शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लापरवाही बढ्यो, खोप लगाएका पनि सङ्क्रमित हुन थाले

तेस्रो लहरको जोखिम बढेको निष्कर्ष,  अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
शुक्रबार, ०८ साउन २०७८, १३ : ५२
शुक्रबार, ०८ साउन २०७८

असारको अन्तिम साता मैतिदेवीस्थित पौडेल परिवारमा कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमण देखियो । परिवारमा भएका आमा, बुवा, दुई छोरी र छोरा सबैलाई लक्षणहरू देखियो । पाँच जना परिवारका सदस्य मध्ये बुवा, आमा, एक छोरी र छोराले कोरोनाविरुद्धको खोप लगाएका थिए । बुवा, आमाले कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुवै मात्रा लगाएका थिए भने छोराछोरीले भेरोसेल खोप लगाएका थिए । तर, बुटवलदेखि माइतीमा आएकी जेठी छोरीले भने खोप लगाएकी थिइनन् ।

सबैलाई एक दिनको फरकमा हल्का ज्वरो आउने, शरीर आलस्य भएको उनीहरूले महसुस गरे । तर, कोरोनाविरुद्धको खोप लगाएकाले उनीहरूलाई कोभिडतिर उनीहरूको ध्यान नै गएनन् । जेठी छोरीलाई परिवारका अन्य सदस्यलाई भन्दाबढी गाह्रो भएपछि उपचार गर्दा मात्र कोभिड सङ्क्रमण भएको पत्ता लाग्यो । जेठी छोरीलाई कोरोना पुष्टि हुँदा अन्य चार जना घरका सदस्यलाई देखिएको सामान्य लक्षण निको भइसकेको थियो । तर, शंकाका आधारमा  चारै जनाले पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ देखियो । 

यस्तै झम्सिखेलस्थित एकै परिवारका सबै ६ जना सदस्यहरूमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना सङ्क्रमित हुनेमध्ये एक जना सदस्य बाहेक सबैले कोरोनाविरुद्धको खोप लगाएको थिए । कोरोना पोजेटिभ देखिएका सबैलाई सामान्य खालको लक्षण देखिएको छ । 

​कोरोनाविरुद्धको पहिलो मात्रा, वा दुवै मात्रा खोप लगाएका केही व्यक्ति सङ्क्रमित भएर उपचार गर्न अस्पताल पुग्ने गरेको चिकित्सकहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला भन्छन्, ‘खोप लगाएकाहरू सङ्क्रमित नहुने भन्ने हुँदैन । तर, खोप लगाएका सङ्क्रमित भएको खण्डमा स्वास्थ्यमा त्यति गम्भीर समस्या भएको पाइएको छैन ।’

कोरोनाको पहिलो वा दुवै मात्रा खोप लगाएकाहरुमा सामान्य खालको लक्षण देखिए अस्पताल आइपुगेका केही व्यक्तिलाई सामान्य उपचारपछि निको भएको पाइएको निर्देशक डा बाँस्तोला सुनाउँछन् ।

अस्पतालको बेड, आइसीयू, भेन्टिलेटरमा उपचाररत सङ्क्रमितमध्ये अधिकांश खोप नलगाउने रहेको उनी बताउँछन् । ‘पहिलो मात्रा मात्रै खोप लगाएका सङ्क्रमित भई केही निमोनिया भएर अस्पताल आएका छन्,’ उनले  भने, ‘दुवै मात्रा खोप लगाउने सङ्क्रमित भए पनि गम्भीर भएको पाइएको छैन ।’

​पछिल्लो समय कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै गइरहेको छ । निषेधाज्ञा हट्दै गएपछि जनस्वास्थ्य नियम उल्लङ्घन गर्ने क्रम बढेसँगै बढ्दै गएको छ । ‘खोप लगाउँदैमा कोरोना सङ्क्रमण नहुने भन्ने हुँदैन । खोप लगाएका व्यक्तिले भ्रममा परेर मास्क, स्यानिटाइजर, साबुन पानी हात नधुने, सामाजिक दूरी सही रूपमा कायम नगर्दा खोपको पहुँच नपुगेको व्यक्ति झन् जोखिममा परे,’ उनले भने ।

नेपालमा डेल्टा र डेल्टा प्लस भेरिएन्ट देखिने क्रम जारी रहेकोले अस्पतालहरूका आईसीयू भरिभराउनै रहेको उनले बताए । निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमित बढेसँगै लक्षणसहितका सङ्क्रमित बढ्न थालेको चिकित्सकहरूले बताउँछन् । 

फाइल तस्बिर

बिहीबार मात्रै २ हजार ७ सय १४ जनामा कोरोना पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ । हाल कोरोना सङ्क्रमितको दर १९.३ प्रतिशत रहेको छ । पछिल्लो समय खोप केन्द्रबाट नै सङ्क्रमणको जोखिम बढेको चिकित्सकहरूले बताउन थालेका छन् । खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड ख्याल नगरि गरिएको भिडभाडले सङ्क्रमणको जोखिम उच्च रहेको निर्देशक डा. बास्तोलाले बताए । कोरोनाविरुद्धको खोप लगाउने/नलगाउने दुवै थरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न वेवास्ता गरे चाडै तेस्रो लहर आउन सक्ने उनले चेतावनी दिए ।

यता, कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ । सङ्क्रमण बढ्दै गएमा अब दिन चुनौतीपूर्ण हुन सक्ने भन्दै अस्पतालहरूलाई बेड, अक्सिजन, भेन्टिलेटर लगाएका स्वास्थ्य सामाग्री  तयारी अवस्थामा राख्न मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौँ उपत्यकाका तीन जिल्ला ललितपुर,भक्तपुर, सुनसरी, मोरङ, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित पुगिसकेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै अझै पनि बुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्ड उलङ्घन भएकाले सङ्क्रमितको सङ्ख्या बढ्दै गएको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप