शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा भएका कम्युनिष्ट र सडकमा भएका कम्युनिष्ट मिलेर जाऔं : मोहन वैद्य

शुक्रबार, ०८ साउन २०७८, १५ : ४०
शुक्रबार, ०८ साउन २०७८

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका कम्युनिष्ट पार्टी र सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर जान आग्रह गरेका छन् ।  शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै कम्युनिष्ट पार्टी हुनु आवश्यक नभएको बताउदै संसदवादी दलहरुबीच एकता गरेर एउटै पार्टी बनाउन आग्रह गरे । साथै अर्को क्रान्तिकारी धार रहेको उल्लेख गर्दै क्रान्तिकारी धारका पार्टीहरूको एउटै पार्टी हुनुपर्ने उल्लेख गरे । 

अहिले क्रान्तिकारी धार कमजोर रहेको र संसदवादी धार बलियो रहेको बताउँदै संसदवादी धारको एउटै पार्टी र क्रान्तिकारी धारबीच एकता हुनुपर्नेमा उनको जोड थियो ।   उनले भने, ‘सरकारमा र संसदमा भएका कम्युनिष्टहरू एक ठाउँमा बस्नुपर्यो र सडकमा भएका कम्युनिष्टहरू पनि एकजुट हुनुपर्यो । सरकारमा रहेका कम्युनिष्टहरुले सडकमा रहेका कम्युनिष्टहरूलाई दमन गरेर जानुभएन ।’ 

उनले माधव नेपाल, प्रचण्डलाई यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्न खोजेको भन्दै प्रधानमन्त्रीको लोभ छोडेर पार्टी र जनताको लागि काम गर्न आग्रह गरे ।  नेता वैद्यले अहिले शासन व्यवस्थामा परिवर्तन भएपनि राज्य प्रणालीमा  परिवर्तन नभएको बताए । हिजो परिवर्तनका लागि लडाई लडेर राजनीतिक परिवर्तन गरेपनि जनताको जीवनस्तरमा परिवर्तनका लागि कुनै काम नभएको उल्लेख गरे ।  

अध्यक्ष वैद्यले कम्युनिष्ट पार्टीमा ३ धारा रहेको बताउँदै एउटा दक्षिणपन्थी धारा, एउटा मध्यमार्गी धारा र अर्को क्रान्तिकारी धारा रहेको उल्लेख गरे ।  कम्युनिष्ट पार्टी विभाजनको २ वटा मूल कारण हुने उनले बताए । उनले पहिलो कारणमा सैद्धान्तिक विचारधारा रहेको र कुन अन्तर्राष्ट्रिय नेतालाई मान्ने भन्नेमा विवाद रहेको बताए । अर्को विवादका रुपमा क्रान्तिको बाटोमा कसरी जाने भन्ने रहेको उनको भनाई छ ।  संसदीय बाटोबाट जाने कि क्रान्तिकारी बाटोबाट जाने भन्नेमा पनि कम्युनिष्ट पार्टीमा समस्या रहेको उल्लेख गरे । 

हिजो माले र मसाल एकता हुन नसक्नुको कारण सैद्धान्तिक राजनीतिक कारण रहेको बताए ।  पार्टी फुट्नुको अर्को कारण नेताहरुमा रहेको अहम रहेको उल्लेख गरे । यसका लागि एमाले अध्यक्ष ओलीलाई हेरे पुग्ने वैद्यको  भनाई छ ।  उनले प्रचण्ड, ओली र माधव नेपालको पार्टीबीच सैद्धान्तिक रुपमा केही पनि फरक नरहेको समेत उल्लेख गरे । 

तर पद्धति भने फरक रहेको बताउँदै ओलीमा स्वेच्छाचारी प्रवृत्ति रहेको तर सैद्धान्तिक रुपमा केही फरक नरहेको बताए । उनले प्रचण्ड उदार स्वभावको रहेको बताउदै ओलीमा दुनियाँमा म भन्दा ठूलो कोही नरहेको भन्ने दम्भ इगो रहेको उल्लेख गरे । यिनै कारणले पार्टी फुट्न खोजेको देखिएको वैद्यको भनाई छ । उनले संसद र सरकारमा रहेका कम्युनिष्ट पार्टीलाई एकता गर्न आग्रह गर्दै सडकमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई दमन नगर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप