शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकताको प्रस्ताव लिएर उपेन्द्र र महन्थ कहाँ राजकिशोरको दौडधूप

शनिबार, ०९ साउन २०७८, २० : ४२
शनिबार, ०९ साउन २०७८

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर) पक्षका कार्यकारिणी सदस्य राजकिशोर यादवले एकताको प्रस्ताव लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले भेटेका छन् । आज सुरुमा अध्यक्ष यादवलाई बालकुमारी पार्टी कार्यालयमा र त्यसपछि बबरमहलमा अध्यक्ष ठाकुरलाई भेटेका थिए । दुवै जनालाई उनले जसपालाई एकीकृत बनाउन आग्रह गरेका छन् ।

उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक चलिरहेका बेला बालकुमारी पुगेका राजकिशोर यादव बैठकमै जसपा एकीकृत राख्न आग्रह गरेका थिए । उनले सो बैठकमा भनेका थिए, 'म जसपाको विभाजनको पक्षमा छैन, एकताको पक्षमा छु र म जसपामा नै छु । जसपाबाट बन्ने कुनै पनि समूह वा पार्टीको पक्षमा जाने छैन । जसपा नेपाल बडो मेहनतले बनेको हो, त्यसैले त्यो विभाजन हुन नहुने पक्षमा छु ।’

जसपाका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि आफू ठाकुर पक्षले बोलाएको कुनै पनि बैठकमा नगएको तथा यादव पक्षले आफूलाई कुनै बैठकमा नबोलाएको कारण नआएको धारणा उनले राखेका थिए । आफूलाई महन्थ ठाकुर पक्षको मानिएको हुनाले त्यहाँ नभनी यताको (उपेन्द्र यादव पक्ष) कुनै पनि माइन्युट वा निर्णयमा आफूले हस्ताक्षर नगर्ने कुरा समेत उनले त्यहाँ राखेका थिए ।

ठाकुरले समेत आफूलाई आजको बैठकमा बोलाएको हुनाले त्यहाँ गएर पार्टी एकतालाई कायम राख्न आफूले आग्रह गर्ने तर उनीहरूले बनाउने कुनै पनि पार्टी वा समूहमा आफू नजाने पनि स्पष्ट पार्न चाहेको कुरा त्यहाँ राखेका थिए ।

यति कुरा भनेर उनी महन्थ ठाकुरलाई भेट्न बबरमहल पुगेका थिए । त्यहाँ पुग्दा सो समूहको पनि बैठक चलिरहेको थियो । उनी जाने बित्तिकै अध्यक्ष ठाकुरसँग वान टु वान छलफल गरेका थिए । उनले त्यहाँ पनि जसपा विभाजन गर्न नहुने र एकताका लागि प्रयास गर्नुपर्ने धारणा राखेका थिए । जसपा विभाजनले मधेस कमजोर हुने भएकाले सो पार्टीलाई विभाजन हुन नदिने आग्रह उनले गरेका थिए । उनले महन्थ ठाकुरलाई पनि स्पष्टसँग आफू जसपाबाहेक गठन गर्ने कुनै पनि पार्टी वा समूहमा सहभागी नहुने भनेका थिए ।

जवाफमा अध्यक्ष ठाकुरले पनि आफू पनि जसपाको विभाजन नचाहेको तर परिस्थितिले त्यस्तो बनाई दिएको धारणा राखेका थिए । आफूले पार्टी जोगाउन निकै प्रयास गरेको तर जोगाउन नसकिएको भन्दै अध्यक्ष ठाकुरले भनेका थिए, 'तपाईं जसपामा नै रहने निर्णय गरिसक्नु भएको छ भने मलाई केही भन्नु छैन, तर एक पटक विचार गर्नुस् ।’ त्यसपछि नेता राजकिशोर यादवले आफू जसपामा रहने कुरामा दृढ रहेको र जसपा छाडेर कतै नजाने स्पष्ट पारेका थिए ।

सोमबार हुने हेडकाउन्टमा राजकिशोर यादवले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने भएका छन् । अहिलेसम्म जसपाको बहुमत उपेन्द्र यादवको पक्षमा देखिएको छ । जसको पक्षमा बहुमत सदस्यको हस्ताक्षर हुन्छ । त्यसले नै आधिकारिकता पाउने निश्चित छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप