अमेरिकी थप अधिकारी र संस्थामाथि चीनद्वारा प्रतिबन्ध, अमेरिकाले फर्कायो जवाफ

person explore access_timeसाउन ९, २०७८ chat_bubble_outline0

हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चीनको उक्त सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो । हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको पनि चेतावनी दिएको छ ।

अघिल्लो वर्ष भएका ठूला प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो । त्यसले देशको विभाजन, देशद्रोह र विदेशी शक्तिहरूसँग गठजोड गर्नेविरुद्ध आजीवन कारावास अधिकतम सजाय तोकेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले ‘हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन’ प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लङ्घन गरेको जनाएको छ । उसले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्व अनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरुको सङ्ख्या विस्तार गरेका थिए । त्यसबाट ह्वावेई र जेडटीईजस्ता अग्रणी चिनियाँ प्रविधि कम्पनी प्रभावित भएका थिए।

चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस–चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङसमेत रहेका छन् ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका ‘विचलित नहुने’ बताएकी छन् । उनले भनिन्, “यी कदमहरू बेइजिङले कसरी कुनै ओहदामा नरहेका नागरिक, कम्पनी र नागरिक समाजका संस्थाहरूलाई राजनीतिक सन्देश दिने उद्देश्यले दण्डित गर्छ त्यसको पछिल्ला प्रमाण हुन् ।”
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।