शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादियो : कमल थापा

शनिबार, ०९ साउन २०७८, १५ : ५४
शनिबार, ०९ साउन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट बिच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै काङ्ग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने बताएका छन् । आज काठमाडौँको क्षेत्र नं. ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले चौध वर्ष अघि आमूल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादिएको बताए ।

अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसङ्गति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाई राप्रपा हुनुपर्ने बताएका छन् । अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा  सङ्गठित र योजनाबद्ध रूपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरूको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताएका छन् । नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाए ।

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै थापाले सङ्गठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदुखमा उच्च प्राथमिकता साथ काम गर्न आग्रह गरे । काङ्ग्रेस र कम्युनिस्टको असफलता, भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आवश्यकता औँल्याउँदै थापाले जनताले विकल्प खोजेका छन्, अबको विकल्प राप्रपा बनाउनको निमित्त सक्रियतापूर्वक काम गर्न जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका काठमाडौँ जिल्ला सदस्य न्युक्षे महर्जन सहित कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ, काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडा, केन्द्रीय सदस्य केशव रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रम क्षेत्र नं. ५ (क) का अध्यक्ष अमित थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप