शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘साउन ३ गते ठूलो षड्यन्त्र हुनेवाला थियो, २२ जनालाई सलाम छ’

श्री ५ महाराजले आममाफी दिए, हामी गद्‌गद् भयौँ !
शुक्रबार, ०८ साउन २०७८, २१ : १८
शुक्रबार, ०८ साउन २०७८

आजको कार्यक्रममा उभिएर बोल्दा मलाई एक वर्ष पहिलेको सम्झना भइरहेको छ । पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा यही भवन (तुल्सीलाल स्मृति भवन) को तल्लो तलामा पुष्पलाल मिलन केन्द्रले यस्तै कार्यक्रम गरेको थियो । त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र एउटा ठूलो संकट आएको थियो । पार्टीभित्र संकटको प्रभाव नेतृत्व तहमा देखिएको थियो । त्यसको सिर्जनाकर्ता कमरेड केपी ओली हुनुहुन्थ्यो । उहाँले पार्टीको निर्णयलाई, व्यवस्थालाई, पार्टीको विधि पद्धतिलाई उल्लंघन गर्दै आफ्नो हिसाबले अगाडि बढ्दै जाने काम गर्नुभएको थियो । आज त्यो अवस्था पनि सम्झिरहेको छु ।

संकटै संकटबाट गुज्रिरहेको यो कम्युनिष्ट आन्दोलन फेरि पनि नयाँ चुनौतीको सामना गर्दै अगाडि बढिरहेको छ । मान्छेको जीवनमा चुनौती आएजस्तै आन्दोलनको जीवनमा, पार्टीको जीवनमा पनि चुनौती आउने गर्छ । चुनौती, संकटहरु आए भनेर त्यसबाट आत्तिनुपर्ने कुनै कुरा छैन । एउटा गीत छ, जीवन संघर्ष हो, संघर्षबाट भागेर मर्छु नभन । त्यसको डटेर मुकाविला गर्ने आँट गर । यो त्यतिकै भनिएको हैन । मैदान छोडेर भाग्ने हैन ।

सिद्धान्त कहिल्यै पनि गतिहीन हुन सक्दैन । त्यसैले जीवन गतिहीन हुँदैन, जीवन गतिवान हुन्छ । सिद्धान्त पनि परिवर्तनशील हुन्छ । जीवनका आधारमा सिद्धान्तले पनि परिवर्तनशील गर्नुपर्ने हुन्छ । मार्क्सवादीहरुले भन्ने गर्छन् सिद्धान्तको रंग भनेको खैरो हुन्छ । तर, व्यवहारको रंग हरियो हुन्छ ।

तर, बुझ्नुपर्ने कुरा के हो भने जनताले हामीले भनेको कुरा बुझ्छन् कि बुझ्दैनन् ? जनताले हाम्रो सिद्धान्तलाई पत्याउँछन् कि पत्याउँदैनन् ? जनता हाम्रो पछि लाग्छन् कि लाग्दैनन् ? हामीलाई पत्याउँछन् कि पत्याउँदैनन् ? जनता हाम्रो आह्वानमा ठुल्ठूला आन्दोलनमा मर्न तयार हुन्छन् कि हुँदैनन् ? मदन भण्डारीले त्यो कडी समात्नुभएको थियो । जनता नै इतिहासका निर्माता हुन् ।

सत्ता यस्तो चिज हो जसले दम्भ पैदा गर्दो रहेछ । यो सत्ता मात्र हैन, म्यानमारको कम्युनिष्ट आन्दोलन किन समाप्त भयो ? के कारणले थाइल्याण्डमा समाप्त भयो ? त्यत्रो हतियार भएका सशस्त्र आन्दोलन गर्ने कम्युनिष्ट पार्टीहरू कहाँ गए ? थाहा छ ? भ्रष्टीकरणबाट समाप्त भए ।

सत्ता बाहिर बन्दुकले पनि भ्रष्टीकरण ल्याउँदो रहेछ । आन्दोलन गर्नुप¥यो भने पनि पैसा, सशस्त्र आन्दोलन गर्नुप¥यो भने पनि पैसा । पैसाको पछाडि लाग्नुभयो भने सत्तामा बसेर राजनीति गरे पनि, जंगलमा बसेर राजनीति गरे पनि केही फरक पर्दैन । जंगलमा बसेर मात्र पनि कम्युनिष्ट जन्मँदैनन्, त्यहाँ भित्रबाट भ्रष्टीकरणहरु जन्मन्छन् । त्यहाँभित्र पनि शुद्धीकरण गर्नुपर्ने हुँदो रहेछ । जो सत्ताको उन्मादमा रमाउन थाल्छ, त्यसले कांग्रेस र कम्युनिष्ट चिन्दैन रहेछ ।

मैले भन्ने गरेको छु । स्कूल कलेजमा पढ्ने विद्यार्थीहरु राम्रो संगत गर्नुस्, राम्रो मान्छे बन्नुहुन्छ । नराम्रो मान्छेको संगत गर्नुस्, परिवारको पनि बोझ, समाज र देशको पनि बोझ बन्नुहुनेछ । त्यसकारण तपाई आफू कस्तो बन्न चाहन्छु त्यो स्पष्ट गर्नुस् ।

म आदर्श निष्ठावान हुन चाहन्छु, म असल हुन चाहन्छु । म कम्युनिष्ट, पुष्पलाल हुन चाहन्छु । जसको सिंगो जीवन संघर्षमा बित्यो । म पनि पुष्पलालको स्कुलिङबाट आएको हुँ ।

धर्मेन्द्र बास्तोलाजी (विप्लव समूहका नेता) मा अझै उग्र वामपन्थी धङधङी बाँकी रहेछ । बन्दुक उठाएर सबैथोक गर्न सकिन्छ भन्ने सोच्नुभएको रहेछ । नेपाली समाजमा त्यसको उपादेयता के छ ? जनताको मन जित्ने काम गर्नुस् । हाम्रो दायित्व के हो ? जनता । अहिले जनताको हालत के छ ? महिलाहरु बलात्कृत छन्, महिलाहरूमाथि हिंसा, हत्या हुने गरेको छ । अपहरण गरिन्छ, बोक्सीको आरोप लगाइन्छ, दलित भनेर भेदभाव गरिन्छ ।

आज मेरो घरमा सामान्य मजदुर किसान महिला आएकी थिइन् । २ लाख रुपैयाँ ऋण लिएकी रहेछिन् उनले । १४ लाख रुपैयाँ तिरिसकिन् । तर, १८ लाखको जग्गा सुदखोरले कब्जा गर्न लागिरहेको छ । उनी न्यायका लागि भौंतारिरहेकी छन् । यता जान्छिन्, न्याय पाउँदिनन् । उता जान्छिन्, न्याय पाउँदिनन् । कम्युनिष्ट पार्टीको सरकार छ, तर पनि कसैले कुरा सुन्दैनन् । सत्तामा कम्युनिष्टहरू छन्, कोही सुन्दैनन्, गाउँमा कम्युनिष्टहरू छन् कोही सुन्दैनन् । किन यस्तो भइरहेको छ ? हामी कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताको कर्तव्य के ? के यो विषयलाई लिएर आन्दोलनको ज्वालामुखी उठाउन सकिँदैन ? सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।

नेकपा एमालेभित्रको पछिल्लो संकट किन भयो, थाहा छ ? हिजो श्री ५ महाराजधिराजको अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण गरिएको छ, त्यसलाई आममाफी दिइन्छ । एमनेस्टी इज ग्रान्टेड ! हामी कति गद्‌गद् भयौँ ! महाराजधिराजले आम माफी दिनुभयो हामी त खुसीले गद्‌गद् भयौँ । हामीलाई त आम माफी मिले छ ! हामी त खुसीले उफ्रिनुपर्ने भो ! यही हो प्रवृत्ति ? यसैलाई भनिन्छ कम्युनिष्ट प्रवृति ?

स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले त्यो हतार गरेँ, मैले गल्ती गरेँ, स्पष्टीकरण फिर्ता लिएको छु भन्दा के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ? प्रवृति उस्तै छ ।

म त मान्छे सुध्रन्छन् कि भन्छु । आज सुध्रेलान् कि भन्या छ, भोलि सुध्रेलान् कि भन्या छ, केही पनि नबोलेर मैले हिजो मिठो मिठो शब्द मात्र निकालेँ । हिजो चम्पादेवीमा पुष्पलाल स्मृति दिवसका दिन बोल्दा पनि जिब्रो चिप्लेला कि भनेर बोलेँ । पार्टी एकतामा असर पर्ने कुरा आउला कि भनेर छेउमा बसेर साथी इशारा गरिरहनुभएको छ । कमरेड ख्याल गरेर बोल्नु भन्या छ । ख्याल गरेर बोलिरहेको छु । हाड नभएको जिब्रोले बोलिदिइहाल्ला कि भन्ने कत्रो त्राहिमाम !

अहिले हाम्रो पार्टीभित्र रहेको अन्तरविरोध वैचारिक विषयसँग जोडिएको,  नेतृत्वको आचरणसँग जोडिएको विषय हो । यसलाई ठीक ढंगले हल खोज्ने प्रयास गरौँ । अविश्वासको ठूलो खाडल तय भएको छ, त्यसको १ सय १ तथ्य प्रमाणहरु छन् । ती सबैको गहिरो चिरफार गर्न आवश्यक छ । समय धेरै ढिलो भइसकेको छ ।

अस्ति साउन ३ गते ठूलो षड्यन्त्र हुनेवाला थियो । यत्रो हुँदाखाँदाको संसद पटक–पटक विघटन गरियो । यो नेपालको इतिहासमा त अनुपम छँदैछ, संसारको इतिहासमा पनि विरलै पाइन्छ । एउटा प्रधानमन्त्रीले संसदलाई एकपटक सिध्याएको छ, सकेन फेरि सिध्याएको छ । त्यो ब्युँतिदाखेरि त्यसको नैतिक दायित्व बोक्दा पनि बोक्दैनन् । अनि पुस ५ गते मैले प्रतिनिधि सभा विघटन गरेको जायज थियो भन्ने पुष्टि गर्नका लागि साउन ३ गते फेरि गंभीर षड्यन्त्र भएको थियो । जसरी पनि शेरबहादुर देउवाको सरकारले विश्वासको मत नपाओस् । नपाइसकेपछि मैले गरेका विघटनहरु ठीक थिए । दुरदर्शी राजनेता मै हुँ भनेर डंका बजाउने उहाँको सोचलाई हामीले असफल बनाएका छौँ । संसदलाई जोगाइदिएका छौँ । व्यवस्थापिकाको रक्षा गरेका छौँ । संविधानको रक्षा गरेका छौँ । कार्यपालिकाको रक्षा गरेका छौँ । न्यायपालिकाको गरिमाको रक्षा गरेका छौँ ।

हामीले सबै जायज काम गरेका छौँ । संविधानसम्मत काम गरेका छौँ र यस्तो काममा हामीलाई गौरवबोध छ । म सँगसँगै मेरो पार्टीसँग जोडिएका झलनाथ खनालसहित ती २२ जना सदस्यहरुलाई म सलाम गर्न चाहन्छु । अनि बाँकी ती ११ जनालाई पनि म सलाम गर्छु, जसले विपक्षमा भोट खसाल्नुभएन ।

(पुष्पलाल स्मृति दिवसका अवसरमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको मन्तव्यको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माधवकुमार नेपाल
माधवकुमार नेपाल

माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता हुन् ।

लेखकबाट थप