शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशमा जवरजस्ती करणीको घटनामा वृद्धि

शुक्रबार, ०८ साउन २०७८, १० : ३३
शुक्रबार, ०८ साउन २०७८

मकवानपुर । बागमती प्रदेशमा जवरजस्ती करणीका घटनाहरु वृद्धि भएको छ । विगतका आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशका १० जिल्लामा बलात्कारका घटनाहरु बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ । 

बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणीका ३ सय ७ वटा घटनाहरु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेशको काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक अन्य १० जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणीका २ सय २८ वटा घटना भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा २ सय ५६ वटा घटनाहरु घटेको तथ्याङ्क रहेको छ ।
 
प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, बागमती प्रदेशका १० जिल्लामा जवरजस्ती करणीका घटनामा सबैभन्दा बढी १० देखि २० वर्षका व्यक्तिहरु पिडित रहेका छन । गत आर्थिक वर्ष २०७७/०७८ मा मात्र उक्त उमेर १ सय ६७ जना किशोर किशोरीहरु माथि जवरजस्ती करणीका घटना भएका छन् ।

त्यस्तै, जवरजस्ती करणीबाट १० वर्ष भन्दा मुनिका ४३ जना बालबालिका, २० देखि ४० वर्षका ६७ जना युवा युवती, ४० देखि ६० वर्षका २४ जना व्यक्ति र ६० वर्ष भन्दा माथिका ९ जना वृद्धवृद्धाहरु जवरजस्ती करणीको शिकार बनेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । 

प्रहरी उपरिक्षक अधिकारीका अनुसार, जवरजस्ती करणीका घटना प्रदेशका १० जिल्लाहरु मध्ये सबैभन्दा बढी मकवानपुरमा घटेका छन् । मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणीका ६५ वटा घटना घटेको उनले बताए । 
त्यस्तै जवरजस्ती करणीका घटना चितवनमा ६२ वटा, सिन्धुलीमा ३४ वटा, धादिङमा ३३ वटा, काभ्रे र सिन्धुपाल्चोकमा ३०/३० वटा, दोलखामा १८ वटा, नुवाकोट र रामेछापमा १६/१६ वटा र रसुवामा ३ वटा घटेका छन् । 

अघिल्ला आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा नुवाकोट, काभ्रे र दोलखामा जवरजस्ती करणीका घटनामा केही कमि आएको छ भने अन्य जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, सिन्धुपाल्चोक र सिन्धुली र बढेको छ । रामेछापमा भने जवरजस्ती करणीका घटना स्थिर रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा जवरजस्ती करणीका घटना नुवाकोटमा १७ वटा, काभ्रेमा ४४ वटा, दोलखामा २१ वटा, मकवानपुरमा ३५ वटा, चितवनमा ५१ वटा, धादिङमा २५ वटा, रसुवामा २ वटा, सिन्धुपाल्चोकमा २३ वटा, सिन्धुलीमा २१ वटा र रामेछापमा १६ वटा घटेका छन् । 

प्रहरी उपरिक्षक अधिकारीका अनुसार, प्रदेशका १० जिल्लामा गत आर्थिक वर्षमा जवरजस्ती करणी अन्तर्गत हाडनाता करणीका ३१ वटा घटनाहरु घटेका छन् ।
त्यस्तै बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणी उद्योग अन्तर्गत ८९ वटा मुद्दा दर्ता भएको छ ।
 
वितेका ३ वर्षको  तुलनामा जवरजस्ती करणी उद्योगका घटनामा पनि बढेका देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा जवरजस्ती करणी उद्योगका ६० वटा घना भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा ८६ वटा घटना घटेका थिए भने गत आर्थिक वर्ष २०७७/०७८ मा उक्त घटना बढेर ८९ पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्कमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप