप्पीलाई घरबाट निकाल्ने योजना बनाउन, आभा अग्रसर हुन्छ । सम्भव भएसम्म, हेप्पीलाई एमेजन जङ्गलमा छाड्दा राम्रो हुने निक्र्योल गर्छ । हेप्पीलाई एमेजन छाडिए, ऊ कहिल्यै घर फर्केर आउन नसक्ने विश्वास गर्छ । आज साँझ, हेप्पीलाई हरहालतमा तबेलाबाट हटाउने गरी, आभा मनमनै योजना बुन्छ । विडम्बना नै भनौँ, हेप्पीमाथि षड्यन्त्र रचिएकै दिन, प्रकृतिमा ठूलै उथलपुथल भएको छ । धेरै समयपछि तेज गतिमा हुरी चलेको छ । तीव्र गतिको हुरीबतासले, यस क्षेत्रको दैनिकीमा बाधा पु¥याएको छ ।  

प्रकृतिले उथल पुथल पारेकै साँझमा, आभा तबेलामा सुटुक्क छिर्छ । हेप्पीप्रति देखावटी प्रेमभाव दर्साउँछ । कसैले चुइँक्क चाल नपाउने गरी, हेप्पीलाई तबेलाबाट निकाल्छ र घरबाट एमेजनतर्फ लाग्छ । कोसाँै पैदलयात्रा पछि आभा र हेप्पी सँगसँगै जङ्गल छिर्छन् । हेप्पीलाई गन्तव्यमा पु¥याउँदा रात छिप्पिएको छ । बुवासँग गरेको प्रतिज्ञालाई तिलाञ्जली दिँदा, आभाको मुहारमा रत्तिभर हीनताबोध वा प्रश्चाताप देखिँदैन । बरु हेप्पीलाई आफ्नो षड्यन्त्रको सिकार बनाउन सफल भएकोमा, विजयभाव झल्किन्छ । आजीवन तबेलामा रमाएको हेप्पीलाई, जङ्गलमा अलपत्र पारेपछि आभा हर्षित हँुदै घरतिर लम्कन्छ ।

घण्टौँको अन्धकारमय पैदल यात्रापछि आभा गाउँ नजिक आइपुग्छ । गाउँमा कुकुरहरू एकोहरो भुकिरहेको आवाज सुनिन्छ । आभा तिनीहरूका नजिक पर्नासाथ, भुकाइ बन्द हुन्छ । ऊ गाउँको बाटो हुँदै आफ्नो घरतर्फ लम्कन्छ । तर घरतिरको अकल्पनीय दृश्यका कारण उसको मनमा चिसो पस्छ । अघि बढ्दै गरेका पाइला अचानक गह्रुँगा हुन्छन् । करिब पाँच सय मिटरको दूरीबाट, घर र तबेलामा भीषण आगलागी भएको देख्छ । यस्तो अविश्वसनीय दृश्यले, आभालाई हस्याङ–फस्याङ गर्दै घरतिर कुद्न बाध्य पार्छ । घरको आँगनमा आइपुग्दा नपुग्दै तबेला जलेर पूर्णरूपले ध्वस्त हुन्छ । तबेलासँगै घोडाहरू जलेर खरानी बन्छन् । लगत्तै आभाको कानमा प्राणप्रिय श्रीमतीको चित्कार सुनिन्छ । क्षणभरमै श्रीमती पनि अग्निको सिकार बन्छिन् । श्रीमतीको आवाज सदाको निम्ति अग्निमा विलीन हुन्छ । यसरी हुरीबताससँगै सल्किएको आगलागीमा परी आभाले एकैसाथ तबेला, घोडा, घर र श्रीमती सबै गुमाउँछ ।

गाउँका बूढापाका मानिसहरू यसअघि गाउँमा यस्तो भयानक आगलागीका घटना कहिल्यै नभएको बताउँछन् । छरछिमेकी आभाको वरपर झुम्मिछन् । आगलागीबाट हुन पुगेको ठूलो धनजन र मानवीय क्षतिप्रति गहिरो सहानुभूति प्रकट गर्छन् । आभा, छर छिमेकीहरूका बीच उभिए पनि, आफूलाई एक्लो महसुस गर्छ । आभाको कानमा बारम्बार दामीआनाको चित्कार गुन्जिरहन्छ । आभाका दुवै आँखा राता भएका छन् । आँखाबाट आँसु बगिरहेको छ ।

श्रीमती गुमाउनु पर्दाको पीडाले विक्षिप्त भएको छ । आगलागी किन भएको होला ? कतै बाबासँग भएको प्रतिज्ञाको अवज्ञा र हेप्पीमाथि रचिएको षड्यन्त्रकै कारण, घरमा बज्रपात आइलागेको त होइन ? हेप्पीको अनुपस्थितिकै साँझ, भयानक त्रासदीपूर्ण दुर्घटना ! यो रहस्यमय दुर्घटना, केवल संयोगवश घटेको हुनै नसक्ने आभाको निष्कर्ष रहन्छ । अन्त्यमा, लाभहानीलाई सर्वोपरि ठानी बाबासँग गरिएका प्रतिज्ञाको स्वामित्व ग्रहण नगरेकोमा आभा पश्चाताप गर्छ ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।