बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थाहा नगरपालिकामा कोरोना सङ्क्रमण दर बढ्दो

शनिबार, ०९ साउन २०७८, १८ : २६
शनिबार, ०९ साउन २०७८

मकवानपुरको थाहा नगरपालिकामा अझै कोरोना भाइरस सङ्क्रमण दर घटेको छैन ।  नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले जति प्रयास गर्दा पनि कोरोना सङ्क्रमण दरमा कमी नआएको नगरप्रमुख लवशेर विष्टले बताए ।

नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलका अनुसार थाहा नगरपालिकामा अहिले २५० कोरोनाका सक्रिय बिरामी छन् । त्यसमध्ये १४६ जना अर्थात् ५८ प्रतिशत बिरामी वडा नं १ र ६ का मात्र छन् ।  वडा नं १ मा ६८ र वडा नं ६ मा ७८ जना कोरोना भाइरस सङ्क्रमणका बिरामी छन् । तीमध्ये धेरैजसो एकै टोलका छन् । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरअन्तर्गत वडा नं १ मा अहिलेसम्म १९२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसैगरी वडा नं ६ मा हालसम्म १८६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
 
गत साउनको पहिलो सातामा मात्र थाहा नगरपालिकामा ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । थाहा नगरपालिकाले दैनिक प्रकाशन गर्ने प्रतिवेदनअनुसार नगरमा साउनको पहिलो सात दिनको अवधिमा ४३ जनामा कोराना सङ्क्रमण पुष्टि भएको देखिएको हो । सो अवधिमा ९३ मा एन्टिजेन परीक्षण गर्दा ४६ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई परीक्षण गरिएकामा ४६ प्रतिशतमा कोरोना पुष्टि भएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी  दिए ।

“हामी सामुदायिक ‘कन्ट्याक्ट ट्रेसिङ’मा जान सकेका छैनौँ र यो सम्भव पनि छैन, ‘एक्टिभ केस’का आधारमा परीक्षण गरिरहेका छौँ”, उनले भने ।  सङ्क्रमितको जनसम्पर्कका आधारमा परीक्षण गर्ने हो भने नगरमा कोरोना सङ्क्रमणको अवस्था झनै डरलाग्दो हुनसक्ने उनले बताए । थाहा नगरपालिकामा गत वैशाख १२ यता हरेक दिन कोरोनाका बिरामी भेटिएका छन् । “आज कसैलाई कोरोना देखिएन भन्ने दिनै आएन”, स्वास्थ्य शाखा प्रमुख बलामीले भने । वैशाख १२ यता अहिलेसम्म थाहामा एक हजार ४६ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये वैशाखमा १८४, जेठमा ५३५ र असार महिनामा ४६५ मा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । असार मसान्तमा नगरपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०७ रहेको थियो ।
 
थाहा नगरपालिकाको साउन महिनाको पहिलो सात दिनकै विवरण हेर्दा पनि अघिल्लो महिनाको तुलनामा सङ्क्रमण दर झनै बढेको देखिएको छ । नगरपालिकामा असार महिनामा कोरोना सङ्क्रमण दर ३९ प्रतिशत रहेकामा साउनको पहिलो साता ४६ प्रतिशत पुग्नुले यसको चुनौती थपिएको नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण निर्देशन समितिका संयोजकसमेत रहनुभएका नगरप्रमुख विष्टले बताए । नगरपालिकामा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर अन्तर्गत गत तीन महिनामा कोरोना सङ्क्रमण क्रमशः घट्दै गएको देखिएको थियो । नगरपालिकाले सार्वजनिक गर्ने दैनिक प्रतिवेदनअनुसार गत वैशाखमा कोरोना सङ्क्रमण दर ५१ प्रतिशत रहेकामा जेठमा केही कमी आई ४४ प्रतिशतमा झरेको देखिएको थियो । त्यसैगरी असार महिनामा अघिल्लो महिनाको तुलनामा पाँच प्रतिशतले कमी आई परीक्षण गरिएकामध्ये ३९ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी साउन १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरे पनि निषेधाज्ञाको पूर्ण पालना नगर्दा कोरोना सङ्क्रमण दर बढिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख बलामीले बताए । कोरोनाका बिरामीले ‘होम आइसोलेशन’ मा रहेकामा उनीहरुले मापदण्ड पूरा नगरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप