प्रेरणा

अल्बर्ट आइन्स्टाइनको जीवनका रोचक प्रसङ्ग

राष्ट्रपति पदसमेत अस्वीकार, सरलता र शून्य अहमता

person explore access_timeसाउन ९, २०७८ chat_bubble_outline0

 

को हुन् त अल्बर्ट आइन्स्टाइन ?

बीसौँ शताब्दीका संसारका सबैभन्दा चर्चित व्यक्तिहरूको नाम लिने हो भने त्यो सूचीमा अल्बर्ट आइन्स्टाइनको नाम पर्छ । अझ विज्ञानको कुरा गर्ने हो भने वा सबैभन्दा महान् वैज्ञानिकको नाम लिने हो भने त यिनको नाम नै सबैभन्दा पहिले आउने गर्छ । उनलाई धेरैले सापेक्षताको सिद्धान्तको प्रतिपादकका रूपमा मात्र चिन्छन् तर उनका योगदानहरू भौतिकशास्त्रमा मात्र नभई अनेकन विधामा रहेका छन् ।

विज्ञानको क्षेत्रमा यदि अल्बर्ट आइन्स्टाइनबाहेक अरू कसैको नाम चर्चित छ भने ती ग्यालिलियो ग्यालिली, फ्रान्सिस बेकन र न्युटन मात्र हुन सक्छन् । त्यसैले त अल्बर्ट आइन्स्टाइनलाई बीसौँ शताब्दीका महान् वैज्ञानिक मानिन्छ । हामीलाई उनको व्यक्तिगत, सामाजिक र वैचारिक जीवनबारे कम नै थाहा छ । संसारका महान् भौतिकवादी उनी पुँजीवादी विसङ्गतिको आलोचक हुन् । उनले समाजवाद नै उत्कृष्ट समाज हो भनी व्याख्या गरेका छन् । विश्व शान्ति र निःशस्त्रीकरणको समेत अभियन्ताका रूपमा उनी परिचित छन् । त्यसका साथै उनको व्यक्तिगत जीवन पनि अनेकन उतारचढाव हुँदै अगाडि बढेको छ । आफ्नो मनमौजीपन र बिर्सने बानीले उनलाई दुःख दिए पनि ती घटना निकै रोचक लाग्दा छन् । मार्क्सवादीहरू फ्रान्सिस बेकन र अल्बर्ट आइन्स्टाइनलाई आफ्ना समाजवादी नेताहरूको सूचीमा राख्न रुचाउँछन् ।

रेफ्रिजेरेटर, फोटोइलेक्ट्रिक सेल्स, लेजर, न्युक्एिर पावर, फाइवर अप्टिक्स, सेमिकन्डक्टर आदिको आविष्कार गरेका आइन्स्टाइनको दार्शनिक चिन्तन निकै व्यापक र गहन थियो । यस्ता वैज्ञानिक आविष्कार बाहेकका क्षेत्रमा पनि उनी परिचित छन् । निःशस्त्रीकरणको अभियानमा सक्रियता, अमेरिकी हस्तक्षेपको विरोध र विश्वशान्तिको कामनाका कारण मात्र होइन अमेरिकाको गुप्तचर निकायमा उनको विरुद्धमा १४०० भन्दा बढी पृष्ठका अनेकन आरोपका फाइलहरू तयार गरिएका कारण उनको विचारधारा स्पष्ट हुन्छ । उनको सोभियत मोडलप्रति सकारात्मक धारणा थियो । त्यस्तै पुँजीवादभन्दा समाजवाद उत्कृष्ट समाज हो भन्ने विचार पनि उनको थियो ।

हामी यहाँ उनका योगदानहरू तथा उनको जीवनका विविध पक्षको सङ्क्षिप्तमा चर्चा गर्ने छौँ ।

जन्म र बाल्यकाल

आइन्स्टाइनको जन्म जर्मनीको उल्म भन्ने सहरमा मार्च १४, सन् १८७९ मा भएको थियो । उनी कार्ल मार्क्सको मृत्यु हुनुभन्दा चार वर्षअघि जन्मिएका थिए । त्यो दिन कार्ल मार्क्सको मृत्युको दिन पनि बन्यो । अझ महत्त्वपूर्ण के भने जसरी ग्यालिलियो ग्यालिलीको मृत्यु भएकै वर्ष सर आइज्याक न्युटनको पनि जन्म भएको थियो त्यसै गरी जेम्स म्याक्सवेलको मृत्यु भएको वर्ष अल्बर्ट आइन्स्टाइनको जन्म भएको थियो । जीवनजगत्को खोज अनुसन्धानलाई निरन्तरता दिन प्रकृतिले पनि यस्ता सपुतलाई जन्ममृत्युको तिथिमितिसँग मिलाइदिनु अनौठो संयोग मानिन्छ ।

आइन्स्टाइन जन्मेको स्थान जर्मनीको प्रसिद्ध सहर म्युनिखबाट पचासी माइल पश्चिममा पर्छ । उनका बाबुको नाम हरमन आइन्स्टाइन र आमाको नाम पाउलिन आइन्स्टाइन थियो । बाबु सामान्य मजदुर र व्यवसायी थिए । आमा गृहणी थिइन् । आइन्स्टाइन तीन वर्षको हुँदासम्म पनि बोल्न सकेका थिएनन् । जन्मँदा उनको टाउको सामान्यभन्दा केही ठूलो थियो जुन पछि शारीरिक विकाससँगै सामान्य देखिन थाल्यो ।

स्कुले जीवन

सन् १८८० मा म्युनिख बसाइँसराइँ गरेपछि आइन्स्टाइनका बुबा र काकाले त्यहाँ विद्युत् सामग्री उत्पादन गर्न थाले । उनलाई आमा–बुबाले म्युनिखको एउटा प्राथमिक क्याथोलिक स्कुलमा भर्ना गरिदिएका थिए । उनले ३ वर्ष उक्त स्कुलमा पढे । त्यसपछि अहिले अल्बर्ट आइन्स्टाइन जिम्नासियम नामकरण गरिएको स्कुलमा माध्यमिक शिक्षा प्राप्त गरे । सन् १८९४ मा बुबाको विद्युत् सामग्री उत्पादन कम्पनी घाटामा जाँदा कम्पनी बेची उनको परिवार इटाली बसाइँ सर्न बाध्य भयो ।

स्कुलमा आइन्स्टाइनको आनीबानी र स्वकभाव अरू बच्चाहरूको भन्दा फरक थियो । उनी कम बोल्ने र एकान्तप्रेमी थिए । उनी यहुदी परिवारमा जन्मिएका थिए । यहुदी भएको, टाउको ठूलो भएको र अन्य बालकभन्दा फरक प्रकृतिको भएका कारण कक्षाका अरू साथीहरू उनलाई गिज्याउने, होच्याउने र खिसिट्युरी गर्ने गर्थे । शिक्षकले सोधेका प्रश्नहरूको पनि उनी हत्तपत्त जवाफ दिँदैनथे । त्यसैले शिक्षकहरूले उनलाई मन्दबुद्धिका भनी गाली गर्थे, हेप्थे र कठोर दण्ड पनि दिन्थे ।

आइन्स्टाइका बाबु उनलाई इलेक्ट्रिकल इन्जिनियरिङ विषय पढाउन चाहन्थे । तर मुख्य गरी उनलाई कक्षामा पढाइने घोकन्ते र रटन्ते तरिका पटक्कै मन पर्दैनथ्यो । उनी बच्चाहरूलाई स्वतन्त्रतापूर्वक सोच्न र उनीहरूको इच्छाअनुसार पढ्न दिनुपर्ने कुरा सोच्दथे । स्कुलको जाँचमा भने आइन्स्टाइन राम्रो नम्बर ल्याएर पास हुन्थे । परिणामस्वरूप बिस्तारै उनी स्कुलकै राम्रो क्षमता भएको छात्रको रूपमा चिनिन थाले । अरू विषयमा भन्दा उनलाई गणितमा बढी रुचि थियो । गणितमा पनि ज्यामिति उनलाई बढी मन पथ्र्यो । उनले १२ वर्षको उमेरमा नै युक्लिडको ज्यामिति, १५ वर्षको उमेरमा ल्याटिन भाषा र १६ वर्षको उमेरमा इन्टिग्रल क्याल्कुलसको गणित पनि सिकिसकेका थिए ।

१३ वर्षको उमेरमा उनले दार्शनिक कान्टको दर्शन पढेका थिए र उनी निकै प्रभावित थिए । घोकन्ते शिक्षाको साटो उनले प्राविधिक शिक्षा पढ्न चाहन्थे । त्यसैले उनले १८९५ मा जुरिचको स्विस पोलिटेक्निक (प्राविधिक) स्कुलमा प्रवेश परीक्षा दिए तर सफल भएनन् । उनको भौतिकशास्त्र र गणितको दक्षताबाट प्रभावित भई त्यहाँका हेडमास्टरले (जोस्ट विन्टेलर जो आइन्स्टाइनको परिवारसँग लामो समय नजिक रहे) उनलाई अर्गोभिएन क्यान्टोनल स्कुलमा भर्ना गरे । त्यहीँबाट उनले माध्यमिक शिक्षा पूरा गरे । १८९६ मा उनले गाणित र भौतिक शास्त्रको अध्ययन अघि बढाए ।

आइन्स्टाइनलाई सङ्गीत धेरै मन पथ्र्यो । ६ वर्षको उमेर हुँदै उनले सङ्गीतका ज्ञाता आफ्नी आमा पाउलिनसँग भ्वाइलिन बजाउन सिकिसकेका थिए । उनी विभिन्न नयाँ नयाँ कुराहरू सोच्न मन पराउँथे । अरू बच्चाहरूले खेलकुदमा बितउने समय पनि उनी पढेर वा सोचविचार गरेर बिताउन चाहन्थे । उनी सधैँ विभिन्न विषय र वस्तुहरूका बारेमा सोचिरहन्थे । सानो छँदा उनी सधैँ वस्तुहरूले कसरी काम गर्छ भन्ने सोच्ने गर्थे । उनले सानैदेखि बुबा हरमन र काका ज्याकोबले बनाएका विद्युतीय सामग्रीहरूमा रुचि राख्थे । विद्युतीय सामग्री तथा तिनले काम गरेको देखेर उनी अचम्म मान्थे ।

प्रारम्भिक प्रेरणा

एक पटक आइन्स्टाइन बिरामी भए । बुबाले उनलाई खेलाउनका लागि दिशा देखाउने कम्पास दिए । उनले कम्पासको टुप्पोले सधैँ उत्तर दिशातिर मात्र देखाएको पाउँदा आइन्स्टाइन छक्क परे । उनका बुबाले चुम्बकको शक्तिले कम्पासको सियोलाई उत्तरतिर तान्ने गरेको जानकारी दिए । यही प्रारम्भिक घटनाले उनमा विज्ञानको भोक जगायो ।

आइन्स्टाइनका काका ज्याकोब पनि राम्रा र विज्ञानका कुरामा दख्खल भएका मान्छे थिए । उनी आइन्स्टाइनले सोधेका सबै प्रश्नहरूको झर्को नमानी उत्तर दिन्थे । उनको परिवारसँगै बस्ने कलेजका विद्यार्थी म्याक्स टालमेले पनि आइन्स्टाइनका जिज्ञासाहरू हल गरिदिन्थे । उनलाई आइन्स्टाइनको जिज्ञासु स्वभाव र नयाँ नयाँ कुरा जान्न खोज्ने बानी अति मनपथ्र्यो । त्यसैले उनी आइन्स्टाइनलाई इम्यानुअल कान्ट, चाल्र्स डार्बिन जस्ता त्यसबेलाका चर्चित वैज्ञानिकका किताबहरू किनेर, खोजेर ल्याइदिन्थे । टालमेले नै आइन्स्टाइनलाई गणित र भौतिकशास्त्रका किताबहरू पनि ल्याइदिन्थे । उनले नै आइन्स्टाइनलाई ज्यामितिगणितका जन्मदाता युक्लिडको किताब पनि जुटाइदिएका थिए ।

वास्तवमा सानोमा कम्पासले उत्तर देखाउने उनका बुबाले सिकाएकोे कुरा उनका लागि एउटा कहाबत जस्तै थियो । त्यसैले त्यस कुराले उनको ध्यान विज्ञानतिर तान्यो । उनमा जागेको विज्ञानको यो आकर्षण जीवनभर रहिरह्यो । त्यसैले उनलाई विश्व ब्रह्माण्डका रहस्यहरू खोतल्ने दिशातिर डो¥यायो । यसबाटै उनलाई ब्रह्माण्डका गोप्य नियमहरू थाहा पाउन पनि उत्प्रेरित गरायो । उनी ब्रह्माण्डको रहस्य खोतल्न र थाहा पाउन चाहन्थे । उनले देखावटी रूपमा हल्का ढङ्गले किताबहरू पढेनन् । उनी किताबमा डुबेर पढे । फलतः उनले विज्ञानको क्षेत्रमा क्रान्ति नै साबित भएको सापेक्षतावादको सिद्धान्त पत्ता लगाउन सफल भए ।

पढाइ सिध्याएपछि उनी भौतिकशास्त्रका प्राध्यापक हुन चाहन्थे तर त्यस विषयका प्राध्यापकको सिफारिसको अभावमा उनको यो इच्छा पूरा हुन सकेन । उनले पेटेन्ट कार्यालयमा पेटेन्ट अफिसरका रूपमा काम पाएका थिए । त्यहाँ काम गर्दा गर्दै उनले १९०५ मा पिएचडीको शोधपत्र जुरिच विश्वविद्यालयमा बुझाए । उनको शोधपत्रको विषय सापेक्षतावादको सिद्वान्तबारे थियो । त्यसमा नै उनले शक्तिको प्रख्यात सूत्र e=mc2 ​ को व्याख्या गरेका थिए । त्यसै शोधपत्रबाट उनले पिएच डीको उपाधि पनि प्राप्त गरे ।

प्रेम र विवाह

आइन्स्टाइनको प्रेम र वैवाहिक जीवन उतारचढावले भरिएको छ । उनी आफू प्राविधिक कलेजमा अध्ययनरत हुँदाखेरि नै आफूभन्दा करिब ३ वर्ष जेठी मलिभा मारिक नाम गरेकी केटीसँग प्रेम बन्धनमा बाँधिन पुगेका थिए । मारिक भौतिकशास्त्र कक्षाको एक मात्र छात्रा थिइन् । सन् १९०३ मा आइन्स्टाइन आफ्नो प्रेमिका मारिकसँग वैवाहिक बन्धनमा बाँधिन पुगे । विवाहपश्चात सन् १९०४ मा प्रथम पुत्र अहवर्ट र १९०६ मा दोस्रो पुत्र एडवार्डको जन्म भयो । छोराहरूको जन्मबाट आइन्स्टाइन अत्यन्तै खुशी थिए । उनीहरूबाट एक छोरीको पनि जन्म भएको थियो । उनको यो खुसीमा कालो बादल मडारिन थाल्यो जब उनी आफ्नी श्रीमतीसँग विछोडिनुप¥यो । आइन्स्टाइन अधिक समय आफ्नो काममा नै व्यस्त हुने भएकाले उनलाई श्रीमतीले स्वीकार गरिरहन सकिनन् र सन् १९०९ मा यी जोडीबीचको सम्बन्धको अन्त्य भयो अर्थात् आइन्स्टाइन र मारिकले सम्बन्ध विच्छेद गरे । त्यसपछि आइन्स्टाइनले आफ्नै मामाकी छोरी एलिनासँग दोस्रो विवाह गरेका थिए । भनिन्छ उनकी प्रथम श्रीमतीसँग विवाहअघिको एक सन्तान पनि थियो । तर त्यसबारे कसैलाई पनि केही सूचना छैन । कतिपयले उक्त सन्तानको प्राकृतिक मृत्युको कुरा गर्छन् भने कतिपयले केही अत्तोपत्तो नभएको बताउँछन् । उनी स्त्रीका मामलामा कमजोर थिए । उनले चिठीमार्फत उनको कम्तीमा ६ अन्य महिलासँग सम्बन्ध भएको खुल्छ ।

शान्तिप्रियता

आइन्स्टाइन शान्तिप्रिय थिए । उनी अन्याय, अत्याचार र युद्धका विरोधी थिए । त्यसैले उनले सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएपछि सन् १९१५ मा लिग अफ नेसनको माग गर्दै गरिएको युरोपको घोषणा (Manifesto of Europe)​ मा हस्ताक्षर गरे र लिग अफ युरोपका लागि अपिल गरे । न्यायप्रेमी र यहुदी भएकै कारण सन् १९३३ मा जर्मनीको सत्तामा आएको हिटलरको नाजी सत्ताले पनि उनलाई देखिसहेन । उनको टाउको काटेर ल्याउनेलाई २० हजार जर्मन मार्कको घोषणा गरियो । त्यसपछि अमेरिकी नागरिक बनेका आइन्स्टाइनले सन् १९४५ को अगस्त ६ र ९ मा जापानमाथि आणबिक हमला गरेर लाखौँ निर्दोषको हत्या गर्ने अमेरिकाको कायर कार्यको पनि भर्त्सना गरे । युद्धको भयानक नरसंहारबाट आहत उनी दोस्रो विश्वयुद्धपछि निःशस्त्रीकरण र फेरि युद्ध दोहोरिन नदिन विश्व सरकारको पक्षमा जुटेर लागे । अरूमाथि हस्तक्षेप र अन्याय गर्ने अमेरिकी नीतिको आलोचना गर्दा उनलाई अमेरिकी सरकारले पनि कम्युनिस्टको नाममा दुःख दिएको थियो ।

जन्मले यहुदी भए पनि आइन्स्टाइन सबै धर्मलाई उत्तिकै सम्मान गर्थे । उनी विद्वान् र विनम्र थिए । त्यसैले उनी सबैको कदर गर्थे । राजनीतिक विचारका हिसाबले उनी समाजवादी थिए । उनी गान्धीको विचार र जीवनशैलीबाट विशेष प्रभावित थिए ।

सरलता र शून्य अहमता

बच्चाहरूप्रति आइन्स्टाइनलाई विशेष स्नेह थियो । त्यसैले बच्चाहरूले सोधिपठाएका प्रश्नहरूको सकेसम्म उनी आफैँ उत्तर दिने गर्थे । एकपटक एकजना बालिकाले उनलाई गणित पढ्न आफूलाई गाह्रो भएको बारे लेखेर पठाइन् । आइन्स्टाइनले ती बालिकालाई लेखेर पढाएको जवाफको एउटा अंश यस्तो थियो– गणित पढ्न गाह्रो भयो भनेर नआत्तिउ । म तिमीलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो गणित तिम्रोभन्दा पनि कमजोर छ । सन् १९५५ मा एउटा पूर्वप्राथमिक स्कुलका बच्चाहरूले आइन्स्टाइनलाई जन्मदिनको शुभकामना दिँदै एकजोर कफ लिन्क र एउटा टाइपिन पठाए । त्यसको विनम्र जवाफ पनि आइन्स्टाइनले पठाएका थिए । उनले त्यो जवाफ आफ्नो मृत्यु हुनुभन्दा केही समयपूर्व ९ मार्च १९५५ का दिन मात्र लेखेका थिए ।

राष्ट्रपति पदसमेत अस्वीकार

त्यस समयमा इजरायलको दोस्रो राष्ट्रपति बन्नका लागि आइन्स्टाइनलाई आएको प्रस्तावलाई पनि उनले स्वीकार गरेनन् ।

जीवनका रोचक प्रसङ्ग

आइन्स्टाइनको जीवनी धेरै रोचक प्रसङ्गहरूले भरिपूर्ण छ । उनले कहिले पनि मोजा लगाएनन् । उनी जुत्ता पनि पालिस गर्दैनथे । आफ्ना लुगा पनि मिलाएर चटक्क पारेर लगाउँदैनथे । उनी कपाल पनि कोर्दैनथे । तर उनी गज्जबले भायलिन र पियानो बजाउँथे । वैज्ञानिक नबनेको भए सायद उनी सङ्गीतका क्षेत्रमा रमाउँथे होलान् ।

आइन्स्टाइन निकै भुलक्कड थिए । उनी साल, मिति, स्थान र नाम सम्झँदैनथे । धेरैपटक उनने आफ्नो बस्ने ठेगाना र जाने गन्तव्य बिर्सिएका थिए । उनी धूमपान गर्थे । उनले गाडी चलाउन इन्कार गरे । बच्चाबच्चीमा अलि ढिला बोल्ने लक्षणलाई आइन्स्टाइन सिन्ड्रोम भनिन्छ । यसरी उनको जीवन रोचक थियो भन्न सकिन्छ ।

कष्टपूर्ण जीवनभोगाइ

बालककालमा स्कुलदेखि क्याम्पससम्मको उनको अध्ययन त्यति सुखद थिएन । उनको पारिवारिक जीवन पनि सुखी हुन सकेन । उनी बसाइँ सरी पहिले १९०१ मा स्विजरल्यान्डको नागरिकता प्राप्त गरेका थिए । पछि संयुक्त राज्य अमेरिकाको नागरिक बने । यस्तो बसाइको अस्थिरताले जीवनलाई कष्टकर बनाइदियो ।

आइन्स्टाइनको इच्छाविपरीत मृत्युपछि उनको मस्तिष्क प्रिन्स्टनका प्याथोलोजिस्ट थोमस हार्भेले निकालेर राखेका थिए । पछि उनका छोराको अनुमतिले त्यसलाई टुक्रा टुक्रा पारी अनुसान्धानका लागि पठाइयो । पछि क्यानडाको विश्वविद्यालयले मस्तिष्कको अनुसन्धान गरी औसतभन्दा बढी प्रतिशत दिमाग प्रयोग गर्ने गरेको र गणितीय एवम् Spatial​ क्षमता बढी सक्रिय रहेको तर्क प्रस्तुत ग¥यो । त्यसमा उनको पेरिएटल लोब औसतभन्दा १५ प्रतिशत ठूलो भएको देखाइएको छ ।

‘सापेक्षताको सिद्धान्त अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको आधुनिक भौतिकशास्त्रको महत्त्वपूर्ण सिद्धान्त हो, जसका दुई अंश छन् । ती विशेष सापेक्षता र सामान्य सापेक्षता हुन् । सामान्य सापेक्षता मुख्यतः गुरुत्व हो जुन ठूला पिण्डहरूबीच रहन्छ । विशिष्ट सापेक्षताले पदार्थको समय र अन्तरिक्षको प्रकृतिको व्याख्या गर्दछ । अझ सङ्क्षेपमा वस्तु प्रकाशको गतिमा यात्रा गर्दा यसको पिण्ड अनन्त हुन्छ तर यो प्रकाशको गतिभन्दा छिटो यात्रा गर्न सक्दैन । सङ्क्षेपमा E=MC2  भनेको ऊर्जा बराबर पिण्ड र प्रकाशको गतिको वर्ग हुन्छ तथा पिण्ड र ऊर्जा अदलबदल गर्न सकिन्छ ।

प्रतिपादन, प्रसिद्धि र योगदानहरु

आइन्स्टाइन चिन्तनशील थिए । प्रारम्भदेखि नै उनी सापेक्षतावादको सिद्धान्त खोजमा क्रियाशील थिए । त्यतिबेला क्वान्टम सिद्धान्तको विकास हुँदै थियो । यसमा प्लाङ्कको योगदान रहेको थियो । सापेक्षतावादको सिद्धान्त खोज्ने क्रममा आइन्स्टाइनले प्रकाशको गति कति हुन्छ भन्ने कुरा पत्ता लगाएका हुन् । उनका अनुसार ब्रह्माण्डमा प्रकाशभन्दा चाँडो कुनै पनि वस्तु दौडन सक्दैन । आइन्स्टाइनले २६ वर्षको उमेरमा सापेक्षतावादको सिद्धान्त विषयक शोधपत्र प्रकाशित गर्न सफल भए । हालको प्रख्यात सूत्र (E=MC²)​ पनि त्यसै सिद्धान्तमा पर्दछ । सैद्धान्तिक रूपमा पिण्डलाई शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुरालाई उनले यसै सूत्रबाट प्रमाणित गरेका थिए । उनको सापेक्षतावादको प्रतिपादनले विश्व्यापी प्रशंसा पाउन पुग्यो र उनी विश्वचर्चित बन्न पुगे ।

सुरुमा आइन्स्टाइनको सिद्धान्तप्रति धेरै वैज्ञानिकले वास्ता गरेनन् । तर म्याक्स प्लाङ्क ती व्यक्ति थिए जसले उनको कार्यलाई चिने । दुवैको भेटपछि बल्ल उनी चर्चामा आए । आफ्नो शोधपत्र अन्नालेन डेर फिजिक (Annalen Der Physik) ​ पत्रिकामा छपाएपछि उनले संसारभरि तहल्का मच्चाइदिए । संसारका धेरै वैज्ञानिकहरूले उनको त्यो शोधपत्र पढे र प्रशंसा गर्न थाले ।

एक वर्षपछि अर्थात् १९०६ मा उनले क्वान्टम यान्त्रिकी (Quantum Mechanics) को विषयमा अर्को शोधपत्र पनि प्रकाशित गरे । त्यसले पनि वैज्ञानिक जगत्मा हलचल ल्यायो । त्यसपछि आइन्स्टाइनको फिजिक्सको प्रोफेसर बन्ने सपना पूरा भयो । सन् १९०९ मा जुरिच विश्वविद्यालयले उनलाई सहायक प्रोफेसरका रूपमा नियुक्त ग¥यो । पछि सन् १९११ मा उनी चेकोस्ला–भाकियाको प्राग विश्वविद्यालयमा पढाउन गए । प्रागमा उनले सूर्यग्रहणको बेला प्रकाश बाङ्गिएको दृश्य देख्न सकिने सिद्धान्तको प्रतिपादन गरे । सन् १९१२ मा उनी पुनः जुरिच फर्के । सन् १९१४ मा उनी बर्लिनको विज्ञान एकेडेमीमा प्रोफेसर बने । त्यहाँ उनले एकेडेमीका अध्यक्ष तथा प्रसिद्ध वैज्ञानिक म्याक्स प्लाङ्कलगायत थुप्रै वैज्ञानिकहरूको सहयोगी वातावरण पाए ।

आइन्स्टाइन आफ्नो जीवनभरि वैज्ञानिक खोज अनुसन्धानमा लागिरहे । यिनै प्रतिपादनले उनलाई आधुनिक विज्ञानका पिता बनायो । जीवनको अन्त्यकालतिर पनि उनी एकीकृत क्षेत्र सिद्धान्त (Unified Field theory)  ​  को खोज अनुसन्धान गरिरहेका थिए । तर दुर्भाग्यको कुरा यो खोज पूरा हुन नपाउँदै उनको दुःखद् निधन भयो ।

पागलपनलाई परिभाषित गर्दै अल्बर्ट आइन्स्टाइन भन्छन्– एउटै कार्य एउटै तरिकाले पटक पटक गर्नु तर फरक नतिजाको अपेक्षा गर्नु नै पागलपन हो । त्यसैले नवविकास, खोज, फरक प्रयास र परिवर्तनले नै हामीलाई अगाडि बढाउँछ । उनको यो अभिव्यक्ति र कार्ल माक्र्सको परिवर्तनसम्बन्धी दृष्टिकोणमा समानता पाइन्छ । कार्ल मार्क्स परिवर्तनको मुख्य कारण समाजको असमानता र स्रोतको असमान स्वामित्वका आधारमा सिर्जित वर्गीय सङ्घर्षलाई मान्दछन् । भेदभाव, अन्धविश्वास, असमानता र निरङ्कुशताका विरुद्धको सङ्घर्षले नै समतामूलक र समृद्ध समाज निर्माणका आधार हुन् भन्ने मार्क्सवादी विचारधारा उनको दर्शनभित्र पर्दछ ।

दार्शनिक पक्ष

आइन्स्टाइनको समाजवाद सम्बन्धी दार्शनिक धारणा पनि कार्ल मार्क्ससँग मेल खान्छ । सन् १९४९ मा आइन्स्टाइनले मासिक समीक्षा (समाजवादी जर्नल ‘मन्थ्ली रिभ्यु’) मा आफ्नो समाजवाद सम्बन्धी विचार व्यक्त गर्दै लेख (निबन्ध) लेखेको पाइन्छ । उनको समाजवादबारेको पहिलो तर्क सामाजिकता र नैतिकतातर्फ उन्मुख थियो । उनले यसलाई मानव समाजको गन्तव्य (साध्य) माने । विज्ञानको उद्देश्य मानिसमा सामाजिकता र नैतिकता भर्नु होइन तथापि विज्ञानले ती निश्चित उद्देश्य प्राप्तिका लागि साधनहरू आपूर्ति गर्दछ । विज्ञान साध्य होइन तर साधन हो । त्यसैले यी दर्शनबीच सान्निध्य देखिन्छ ।

अल्बर्ट आइन्स्टाइनले उक्त दार्शनिक लेखमा पुँजीवादप्रति तीन आधारभूत आपत्ति प्रकट गरेका छन् :

१. मानिस एक स्वतन्त्र सामाजिक प्राणी पनि हो । त्यसैले ऊ एक्लो हुनुका साथै सामाजिक पनि हुन्छ ।

२. पुँजीवादी समाजमा आर्थिक अराजकता हुन्छ । यो विशुद्ध नाफामुखी हुन्छ । यहाँ अस्वस्थ प्रतिस्पर्धा रहन्छ ।

३. पुँजीवादी समाज असमान समाज हो ।

आइन्स्टाइनले समाधानको रूपमा असमानता रूपी ठूलो भूतलाई निर्मूल पार्ने एक मात्र बाटो सामाजिक उद्देश्य प्राप्तिका लागि लक्षित शिक्षा प्रणालीसहितको समाजवादी अर्थतन्त्रको स्थापना हो भनेका छन् ।  यस्तो अर्थतन्त्रमा उत्पादनका साधनमाथि समाजको स्वामित्व रहन्छ र ती योजनाबद्ध रूपमा उपयोग गरिन्छ । यस्तो योजनाबद्ध अर्थतन्त्र जहाँ समुदायको आवश्यकता अनुसारको उत्पादन गरिन्छ, काम गर्न सक्षम सम्पूर्णमा कामको विभाजन गरिन्छ र बालालिका तथा महिला पुरुषको जीवनयापनको प्रत्याभूत गरिन्छ । त्यसैले आइन्स्टाइन असमानताको अन्त्य र मानवीयता, नैतिकता र सामाजिकताको प्राप्तिको बाटो समाजवाद नै भएको बताउँछन् ।

कार्ल मार्क्स र आइन्सटाइनलाई जोड्ने अर्को आधार वैज्ञानिक स्टेफन हकिन्सका मान्यताहरू पनि हुन् । उनीहरूको विचार समाजवादी हो । क्वान्टम भौतिकशास्त्र र अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तमा निकै उपलब्धि प्राप्त गरेका स्टेफन हकिन्सको ब्लाक होलसम्बन्धी सिद्धान्तले मात्र प्रख्यात भएका होइनन् । उनको अ ब्रिफ हिस्ट्री अफ टाइम (समयको छोटो इतिहास) ले ब्रह्माण्डीय ज्ञानको महासागर मानव समाजलाई प्रस्तुत गरेको छ ।  स्टेफन हकिन्सको पछिल्लो कृति ब्रिफ एन्सर टु द विग क्वेसन्स (ठूला प्रश्नहरूको छोटो उत्तर) मा उनी विज्ञानका प्राकृतिक नियमको आधारमा मानव समाज र ब्रह्माण्डीय पिण्डको भविष्यबारे आँकलन गर्न सकिने बताउँछन् । यदि आइन्स्टाइनले व्याख्या गरेको समाजवादलाई कार्ल मार्क्सले भौतिकवादका आधारमा व्याख्या गरेको समाज विकासको नियमसङ्गत रूपमा व्याख्या गर्ने हो भने भौतिकवाद र वैज्ञानिकहरूका विचारहरूका आधारमा एकरूपता पाउन सकिन्छ । यो प्राकृतिक विज्ञानको सामाजिक प्रयोग होइन । प्राकृतिक र जैविकीय नियमद्वारा नै मानव उद्विकासको वर्तमान निष्कर्ष हो । समाजवाद भविष्य होइन ।

नोबेल पुरस्कार

आइन्स्टाइनले सन् १९२१ को भौतिक शास्त्रतर्फको विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरे । उनले यो पुरस्कार संसारलाई चकित पार्ने सापेक्षतावादको सिद्धान्तका लागि पाएका थिएनन् । बरु उनलाई त्यो पुरस्कार अर्को महान् खोज फोटो इलेक्ट्रिक प्रभाव (Photo lEectric effects) सम्बन्धी नियमका लागि दिइएको थियो । सरल र उदार हृदय भएका आइन्स्टाइनले आफूले पाएको पुरस्कारको रकम सम्बन्ध विच्छेद भइसकेकी श्रीमतीलाई आर्थिक योगदान स्वरूप दिए । उक्त रकम त्यस बेलाको ३२२५० डलर वा स्विस १,२१,५९२ क्रोनोर थियो ।

निधन

निरन्तर वैज्ञानिक क्षेत्रमा लागिरहने क्रममा आफ्नो अर्को नयाँ सिद्धान्त प्रतिपादनलाई पूरा गर्न नपाउँदै १९५५ को अप्रिल १८ तारिखका दिन अमेरिकाको न्यु जर्सी राज्यस्थित प्रिन्स्टनमा आइन्स्टाइनको निधन भयो । यसअघि सन् १९३६ मा नै उनकी श्रीमती एलिसाको पनि मृत्यु भइसकेको थियो । विश्वका महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्कलाई उनको मृत्यु भएको ३० वर्षपछिसम्म पनि सुरक्षित राखिएको थियो । मृत्युपश्चात् उनको मस्तिष्कको अध्ययन गर्ने न्युरो सर्जनले उनको मस्तिष्कमा सामान्य मानिसको भन्दा ७३ प्रतिशत ग्लियल कोषहरू अधिक रहेको तथ्य पत्ता लगाएका थिए ।

यसरी विश्वविख्यात महान् वैज्ञानिक आइन्स्टाइनको व्यक्तित्व निकै उच्च थियो । यस्तो उच्चताको पर्वतमा अरू कुनै पनि वैज्ञानिक अहिलेसम्म चढ्न सकेको छैन । वैज्ञानिकहरूमा सन्त–ऋषिको जस्तो व्यक्तित्व भएका उनी कट्टर शान्तिवादी थिए । साथै प्रजातन्त्रवादी बनेर उनले आमूल परिवर्तनको पक्षमा वकालत समेत गरे । कहिले पनि हिम्मत नहार्ने महान् वैज्ञानिक शान्तिवादी, प्रजातन्त्रवादी र समाजवादी अल्बर्ट आइन्स्टाइनबाट हामी विश्वबासीहरूले धेरै कुरा सिक्न सक्छौँ । अन्त्यमा महान् वैज्ञानिक आइन्स्टाइन विश्व मानव जगत्मा सदा–सर्वदा अमर रहिरहने छन् ।

तस्बिरहरु : विकिपिडिया

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।