बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

व्यासमा पहिरोले ट्याङ्की बगाउँदा खानेपानीको हाहाकार

शनिबार, ०९ साउन २०७८, १८ : ४०
शनिबार, ०९ साउन २०७८

तनहुँको व्यास नगरपालिका–१४ मा रहेको डुम्रेबेँसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्की पहिरोले क्षति हुँदा गाउँमा खानेपानी अभाव भएको छ । गत असार १७ गते गएको पहिराले ट्याङ्कीमा क्षति पुगेपछि गाउँमा खानेपानीको अभाव भएको हो । 

पहिराले खानेपानीको ट्याङ्की बगाउनुका साथै अन्य संरचनामा क्षति पुगेको छ । उक्त गाउँमा २० दिनदेखि खानेपानी हाहाकार भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष ता​राबहादुर थापाले जानकारी दिए ।  विसं २०७१ मा नेपाल सरकारको रु ६८ लाखको लगानी र जनश्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको थियो । पहिराले ट्याङ्कीको लिफ्टिङमा आवश्यक पर्ने उपकरण र विद्युतीय सामग्री, पानी जम्मा गर्ने इन्टेक, फिल्टर सिस्टम, पानी लिफ्टिङ गर्नका लागि प्रयोग भएको विद्युतीय पोलसमेत बगाएको छ । “पानीको हाहाकार भएपछि स्थानीयवासी कुवाको पानी प्रयोग गर्न बाध्य भएका छन्”, उनले भने– “जसकारण यहाँका स्थानीयवासीको दैनिकीमा पनि परिवर्तन आएको छ ।”

उक्त खानेपानी योजनाबाट ७० घरधुरीले पानी प्रयोग गर्दै आएका छन् । उनका अनुसार खानेपानीका समस्या भएपछि कुवामा पानी लिन जानुपर्छ, यसले गर्दा खानेपानीको जोहो गर्दैमा दिन बित्ने गरेको छ । 

व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले खानेपानी मर्मतका लागि पहल थालिएको जानकारी दिए । “खानेपानी योजनामा पहिरोका कारण ठूलो क्षति भएको छ, जनतालाई खानेपानीको व्यवस्था गर्नका लागि तत्काल वडा कार्यालयबाट रु दुई लाख ५० हजार र व्यास नगरपालिकाबाट रु पाँच लाख विनियोजन भइसकेको छ’ श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप