शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा र सप्तरीका पाँच हजार दलित विपन्न परिवारले पाए पक्की भवन

शनिबार, ०९ साउन २०७८, १४ : २०
शनिबार, ०९ साउन २०७८

जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६–०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् । 

फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका छन् । सङ्घीय सरकारको बजेटबाट गत आर्थिक वर्ष २०७६–०७७ मा मात्र सिरहाका २०० र सप्तरीका २८५ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।

प्रमुख झाका अनुसार सिरहामा ३१५ आवास भवन बनाउने योजना रहेकोमा २०० भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको र ११५ भवन निर्माणाधीन अवस्थामा छ भने सप्तरीमा ५०३ आवास भवन निर्माण गर्नुपर्नेमा २८५ भवन निर्माण सम्पन्न भइसकेको र बाँकी २१८ भवन निर्माणाधीन अवस्थामा छ । 

बजेट अभावका कारण आर्थिक वर्ष ०७७–०७८ मा सिरहाको औरही गाउँपालिकामा ५०० आवास भवनबाहेक अन्य ठाउँमा आवास भवन थपिएको छैन । सिरहाको औरही–१ देखि ५ सम्ममा ५०० घर आवास भवन बनाउन सम्झौता भएर निर्माण कार्य शुरु भएको र त्यसबाहेक सिरहा र सप्तरीमा कुनै आवास भवन बनाउने योजना नआएको प्रमुख झाको कथन छ । 

बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रति घर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए ।

अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६–०६७ देखि सिरहा, सप्तरीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ । आव ०७३÷०७४ सम्म जनता आवास कार्यक्रम सङ्घीय सरकारले सञ्चालन गर्दै आएकामा आर्थिक वर्ष ०७४–०७५ बाट प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप