बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केनको भविष्य : स्पर्स छाडेर सिटी जालान् ?

आइतबार, १० साउन २०७८, ११ : २३
आइतबार, १० साउन २०७८

शुक्रबार एउटा खबर फैलियो, टोटनह्यामले स्टार खेलाडी ह्यारी केनलाई बेलायतमा कीर्तिमानी १६ करोड पाउन्डमा म्यानचेस्टर सिटीलाई बेच्न तयार भयो । तर, उक्त खबरलाई तत्कालै प्रिमियर लिग च्याम्पियनले खण्डन गर्‍यो । 

केनले टोटनह्याम छाड्न चाहेको स्पष्ट पारिसकेका छन् । र, सिटीलाई उनको सम्भावित गन्तव्यका रूपमा हेरिएको छ । म्यानेजर पेप ग्वार्डिओला पनि केनलाई क्लबमा भित्र्याउन इच्छुक रहेको बताइन्छ ।

गत मेमा २७ वर्षीय खेलाडीले १७ वर्षको सेवापछि स्पर्स छाड्ने समाचार पहिलोपटक प्रकाशित भएको थियो । गत महिना केनको भविष्यको बारेमा दुई क्लबबीच प्रारम्भिक छलफल भएको पनि समाचारहरू आएका थिए । सिटीले बोरुसिया डर्टमन्डका स्ट्राइकर अर्लिङ ब्राउट हालन्डको अवस्थालाई पनि मूल्याङ्कन गरिरहेको छ । तर, जर्मन क्लबले यो सिजन २१ वर्षीय खेलाडीलाई नबेच्ने बताइरहेको छ ।

क्लबका लागि कीर्तिमानी गोलकर्ता सर्जियो अगुएरोले क्लब छाडेर बार्सिलोना गएपछि ग्वार्डिओलाको टोली नयाँ स्ट्राइकरको खोजीमा रहेको छ । यद्यपि, गत सिजनको अधिकांश समय टोलीले स्ट्राइकर बिना नै खेलेको थियो ।

स्रोतका अनुसार सन् २०२४ सम्म क्लबसँग करार गरेका केनले ट्रान्सफरका लागि आधिकारिक निवेदन भने दिएका छैनन् । स्पर्सका अध्यक्ष डेनियल लेभीसँग भएको ‘जेन्टलम्यान एग्रीमेन्ट’ अनुसार उनलाई क्लब छाड्न दिइने केनको बुझाइ रहेको छ । 

गत सिजन प्रिमियर लिगका शीर्ष गोलकर्ता रहेका केन स्पर्समा अर्को उपाधिविहीन सिजन बिताएपछि निराश छन् । २८ वर्ष पुग्न लागेका केन आफ्नो व्यावसायिक आकाङ्क्षा पुरा गर्न उपाधि जित्न चाहन्छन् ।

के सिटीले सिटीले केनका लागि १६ करोड पाउन्ड तिर्ला त ? सिटी निकट स्रोत भन्छ, अहँ, क्लब तयार छैन ।

सिटीले खेलाडी किन्न धेरै खर्च गर्ने क्लब मध्ये एक रहे पनि एउटा खेलाडीका लागि अहिलेसम्म धेरै रकम खर्च गरेको भनेको रुबिन डियासका लागि ६.५ करोड पाउन्ड हो ।

केनले क्लब छाड्छन् वा छाड्दैनन् भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । किनभने लेभी निकै उग्र मध्यस्थकर्ता हुन् भने केन उत्तिकै दृढ निश्चयी युवक हुन् । उनीहरूको सम्बन्ध निकै पुरानो रहेको छ । त्यस्तै, क्लबका नयाँ म्यानेजिङ डाइरेक्टर अफ फुटबल फाबियो पाराटिसीको भूमिका पनि यहाँ महत्त्वपूर्ण हुने बताइएको छ । 

प्रिमियर लिगको सुरुवाती हप्ताको १५ अगस्तमा टोटनह्याम र सिटीबीचको खेल हुँदैछ । त्यसअघि नै केनको भविष्यको फैसला हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप