बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेता कार्यकर्ताको अनसनप्रति देउवाको चासो, आज दिनभरमा माग सम्बोधन गर्न निर्देशन

शुक्रबार, ०८ साउन २०७८, १३ : ५३
शुक्रबार, ०८ साउन २०७८

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप पार्टी कार्यालयमा अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको मागप्रति चासो व्यक्त गरेका छन् ।  देउवाले तत्काल उनीहरुको मागको सम्बन्धमा सुनुवाई गर्न निर्देशन दिएका छन् । 

बूढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा देउवाले धाँधलीरहित ढंगले पार्टीको क्रियाशील सदस्यता छानविन गर्न दवाव दिँदै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरूको माग आज दिनभरमा सुनुवाई गर्न निर्देशन दिएका हुन् ।  

उनले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “सभापतिजीले निर्देशन दिनु भएको छ– पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर जो पार्टी कार्यालयमा अनसन बस्दै आउनु भएका छ, उहाँहरुको मागको सुनुवाई आजै गरी भोली बस्ने बैठकमा पेश गर्नु ।”  देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसमहामन्त्री डा रामशरण महतलाई जिम्मेवारी दिएका हुन् । 

'हाम्रै साथीहरु पार्टी कार्यालयमा आएर बस्नुभएको छ । के समस्या आयो, किन बस्नुभयो ? तपाईंहरुले उहाँहरुको कुरा सुनेर कसरी सम्बोधन गर्न सकिन्छ । त्यो अनशन टुंग्याउने कुराको प्रक्रियामा जानुस् ,' देउवाको भनाइ उद्धृत गर्दै शर्माले भने ।

उनीहरुले आजै सानेपामा अनशन र धर्ना गरिरहेका नेता कार्यकतासँग छलफल गर्ने बुझिएको छ । देउवाको निर्देशनपछि सम्भवत आजै नै धर्ना र अनशन टुंग्याउने तयारी छ । क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै काँग्रेस पार्टी कार्यालय सानेपामा धनुषा  र बाराका संस्थापन इत्तर पक्षका नेता कार्यकर्ताले धर्ना र अनशन जारी राखेका छन् । त्यसको काउन्टरमा बाराका संस्थापन पक्षले पनि धर्ना सुरु गरेको छ ।

नेपाली काँग्रेसको अर्को पदाधिकारी बैठकले भोलि साउन ९ गते विहान नौं बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकले क्रियाशील सदस्यता वितरणका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने पार्टी केन्द्रित कार्य समितिले मात्रै टुंगो लगाउने पनि स्पष्ट पारेको छ ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले साउन १० गते आईतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी समेत गराएका थिए । काँग्रेसले भोली विहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ । 

बैठकमा केन्द्रिय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप