शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारका सपना : ओस्कर उठाउनेदेखि जीवनको अन्तिम क्षण कलाकारितामा रमाउनेसम्म

शनिबार, ०९ साउन २०७८, ११ : ४१
शनिबार, ०९ साउन २०७८


सपना भन्नेबित्तिकै जीवनको लक्ष्य, उद्देश्य र आकाङ्क्षालाई बुझाउँछ । हरेक मानिसका जीवनमा केही न केही सपना हुन्छ । फरक यति मात्र हो मानिसको उमेर, क्षमता र कामअनुसार सपना फरक हुन्छन् । नेपाली चलचित्र क्षेत्रमा थुप्रै सेलिब्रेटी छन् । ती सबैका आआफ्नै सपना छन् । यो क्षेत्रका नवप्रवेशीका सपना स्थापित, स्थापितको सपना स्टार र स्टारका सपना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैतिर चिनिने, नाम र दाम लगायत हासिल गर्ने रहेको पाउन सकिन्छ ।
 

कलाकार सबैतिर चिनिने हुनाले उनीहरुको सपनाले विशेष अर्थ राख्छ । किनभने सर्वसाधारणको चासो उनीहरुको विभिन्न क्रियाकलापसँगै सपनामा पनि रहने गर्छ । नेपाली चलचित्रलाई अस्करमा पु¥याउने, राम्रो चलचित्र बनाउने, जीवनको अन्तिम क्षणसम्म पनि कलाकारितामै बिताउने यी र यस्तै सपना नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकारका छन् । उनीहरुका सपना आफ्नै शब्दमा ।

तुलसी घिमिरे (फिल्म निर्देशक):
सबै निर्देशकको एउटै सपना हुन्छ– ओस्कार उठाउने । मेरो पनि चलचित्रमार्फत नेपाललाई ओस्कार दिलाउने सपना छ । त्यो भएन भने भारतको चर्चित राष्ट्रिय पुरस्कार जित्ने छ । नेपालका प्रायः र महत्त्वपूर्ण सम्मान मैलै पाइसकेँ । कहिल्यै नमर्ने, सधैँ सबैले सम्झने एउटा फिल्म बनाउने अर्काे सपना पनि हो मेरो । अहिले मसँग केही फिल्मका यस्ता विषय पनि छन् जसले ओस्कार दिलाउन सक्छन् ।

रवीन्द्र खड्का (अभिनेता):
व्यक्तिगत सपना केही छैन । कलाकारहरुका लागि एउटा भवन बनाउनुछ । म कलाकार सङ्घमा आएको पनि त्यसैका लागि हो । भवन निर्माण कार्य सुरु भइसकेको छ । यसका लागि धेरैको साथ र सपोर्ट रहँदै आएको छ । अब भवन बन्छ । घरायसी ऋण, समस्या त धेरै छन् । त्यो सबै हटाएर परिवारलाई एउटा घर, गाडी जोड्न पाए हुन्थ्यो भन्ने पनि छ । कलाकारिताबाट त्यो काहाँ सम्भव होला र ?

नवल खड्का (अभिनेता):
आर्थिक, सामाजिक लगायत हरेक दृष्टिबाट यो देश सम्पन्न भएको, नागरिक समृद्ध भएको र विदेशी कामको सिलसिलमा नेपाल आएको हेर्ने र चलचित्रका माध्यबाट देश र समाज रूपान्तर गर्ने सपना हो ।

सुरवीर पण्डित (कलाकार):
राम्रो कलाकारको नाम लिँदा मेरो नाम आओस् भन्ने छ । कलाकारिता अगाडि नेपाल सरकारको सेक्सन अफिसर बन्ने सपना थियो । ‘सिन्दूर’ भन्ने नेपाली फिल्म हेरेपछि मलाई कलाकारिताको भूत चड्यो । राम्रो कलाकारका रूपमा चिनिने मेरो सपना हो ।

रमा थपलिया (कलाकार):
जतिबेला सपना थियो, त्यो पूरा भइसकेको छ । जीवनमा गर्नुपर्ने सबै गरिसकेकी छु । अहिले त्यस्तो केही सपना छैन । धेरै देश घुम्ने, सुख र शान्तिले जीवन बिताउने यही हो ।

शिवहरि पौडेल (कलाकार):
भगवानले सबै कुरा पूरा गरिदिएका छन् । भगवानसँग प्रार्थना गर्दा म कहिल्यै पनि आफ्ना लागि केही माग्दिनँ । संसारमा जति पनि मानिस, प्राणी छन् ती सबैको भलो होस् भन्ने गर्छु । आफ्ना लागि मात्र मागेर भगवानले साँच्चिकै दिए भने, अरूले केही पाएनन् भने मैकहाँ उनीहरु आउने हुन् । त्यसैले सबैको राम्रो होस् भनेर माग्छु ।

गौरी मल्ल (अभिनेत्री): 
सपना भन्ने कि एउटा सोच । एउटा टक सो लिएर आउने सोच पनि छ । मैले जीवन नै कलाकारितामा बिताएँ । अब एउटा राम्रो फिल्म निर्देशन इच्छा छ ।

सन्तोष पन्त (कलाकार):
सपना धेरै छन् । राम्रो राम्रो फिल्म बनाउन पाए हुन्थ्यो भन्ने पनि छ । समाज परिवर्तनका लागि हामीले चलचित्रका माध्यमबाट धेरै गर्नुछ । उत्कृष्ट र फरक फरक अभिनय गर्ने हामी कलाकारको इच्छा सधैँ भइरहन्छ । कलाकारको यो सपना मृत्यु शय्यामा मात्र टुङ्गिन्छ हुन्छ । नत्र कहिल्यै सकिन्न । एकपछि अर्काे उत्कृष्ट भूमिकाको चाहना भइरहन्छ ।

लक्ष्मी गिरी (कलाकार):
जतिबेला सपना देख्थेँ, त्यो बेला देखेको सपना पूरा नहुँदा फ्रस्टेसन जस्तो भयो । त्यसैले अहिले सपना देख्न छोडे । मेरो विचारमा मानिस न्युटलाइज भएर बाँच्यो भने डिप्रेसनमा जाँदैन । २०५४ देखि ०५६ सम्मका ५९ फिल्म अवार्डका लागि छानिएँ । त्यसमा मेरा फिल्म पनि धेरै थिए । तर अवार्डका लागि लक्ष्मी गिरीको नाम कहिल्यै आएन ।

त्यतिबेलाको उपकार, तँ त सारै नै बिग्रिस नि बद्रीदेखि अहिलेको ‘छक्का पन्जा’ सिरिजसम्म आउँदा कुन फिल्ममा मैले गरेको भूमिका दर्शकको मनमा नबसेको होला र ? अबका दिनमा पनि निर्माता, निर्देशकले बोलाए भने कलाकारिता गर्ने हो । हैन भने राष्ट्र बैङ्कको पेन्सन खाने, बस्ने हो ।

शिव श्रेष्ठ (अभिनेता):
धेरै पहिलेदेखि कला क्षेत्रमा छु । यसमै जीवन बितिसक्यो । नयाँ र राम्रा फिल्म अभिनय गरिरहन पाऊँ जीवनको अन्तिम क्षणसम्म पनि । दर्शकको माया सधैँ पाउन सकौँ । चलचित्र क्षेत्र समृद्ध होस् । दर्शकको चाहनाअनुसारको फिल्म दिनसकौँ । यही हो मेरो सपना ।

बसुन्धरा भुसाल (कलाकार):
कलाकारितामै जीवन बित्यो । अब कति वर्ष बाँचिएला र ? पहिले यो क्षेत्रबाट जीवन धान्न मुस्किल थियो । अहिले सबैथोक गर्न सक्ने वातावरण बनिसकेको छ । हाम्रो समयमा कलाकारितामा पैसा भन्ने हँुदैन थियो । अहिलेका भाइबहिनीले राम्रो पैसा लिन्छन् । तर पुराना कलाकारको अहिले पनि पारिश्रमिक कम छ । यो क्षेत्रमा लामो समय बिताएकाका लागि पनि सम्मानजनक पारिश्रमिक भए हुन्थ्यो भन्ने छ । 

अर्काे कुरा नेपाली फिल्म विश्वका फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने हुन् भन्ने छ । चलचित्र क्षेत्रको राम्रो होस् । देशको समृद्धि भएर सबै जनताले सुख पाऊन् । राम्रो नेताको अपेक्षा गरेको छु । 

रमेश बुढाथोकी ( फिल्म निर्देशक):
सपना नभएको मानिस हँुदैन । म पहिलेदेखि नै ठूलो ठूलो सपना देख्ने मानिस पनि होइन । म जहिले पनि जीवनमा एक वर्षको सपना देख्छु । त्यो पूरा गर्न योजना बनाउँछु । सपना साकार गर्न लागिपर्छु । कुनै वर्ष यसरी देखेको सपना पूरा भएका छन् । कुनै वर्ष भएका छैनन् ।

अहिले पनि विशेषखालको, विशेष विषयवस्तुमा राम्रो चलचित्र बनाएर विश्वमा फैलिएका नेपाली समुदायमा देखाऊँ, त्यसलाई अन्तर्राष्ट्रिय पहिचान दिलाऊँ भन्ने सपना छ ।

मदनकृष्ण श्रेष्ठ (हास्य कलाकार): 
लामो समयदेखि कला क्षेत्रमा छु । अझै यो क्षेत्रमा राम्रो गर्न सकियोस् भन्ने लागेको छ । धेरै मानिसलाई मनोरञ्जन दिन सकियोस् भन्ने पहिले मनमा थियो । त्यो केही हदसम्म प्राप्त भएको छ भन्ने लाग्छ ।

अहिले अन्तर्राष्ट्रिय रूपमा अझ व्यापक हुन पाए पनि हुन्थ्यो भन्ने सपना आउँछ । केही हदसम्म त्यो सपना पनि पूरा भएको छ । धेरै देशमा  गइयो । आफ्नो भाषाले गरेर केही सीमित हुनु पनि प¥यो । जति पाएँ त्यसमा सन्तुष्टि नै छ ।

सरोज खनाल (अभिनेता):
सपना केही छन् । अहिलेसम्म आफूलाई चित्त बुझ्दो, गजबको अभिनय गर्न पाएँ भनेर गर्व गर्ने खालको अभिनय अवसर पाएको छैन । यस्तो च्यालेन्जिङ रोल गर्ने सपना छ ।

कृष्ण मल्ल (अभिनेता):
ठूलाठूला सपना देख्दिनँ । मैले देखेका भनौँ वा गर्नुपर्ने भनौँ, केही सपना छन् । तीमध्ये एउटा राम्रो चलचित्र बनाउने हो । त्यो चलचित्र कमर्सियल नहुन पनि सक्छन्, हुन पनि सक्छन् । दोस्रो आफ्नो एउटा टेलिभिजन स्टेसन राखौँला भन्ने सपना पहिलेदेखि देखेको थिएँ । खै त्यो कहिले पूरा हुन्छ ।

मोहन निरौला (कलाकार): 
आफ्नो जीवनमा वा समाजमा भोलि हुने कुरो कहिलेकाहीँ म अघिल्लो दिन सपनामा देख्छु । तर कसैलाई बताउँदिनँ । म महत्त्वकाङ्क्षा नभएको मानिस हुँ । 

मेरो त्यस्तो सपना केही छैन । कलाकारिता क्षेत्रमा म ०३६ सालदेखि काम गरिरहेको छु । तर अहिलेसम्म पनि म पुख्र्यौली सम्पत्तिले चलेको छु । कलाकारितामा मेरो आम्दानी नभएको होइन, छ तर त्यो साथीभाइ र आफूलाई खर्च गर्दैमा सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप