शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियो ओलम्पिकमा तीन स्वर्णसहित चीन शीर्ष स्थानमा, नेपालका दुई खेलाडी पराजित

शनिबार, ०९ साउन २०७८, २१ : ०५
शनिबार, ०९ साउन २०७८

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । 

प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरलैण्डस्, रोमानिया, चाइनिज ताइपेई र टयूनिसिया एक÷एक रजत पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म २८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये आज सम्पन्न खेलमा नेपालकी कल्पना परियार र सोनिया भट्ट पराजित भएका छन् । सुटिङकी परियारले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भङ्ग गरिन् । उनले महिला १० मिटर एयर राइफलमा ६१६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा ६१४ दशमलव ५ अङ्कको कीर्तिमान थियो । 

यस्तै जुडोकी भट्टले महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरिन् । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप