शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घर-जग्गा कारोबारीलाई ब्रोकर लाइसेन्सको व्यवस्था गर्न चेम्बरको माग

शुक्रबार, ०८ साउन २०७८, १५ : ५०
शुक्रबार, ०८ साउन २०७८

शुक्रबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेटी बधाई ज्ञापन गरेको छ । अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई बधाई ज्ञापन गर्दै समग्र मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले चाल्नुपर्ने कदमहरूको बारेमा सुझाव समेत दिएको छ । 

सो अवसरमा चेम्बरले कोभिड–१९ पछिको मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै पहिलो प्राथमिकता सोही क्षेत्रलाई दिन अर्थमन्त्रीलाई आग्रह गरेको छ ।    मुलुकको अर्थतन्त्र पहिलेकै लयमा ल्याउन पनि निजी क्षेत्र गतिशीलता अनिवार्य भएको भन्दै चेम्बरका अध्यक्ष मल्लले प्राथमिकताका आधारमा निजी क्षेत्रलाई कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप तत्काल उपलब्ध गराउन शर्मासँग आग्रह गरे । यस्तो खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरू, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदुरहरुलाई लगाउने सुविधा उपलब्ध गराई पर्ने उनको आग्रह छ । 

यस्तै अर्थतन्त्रको उत्थानका लागि अब सरकारले चाल्नुपर्ने कदमहरूमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको  व्यवस्था गरिनुपर्ने । सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनुपर्ने, संसदमा विचाराधीन आर्थिक विधेयकहरु पारित गरिनुपर्ने, आर्थिक गतिविधि विस्तार एवम् अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशतभित्र कायम गरिनुपर्ने र रुग्ण उद्योगको हकमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनुपर्ने सुझाव अर्थमन्त्रीलाई दिएका छन् । 
यस्तै, बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिकाअनुसार  खर्च गरिनुपर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनुपर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनुपर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिनुपर्ने सुझाव पनि चेम्बरले दिएको छ । 

सो अवसरमा चेम्बरले निकै महत्वपूर्ण सुझावको रुपमा घर जग्गा कारोवारलाइ ब्रोकर लाइसेन्सको माध्यमबाट नियमन गरिनुपर्ने सुझाव समेत अर्थमन्त्री शर्मालाई दिएको छ ।  हालको चलन चल्तीको कारोवार प्रणालीलाई व्यवस्थित गर्दै घर जग्गा कारोबारलाई डिजिटल कारोबारमा रुपान्तरण गर्नुपर्ने भन्दै चेम्बरले चेक अनादर भएमा चेक जारी गर्ने निकाय तथा व्यक्तिलाई कालो सूचीमा राख्ने प्रावधान समेत ल्याइनुपर्ने सुझाव दिएको छ । 

सोही अवसरमा चेम्बरले साना व्यवसायहरुलाई सहजीकरण गर्न कुल कारोबारको सिलिङ बढाउनुपर्ने सुझाव समेत अर्थमन्त्री शर्मालाई सुल्झाएको छ ।  मुलुकको अर्थतन्त्रलाई उकास्न औद्योगीकरणको माध्यमबाट मात्र सम्भव भएको बताउँदै चेम्बरले आन्तरिक उत्पादन वृद्धि गर्न आन्तरिक लगानीको समेत प्रबद्र्धनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएको छ । 

यस सन्दर्भमा प्रतिउत्तर दिँदै अर्थमन्त्री शर्माले चेम्बरको उचित सल्लाह सुझावलाई आफुले आत्मसात गर्ने बताउँदै सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताए ।  चेम्बरको प्रतिनिधिमण्डलमा अध्यक्ष मल्लसहित वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्बरका सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डे, राजश्व समितिका सभापति परशुराम दाहाल लगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप