बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा सवारी दुर्घटना बढ्यो, मृत्युदर घट्यो

शनिबार, ०९ साउन २०७८, १० : ३८
शनिबार, ०९ साउन २०७८

मकवानपुर । बागमती प्रदेशमा विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको छ । 

कोरोना संक्रमणको जोखिमका कारण केही समय यातायात सेवा बन्द हुँदा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा सवारी दुर्घटना बढेको हो ।

बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ५ सय १२ वटा सवारी दुर्घटनाहरु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बागमती प्रदेशमा ७ सय ९३ वटा सवारी दुर्घटनाहरु भएको थियो । 

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा ९१ प्रतिशतले वुद्धि भएको हो । 

प्रदेशको काठमाडौं, ललितपुर र भक्तपुर बाहेका १० जिल्लाका गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा २ हजार २ सय २० वटा सवारी साधन परेका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना १ हजार २८ वटा, ५ सय ८० वटा ठुला सवारी र ६ सय १२ वटा अन्य सवारी दुर्घटना भएको छ ।

साँघुरो र अव्यवस्थित कमजोर सडक र सवारी साधनको अत्याधिक चाप, तिब्र गति लगायत विभिन्न कारणबाट बागमती प्रदेशमा सवारी दुर्घटनाका घटना दैनिक रुपमा बढ्दै गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशको काठमाडौं उपत्यका बाहेक १० जिल्लामा मध्ये चितवनमा सबैभन्दा बढी सवारी दुर्घटनाहरु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

चितवनमा गत आर्थिक वर्ष २०७७/०७८ मा ४ सय ३७ वटा सवारी दुर्घटनाहरु भएको छ । त्यस्तै मकवानपुरमा २ सय ५७ वटा, धादिङमा २ सय ५५ वटा, सिन्धुलीमा २ सय २१ वटा, काभ्रेमा १ सय ३४ वटा, दोलखामा ४० वटा, नुवाकोटमा ७० वटा, रामेछापमा ३५ वटा, रसुवामा ९ वटा र सिन्धुपाल्चोकमा ३४ वटा सवारी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा चितवनमा २ सय ६१ वटा, मकवानपुरमा १ सय २० वटा, धादिङमा १ सय २५ वटा, काभ्रेमा १ सय २४, सिन्धुपाल्चोकमा २३, नुवाकोटमा १९ वटा, रसुवामा ६ वटा, दोलखामा २९ वटा, रामेछापमा २० वटा र सिन्धुलीमा ६६ वटा सवारी दुर्घटनाहरु भएको उनले बताए ।

दुर्घटना बढ्यो मृत्युदर घट्यो
बागमती प्रदेशमा विगतका आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना बढे पनि मुत्युदर भने कम रहेको छ । गत आर्थिक ​ वर्षमा प्रदेशको उपत्यका बाहेकका अन्य १० जिल्लामा भएको कुल १ हजार ५ सय १२ वटा सवारी दुर्घटनामा परी ३ सय ४९ जनाको मृत्यु भएको थियो । 

बागमती प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भएको ७ सय ९३ सवारी दुर्घटनामा परी ४ सय ७ को मृत्यु भएको थियो । 

तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा १४ प्रतिशत कमि आएको हो । संख्यात्मक रुपमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा ५८ जनाले घटेको हो ।

गत आर्थिक बर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा परि प्रदेशको १० जिल्ला मध्ये चितवनमा सबैभन्दा बढी १ सय २८ जनाको मृत्यु भएको छ । 

त्यस्तै सवारी दुर्घटनामा परी मकवानपुरमा ६० जना, धादिङमा ५७ जना, सिन्धुलीमा ३७ जना र काभ्रेमा २८ जना दोलखामा १२ जना, नुवाकोटमा १० जना, रामेछापमा ९ जना, रसुवामा ५ जना र सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने सवारी दुर्घटनामा परी चितवनमा १ सय ७ जना, मकवानपुरमा ६९ जना, धादिङमा ५३ जना, काभ्रेमा ५६ जना, सिन्धुपाल्चोकमा ५० जना, नुवाकोटमा ११ जना, रसुवामा ३ जना, दोलखा र रामेछापमा १२/१२ जना र सिन्धुलीमा ३४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मुद्दा दर्तामा पनि घट्यो
अघिल्लो आर्थिक वर्षको तुलनामा बागमती प्रदेशमा सवारी दुर्घटनाको मुद्दा दर्तामा पनि कमि आएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशको काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका अन्य १० जिल्लामा सवारी दुर्घटनाको मुद्दा दर्तामा ११ प्रतिशतले गिरावट आएको छ । 

 प्रदेशको १० जिल्लामा अघिल्लो आर्थिक वर्षमा ३ सय ३३ वटा सवारी दुर्घटनाको मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा उक्त तथ्याङ्कमा कमि आएर २ सय ९५ पुगेको छ ।

गत आर्थिक वर्षमा चितवनमा १ सय ७ वटा, मकवानपुरमा ५० वटा, काभ्रे र धादिङमा ३७/३७ वटा, सिन्धुलीमा ३१ वटा, नुवाकोटमा १२ वटा, दोलखामा ८ वटा, रामेछापमा ७ वटा, रसुवा ४ वटा र सिन्धुपाल्चोकमा ३ वटा सवारी दुर्घटनाका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार, अघिल्लो आर्थिक बर्षमा भने चितवनमा ९८, मकवानपुरमा ५७ वटा, काभ्रेमा ६१ वटा, धादिङमा ३९ जना, सिन्धुपाल्चोकमा ९ वटा, सिन्धुलीमा ३४ जना, दोलखामा १२ वटा, रामेछापमा ११ वटा, नुवाकोटमा १० वटा र रसुवामा १ वटा सवारी दुर्घटना सम्बन्धी मुद्दा दर्ता भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप