सुर्खेत विमानस्थल विस्तारमा अवरोध कायमै, एक अर्ब बजेट फ्रिज
कर्णाली प्रदेश सरकारले ०७७ सालको मंसिर अन्तिम साता सुर्खेत विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कागजमै सीमित देखिएको छ ।
झण्डै २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति अन्तर्गत पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याए । ‘प्रदेश गौरव’ को आयोजनाको रुपमा लिइएको विमानस्थल विस्तारको निर्णयप्रति प्रदेशवासीले गौरव गर्नु स्वाभाविक थियो । विमानस्थल विस्तारका लागि संघीय र प्रदेश सरकारबीच गत असोज १५ गते समझदारीपत्रमा हस्ताक्षरसमेत भयो ।
तर, व्यवहारिक रुपमा भने अझै विमानस्थल विस्तारको काम अघि बढ्न सकेको छैन । नागरिक तहमा छलफल नै नगरी जग्गा रोक्का प्रक्रियाका लागि पत्र लेख्ने काम भएपछि नागरिकले विरोध गरे । स्थानीयको चर्को विरोधपछि विमानस्थल विस्तार कार्यबाट नागरिक उड्डयन कार्यालय र प्रदेश सरकार पछि हटेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले नै आफ्ना नागरिकको प्रतिनिधित्व गर्दै तत्काल विस्तार कार्य अघि नबढाउन माघ ३ गते प्रदेश र केन्द्रमा पत्रसमेत काट्यो । प्रदेश र केन्द्र सरकारले सुर्खेत विमानस्थल विस्तार कार्यका लागि पहल थाले पनि स्थानीयको अवरोधका कारण गत आर्थिक वर्षमा विमानस्थल विस्तारको काम हुन सकेन । परिणामस्वरुप विमानस्थल विस्तारका लागि केन्द्र र प्रदेश सरकारले छुट्याएको एक अर्ब १ करोडभन्दा बढी रकम फ्रिज भएको छ ।
नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थी आयोजनाका लागि छुट्याइएको रकम फ्रिज भएको स्वीकार गर्दै अन्य विकल्प खोज्नेबारे कुनै निर्णय नभएको बताउँछन् ।
विमानस्थल विस्तारका लागि नागरिक उड्डयन कार्यालय र प्रदेश सरकारले निकै प्रयास गरे पनि स्थानीय बासिन्दा र पालिकाले साथ नदिएपछि अन्ततः उक्त योजना असफल भएको हो ।
विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११, र १२ का सयौँ नागरिक प्रभावित हुने देखिन्छ ।
‘आर्थिक वर्ष २०७८÷७९ मा केन्द्र सरकारले बजेट छुट्याइसकेकाले स्थानीयस्तरमा सहमति भएपछि विस्तारको काम अघि बढ्ला कि !’ पन्थीले भने ।
यता प्रदेश सरकारले पनि विमानस्थल विस्तार आयोजनालाई निरन्तरता दिने बताएको छ । बजेट वक्तव्यमा विमानस्थल विस्तार र स्तरोन्नतीको विषय राखे पनि किटान गरेरै बजेट भने छुट्याइएको छैन ।
‘विमानस्थल विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकारसँग साझेदारी गर्ने गरी वित्तीय व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरिएको छ,’ प्रदेश सरकारको बजेट वक्तव्यमा भनिएको छ ।
यद्यपि, गौरवको आयोजनाका लागि निश्चित बजेट उल्लेख नगरिँदा विमानस्थल चालु आर्थिक वर्षमा पनि बन्नेमा अन्योल थपिएको सरोकारवालाहरु बताउँछन् ।
स्थानीयस्तरमा विमानस्थलको विकल्प खोज्नुपर्ने माग उठिरहेकाले उपयुक्त ठाउँ खोजी गरी विमानस्थलको काम तत्काल अघि बढाउनुपर्ने उनीहरुको भनाइ छ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत सकेसम्म प्रभावित क्षेत्रका बासिन्दासँग सहमति गरेर अहिलेकै विमानस्थललाई स्तरोन्नति गर्नुपर्ने बताउँछन् ।
रोक्का राखिएको जग्गा फुकुवा गर्न माग
विमानस्थलको विस्तार कार्य गर्ने उद्देश्यले नागरिक उड्डयन कार्यालयले जग्गाको लगत संकलनको कार्य समेत अघि बढाइसकेको थियो । सो क्षेत्रका कुनै पनि जग्गा जमिन खरिदबिक्री नगर्न भन्दै रोक्का गरिएको थियो ।
सुर्खेत विमानस्थल प्रभावित नागरिक सरोकार समितिले बिहीबार भेला आयोजना गरी विमानस्थल विस्तारका लागि भन्दै रोक्का राखिएका जग्गा फुकुवा गर्न माग गरेको छ ।
सरोकार समितिले प्रदेश सरकारले स्थानीयसँग समन्वय नगरेको तर, एयरपोर्ट आसपासको जग्गा गत पुस ९ गतेदेखि रोक्का राखेको भन्दै फुकुवा गर्नका लागि प्रमुख जिल्ला अधिकारीसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
समितिका अध्यक्ष टिकाराम आचार्यले प्रदेश सरकारले एयरपोर्ट विस्तारको विषयलाई राजनीतिक एजेण्डा बनाउन खोजेको आरोप लगाए । ‘एयरपोर्टका लागि नयाँ ठाउँमा विकल्प खोज्न आवश्यक छ,’ उनी भन्छन्, ‘सरकारले जनताले जनताले काम गर्न दिएनन् भनेको छ, १ अर्बले के काम हुन्छ ? यदि, विस्तार कार्य गर्ने हो भने नागरिकका बीचमा आएर छलफल गर्नुप¥यो नि !’
कति क्षेत्रमा विमानस्थल विस्तार हुने हो भन्ने नै प्रदेश सरकारले यकिन गर्न नसकेको उनको भनाइ छ । ‘प्रदेश सरकार आफै क्लियर छैन, अनि जनतालाई दोष देखाएर फाईदा लिने काम गरिरहेको छ,’ उनले भने ।
विमानस्थल विस्तार गर्दा कति प्रभावित ?
नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थलको उत्तरतिर विस्तार गरी ६ सय मिटर बढाउने गरी नक्सा तयार भएको छ ।
पहिला ४ सय ६० मिटर उत्तर र दक्षिणतिर लाइटिङका लागि २ सय मिटर बढाउने कुरा थियो ।
यद्यपि, पछि उत्तरतिर ६ सय मिटर विस्तार गर्नेगरी नक्सा आएको छ । विमानस्थलको बीच भागबाट पूर्व–पश्चिम ९०–९० मिटर चौडाइ बढाइने छ । जसबाट वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १०, ११ र १२ का गरी करिब ९ सय २३ घरधुरी प्रभावित हुने देखिन्छन् भने १६ वटा सार्वजनिक संस्थाका २ सयभन्दा बढी कोठा, सार्वजनिक संस्थाको करिब ६० कट्ठा जमिन अधिग्रहण हुने नागरिक सरोकार समितिले निष्कर्ष निकालेको छ । जसमध्ये सबैभन्दा धेरै अमरज्योति नमुना माविको जमिन पर्दछ ।