शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राडा सुवेदीद्वारा आफ्नो निजी पुस्तकालय र दश लाख नेपाल ल क्याम्पसलाई सहयोग

शुक्रबार, ०८ साउन २०७८, ०९ : १८
शुक्रबार, ०८ साउन २०७८

लण्डन । विगत तीन दशकदेखि बेलायतमा अन्तराष्ट्रिय कानून र मानव अधिकार विषयमा प्राध्यापन गर्दै आएका प्राडा सूर्य प्रसाद सुवेदी (क्यूसी) ले आफ्नो निजी पुस्तकालय ‘नेपाल ल क्याम्पस’ लाई प्रदान गर्ने भएका छन् ।

‘नेपाल ल क्याम्पस’ का पूर्व विद्यार्थी समेत रहेका डा. सुवेदीले १० लाख रुपैयाँ आर्थिक सहयोगसहित आफ्नो निजी पुस्तकालयमा रहेका सबै पुस्तक हस्तान्तरण गर्ने भएका हुन् ।

आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकारसम्बन्धी बहुमूल्य पुस्तकहरू र दश लाख रुपैयाँ नगद त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसलाई चन्दा स्वरुप प्रदान गर्ने डा. सुवेदीले बताएका छन् ।

बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भइ स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महा विद्यावारिधि जस्ता प्राज्ञिक क्षेत्रका सर्वोच्च उपाधि हासिल गर्दा आफूले अध्ययन गरेका एवम् प्राध्यापनका लागि किन्दै आएका ग्रन्थहरू उनले आफूले कानूनमा स्नातक गरेको संस्था नेपाल ल क्याम्पसलाई दिने निधो गरेका हुन् । यी सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउन लागेको समेत उनले बताए ।

लिड्स, लण्डन र अक्सफोर्ड विश्वविद्यालय लगायत संसारका सातवटा प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका अन्तरराष्ट्रिय स्तरका यस्ता ग्रन्थहरूले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्राहरू लाभान्वित हुने उनले आशा गरेका छन् ।

उनले दिएको दश लाख रुपैंया नगद चन्दालाई नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरि त्यसको बार्षिक आयबाट प्रत्येक वर्ष नयाँ–नयाँ ग्रन्थहरू नेपाल ल क्याम्पसको पुस्तकालयमा थप्दै जाने व्यवस्था पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप