शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ १६ गते नै कुनै हालतमा महाधिवेशन गर्नेगरी काम थाल्न देउवाको निर्देशन

सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न निर्देशन
शुक्रबार, ०८ साउन २०७८, १४ : ०५
शुक्रबार, ०८ साउन २०७८


 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन गर्ने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।

शुक्रबार विहान आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफलमा देउवाले भदौ १६ मा कुनै हालतमा महाधिवेशन हुने गरी काम थाल्न निर्देशन दिएका हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीसँग भने, 'सभापतिज्यूले भदौ १६ गतेको मिति कुनै हालतमा पछाडि नसर्ने गरी, भदौ १६ गते महाधिवेशन उद्घाटन गरी सम्पन्न गर्ने गरी कुन कुन तहको कसरी के हेरफेर गर्दा हुन्छ तपाईंहरु सबैले मिलेर गर्न गराउनु भन्नुभयो ।'

तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने काँग्रेसको तयारी छ ।

क्रियाशील  सदस्यता  विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको देखिन्छ ।

क्रियाशील सदस्यता विवाद समयमा नटुंगिँदै पार्टीको  केन्द्रीय  महाधिवेशनको  मूल  कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने छ ।

काँग्रेसले साउन १२ गतेबाट गाउँपालिका र  नगरपालिकाको  वडा स्तरको  अधिवेशन  गर्ने  कार्यतालिका  सार्वजनिक  गरेको  थियो  ।

यसका  साथै  नगरपालिका  र  गाउँपालिकाको  अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो । उक्त कार्यकालका करिब प्रभावित हुने पुगेको छ । 

क्रियाशील  सदस्यताको विवरण गाउँ तहसम्म पुर्याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव छैन। 

आजको बैठकमा बल्ल क्रियाशील छानविन समिति संयोजक रमेश लेखक र निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रतिवेदन पेस गरेका थिए ।
भोलिसम्म क्रियाशील सदस्यताको प्रतिवेदन देउवालाई बुझाउने देउवाको तयारी छ । आजको बैठकले स्थानीय तहको कार्यतालिका संशोधनबारे निर्णय लिन नसकेपछि भोलि ९ बजे फेरि बैठक बस्ने छ ।

आज प्रधानमन्त्री देउवाले संसदमा सम्बोधन गर्ने भएकाले बैठक भोलि बस्ने गरी सकिएको थियो ।

सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न निर्देशन

देउवाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना र अनशन गरिरहकोहरुको माग आजै सम्बोधन गर्न निर्देशन दिएका छन् ।

देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसमहामन्त्री डा रामशरण महतलाई जिम्मेवारी दिएका हुन् ।

'हाम्रै साथीहरु पार्टी कार्यालयमा आएर बस्नुभएको छ । के समस्या आयो, किन बस्नुभयो ? तपाईंहरुले उहाँहरुको कुरा सुनेर कसरी सम्बोधन गर्न सकिन्छ । त्यो अनशन टुंग्याउने कुराको प्रक्रियामा जानुस् ,' देउवाको भनाइ उद्धृत गर्दै शर्माले भने ।

उनीहरुले आजै सानेपामा अनशन र धर्ना गरिरहेका नेता कार्यकतासँग छलफल गर्ने बुझिएको छ । देउवाको निर्देशनपछि सम्भवत आजै नै धर्ना र अनशन टुंग्याउने तयारी छ ।

क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै काँग्रेस पार्टी कार्यालय सानेपामा धनुषा  र बाराका संस्थापन इत्तर पक्षका नेता कार्यकर्ताले धर्ना र अनशन जारी राखेका छन् । त्यसको काउन्टरमा बाराका संस्थापन पक्षले पनि धर्ना सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप