शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : फेरि उकालो लाग्दै संक्रमणको ग्राफ !

साढे तीन सय जनामा कोरोना परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, ०८ साउन २०७८, २० : ५२
शुक्रबार, ०८ साउन २०७८

कर्णाली प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण दरको ग्राफ उकालो लाग्न थालेको छ । असार महिनामा झण्डै शून्यमा झर्न थालेको संक्रमणको जालो साउन महिना सुरु भएसँगै ग्राफ  उकालो लाग्न थालेको हो । पछिल्लो  समय १० वटै जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो पारेका छन् ।  जसका कारण कोरोना संक्रमणको दर पनि उकालो लाग्न थालेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । कोरोनाको ‘हटस्पोट’ बनेको सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । परिणाम स्वरुप: असार सम्म कोरोना नियन्त्रणमा आईसकेको अवस्था थियो । तर, निषेधाज्ञा खुकुलो पार्दै लगेपछि कोरोना पुन बढ्न थालेको हो । 

विशेषगरी कर्णालीका हिमाली जिल्लाहरुमा कोरोना संक्रमणका बिरामीहरु बढ्न थालेका छन् । असार महिनामा किसानहरुले रोपाइँ गर्ने सिजन भएकाले त्यो समयमा खासै स्वास्थ्यका मापदण्ड अपनाइएन । जसले गर्दा गाउँमा समेत कोरोना संक्रमण बढेको स्वास्थ्यका कर्मचारीहरु बताउँछन् । 

जेठ मसान्तसम्म कर्णालीका हिमाली जिल्लाहरुमा कोरोना संक्रमणको दर न्युन थियो । असार दोस्रो सातादेखि अन्य जिल्लाहरुको तुलनामा हिमाली जिल्लाहरुमा संक्रमणको ग्राफ बढेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क हेर्दा देखिन्छ । त्यस्तै रुकुम पश्चिम, सल्यान र कालिकोटमा पनि पछिल्लो एक सातामा कोरोनाका बिरामी बढेको देखिन्छ ।  

निषेधाज्ञा खुकुलो पारेसँगै नागरिकहरुले जनस्वास्थ्यका मापदण्ड समेत अपनाउन छाडेका छन् । प्रशासनले विज्ञप्तिमार्फत मास्क लगाउनुपर्ने, भीडभाड गर्न नपाइने भनिए पनि त्यसको पूर्ण रुपमा पालना भएको छैन ।  प्रदेश राजधानी सुर्खेतमा निषेधाज्ञा निकै खुकुलो छ । वीरेन्द्रनगरमा दैनिक आन्दोलन र राजनीतिक दलहरुले भेला गर्ने गरेका छन् भने ठुला होटेलहरुमा कार्यक्रमहरु हुने गरेका छन् । यस्तै बैँकहरूमा मान्छेको भीडभाड उस्तै हुने गरेको छ ।

 सवारी साधन सञ्चालनमा आएसँगै वीरेन्द्रनगरमा रहेको बसपार्कमा निकै भीडभाड हुने गरेको छ । नागरिकहरुले बजार क्षेत्र, बसपार्क अथवा बैँकहरूमा समेत आवत–जावत गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउँदैनन् । । दैनिक सयौँ व्यक्तिहरुको आवत–जावत भइरहने गर्दा कोरोना पुन उच्च विन्दुमा पुग्ने जनस्वास्थकर्मीहरुको भनाई छ । 

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार शुक्रबार सुर्खेतमा ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो एक साताको तथ्याङ्कलाई आङ्कलन गर्ने हो भने निकै बढी हो । यस्तै जुम्लामा २९ रुकुम पश्चिममा १४, कालिकोटमा ११, जाजरकोटमा १०, मुगुमा ६, सल्यानमा ४ र अन्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

शुक्रबार दैलेख, डोल्पा, हुम्लामा कोरोना संक्रमण शून्य छ । यद्यपि, शुक्रबार शून्य देखिएपनि पछिल्लो दुई साताको तथ्याङ्क हेर्दा डोल्पा, हुम्ला जिल्लामा कोरोनाको संक्रमण ग्राफ उच्च छ । यी जिल्लाहरुमा कोरोनाको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह समेत गरिएको छ । यस्तै शुक्रबार जाजरकोटमा कोरोना संक्रमित बढेका छन् ।  

शुक्रबार २१८ जनामा आरटी–पीसिआर विधिबाट कोरोना परिक्षण गर्दा ८५ जना र १३६ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ३९ गरी १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले जानकारी दिए । पछिल्लो एक साताको तथ्याङ्कलाई तुलना गर्दा शुक्रबारको संक्रमण दर निकै बढी हो ।

बिहीबार ६८६ जना सक्रिय संक्रमित रहेको प्रदेशमा शुक्रबार १२४ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ७३५ मा उक्लिएको छ ।  शुक्रबार ५५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने कोरोनाबाट कसैले पनि ज्यान गुमाएका छैनन् । कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण ३५० जनाले ज्यान गुमाइसकेका छन् । 
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप