अन्तरवार्ता

‘केपी ओली दुनियाँसामु असफल हुनुभयो’

अब ओलीले एमालेसामु आत्मसमर्पण गर्नुपर्छ’

person explore access_timeसाउन ७, २०७८ chat_bubble_outline2

प्रतिनिधिसभा सदस्य एवं पूर्व कृषिमन्त्री घनश्याम भुसाल नेकपा एमालेका वैचारिक नेता हुन् भन्नेमा कसैको विवाद छैन । तर, पछिल्लो समय भुसालले लिएको राजनीतिक अडानका सम्बन्धमा भने उनी बहसमा तानिँदै आएका छन् ।

माधव नेपाल समूहमा रहेर पनि भुसालले माधव नेपालकै भनाइ नमानेको, देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षर बुझाएर विश्वासको मत दिने बेलामा तटस्थ बसेको, बाहिर–बाहिर ओलीको विरोध गरेर भित्रचाहिँ ओलीसँगै मिल्नुपर्छ भन्ने गरेको जस्ता आरोपहरूको सामना भुसालले एमालेभित्रैबाट गरिरहेका छन् ।

ओली पक्षका ‘हार्डलाइनर’हरुले भुसाललाई एकताविरोधी करार गर्न खोजिरहेका छन् भने माधव पक्षका ‘हार्डलाइनर’ले चाहिँ उनलाई ओलीपरस्त देखाउने प्रयास गरिरहेका छन् ।

आखिर, एमालेभित्रको विवादमा दोस्रो पुस्ताका नेता भुसालको ‘पोजिसन’ कहाँनेर छ ? उनले देउवालाई किन विश्वासको मत दिएनन् ? ओलीसँगै मिल्नुपर्छ भन्ने भुसालको लाइन हो कि विभाजनसम्म माधव नेपालसँगै जानुपर्छ भन्ने हो ? यिनै प्रश्नमा केन्द्रित रहेर रातोपाटीले एमाले नेता भुसालसँग अन्तरंग कुराकानी गरेको छ । यसक्रममा हामीले भुसालसँग अब नेकपा एमालेको भविष्य के हुन्छ र देउवाले नेतृत्व गरेको सरकारप्रति उनको विश्लेषण के छ भन्ने प्रश्नसमेत गरेका छौं ।

अन्तरवार्ताका क्रममा नेता भुसालले एमालेभित्रको अहिलेको संकटलाई ‘एमाले भर्सेस ओली’बीचको अन्तरविरोधका रुपमा संश्लेषण गरे । ओलीले संसद विघटन गरेवापत आत्मालोचना गरेको खण्डमा आफूले पनि देउवाको पक्षमा हस्ताक्षर गरेवापत आत्मालोचना गर्ने उनले बताए ।

एमाले अध्यक्ष ओलीले कुनै दिन पश्चाताप गर्नैपर्ने र पार्टीमा आत्मसमर्पण गर्नुपर्ने भुसालको भनाइ छ । आफूहरुले ओलीविनाको एमाले कल्पना नगरेको बताउँदै उनले माधव नेपालविनाको एमाले कसैले पनि कल्पना गर्न नहुने बताए ।

प्रस्तुत छ एमाले नेता भुसालसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

यहाँको विश्लेषणमा नेकपा एमालेको भविष्य के हुन्छ ? अब एमाले विभाजित हुन्छ कि एकतावद्ध हुन्छ ?

नेकपा एमालेका सन्दर्भमा एकता यसको प्रवृत्ति हो, यसको स्वभाव हो । नेकपा एमाले जुन बन्यो, यस्ता पचासौं साना–साना समूहहरु मिल्दै बनेर आयो । यो कुनै एउटा समूहसँग अर्को समूह मिलेको जस्तो रहेन, सधैंभरि एउटै पार्टीका रुपमा, एउटै समूह र संस्कृतिका रुपमा यो हुर्केर आयो । यसको धेरै महत्वपूर्ण कुरा के हो भन्दाखेरी एमाले भनेको नेपालको कम्युनिस्ट आन्दोलनको एकताको प्रवृत्ति हो । एकता, एकता र फेरि एकताद्वारा यो निर्माण भएको हुनाले एकता जति सजिलो छ, विभाजन त्यति सजिलो छैन नेकपा एमालेलाई । यस अर्थमा यो एकीकृत रहन्छ, एकीकृत राखिन्छ भन्ने मलाई लाग्छ ।

तपाईंहरुले एकताको प्रयास गर्दागर्दै पनि अब एक हुन सकिँदैन, आ–आफ्नो बाटो लिनुपर्छ भन्ने विचार पनि त तपाईंहरुकै समूहभित्र सुनिन्छ नि ?

त्यो एकदमै स्वाभाविक हो । किनभने, गएको केही समययता हामी जुन विवादबाट गुज्रिएर आयौं, यो सजिलो कुराचाहिँ छैन । किन भन्दाखेरी अघि मैले भनेको नेकपा एमालेको जुन आम प्रवृत्ति रह्यो, अहिले हामी त्यो भन्दा फरक व्यवहार गर्दैछौं ।

प्रष्ट रुपमा भन्ने हो भने नेकपा एमाले बन्नका लागि तीनवटा धेरै महत्त्वपूर्ण कुरा थिएः  एक– यो सामुहिक नेतृत्व प्रणालीबाट आयो । दुई– सबै कमिटीहरु निर्वाचित भएर आउने, हरेक व्यक्ति निर्वाचित भएर आउने आन्तरिक लोकतन्त्रको असाध्यै राम्रो अभ्यास गरेर आयो एमालेले आफ्नो जीवनभरी । तेस्रो– यसको स्कुलिङ हो । यसको प्रशिक्षणको व्यवस्था यस्तो रह्यो कि एमालेका सबै सदस्यका लागि यसको विचार र सिद्धान्तको मर्म हो । नेकपा एमालेले जुन सिद्धान्त र विचार हाम्रो हो भन्यो, त्यसमा तलसम्म प्रशिक्षित कार्यकर्ताहरूको पंक्ति छ ।

यी तीनवटा यस्ता चिजहरू हुन्, जसले नेकपा एमाले बन्यो । अहिलेको हाम्रो संकट भनेको यसैमा संकट छ । यसमा संकट भनेको यो सामुहिक नेतृत्व प्रणालीबाट टाढा टाढा हुँदै गयो ।

खासगरी यो कुरा भन्नुपर्छ कि कमरेड ओली पार्टीको सत्तामा आएपछि यो कमजोर हुँदै गयो । सामुहिक नेतृत्व प्रणाली कमजोर हुँदै गयो । यसले गर्दाखेरि पार्टीमा लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भयो । योबीचमा नेकपा एमालेको विचार के हो भन्ने कुरा पनि करिब–करिब अस्पष्ट हुँदै गयो र एमाले विचारहीन हो भन्ने देखियो । यसरी गएको पाँच÷सात वर्षयता हामी एउटा यस्तो चरणमा गएका छौं, जुन नेकपा एमालेको स्वभाव होइन । नेकपा एमाले जसरी हुर्केर आयो, त्यसको स्वभाव विपरीत हामी जाँदैछौं । आजको संकट यो हो ।


कमरेड ओलीका असफलताहरुको कुरा गर्नुहुन्छ भने, दुनियाँका अरु पार्टीमा यत्तिको गल्ती गर्ने र प्रयोगहरु असफल भइसकेको मान्छे त्यो ठाउँमा बस्नु हुँदैनथ्यो । तर, फेरि पनि नेकपा एमालेको प्रवृत्ति मैले भनिहालें, यो एकताको प्रवृत्ति भएको हुनाले अहिले पनि कमरेड ओलीलाई आजै लछार–पछार गरेर फालिहाल्नुपर्छ भन्ने कोही पनि छैन । कसैले यो कुरा भनेको छैन ।


यो संकटलाई अझ सैद्धान्तीकृत गर्नुहुन्छ भने नेकपा एमालेभित्र कमरेड केपी ओली आएपछि नियन्त्रित, निर्देशित लोकतन्त्रको अभ्यास शुरु भयो । पार्टीभित्र पनि नियन्त्रित र निर्देशित व्यवस्था शुरु भयो । पछि कमरेड ओली सरकारमा गएपछि राज्यमा, सरकारमा पनि त्यो देखियो । उहाँले सरकारमा, सरकारमार्फत व्यवस्थापिकामा र अन्यत्र पनि आफ्नो नियन्त्रण बनाउनका लागि, एक हिसाबले बजारको भाषामा भन्ने हो भने ‘कब्जा’ गर्नका लागि उहाँ अगाडि जानुभयो ।

उहाँ (ओली) लाई लागेको के थियो भने लोकतन्त्रभित्रै यस्तो एउटा निर्देशित व्यवस्था शुरु गर्छु, जसमा सबैलाई अनुशासित राख्छु, एउटा निर्देशित दिशामा सबैलाई हिँडाउँछु । त्यस्तो निर्देशित, नियन्त्रित दिशामा उहाँले नै परिभाषित गरेको अनुशासित दिशामा हिँडाउँछु । उहाँले नै निर्धारण गरेको विधि पद्धतिभित्र यसलाई हिँडाउँछु र सारा पार्टीलाई आफ्नो नियन्त्रित, निर्देशित विधि–पद्दतिभित्र हाल्छु, त्यसमार्फत समाजलाई हाल्छु भन्ने एउटा सोच थियो । यसलाई तपाईले ओलीवाद भन्नोस्, ओली प्रवृत्ति भन्नोस् वा ओली विचार भन्नोस्, यो हामीले ५÷७ वर्षदेखि अभ्यास गरेका छौं ।

आजको संकट भनेको कमरेड ओलीको यो विचार, यो दिशाको संकट हो । यसको असफलताले उत्पन्न गरेको संकट हो । यसर्थ, ओली विचारले अथवा यसलाई मैले बेला–बेलामा ओलीवाद भन्ने गरेको छु, यसको असफलताले उत्पन्न गरेको अहिलेको समस्यालाई हामीले यसरी बुझ्नुपर्छ भन्ने लाग्छ । यो असफल भयो ।

अहिलेसम्म कमरेड ओली स्वयंले यो कुरा देखिसक्नुभयो । दुनियाँले यो देख्यो । यो सरकारमा, राज्यका अरु अंगहरु र सरकारको सम्बन्धमा, पार्टीमा, पार्टीका तलदेखि माथिसम्म व्यक्ति, कमिटी र यिनका सम्बन्धहरूमा यो विचार असफल भयो भन्ने कुरा त सबैतिर स्थापित भइसक्यो । यो सत्यलाई कमरेड ओलीले स्वीकार गर्न मानिराख्नुभएको छैन । अझै पनि यसमा तानातान छ । तपाई असफल हुनुभयो भनेर अरुले भन्दैछन् र घटनाहरूले देखाइराखेका छन् । यो प्रमाणित भइराखेको छ । तर, उहाँले यो कुरा स्वीकार गरिराख्नुभएको छैन ।

ओली कमरेडका विचारमा शिक्षित–दीक्षित कमरेडहरुले पनि यो कुरा देख्नुभयो । यो क्रममा उहाँहरुले एउटा हैसियत पनि बनाउनुभयो । ओलीवाद जिन्दावाद, ओली जिन्दावाद, ओलीको विचार जिन्दावाद आदि भनेर। उहाँहरुले हैसियत पनि बनाउनुभयो । उहाँहरुलाई पनि हरेक ठाउँमा ठेस लागिराखेको छ । उहाँहरुले यो देखिराख्नुभएको छ । यसबाट हामी उम्किन सकेका छैनौं । खासगरी उहाँहरु उम्किन सक्नुभएको छैन ।

अब यसका दुईवटा बाटा छन्ः या त कमरेड ओलीले आफ्ना असफलतालाई ढाक्नका लागि यसलाई (एमालेलाई) जुनसुकै हिसाबले विभाजनै गर्नुपर्छ, या त उहाँले यसलाई स्वीकार गर्नुपर्छ । तर, नेकपा एमाले जसरी बनेको छ, उहाँले विभाजनतिर लैजान सक्नुहुन्छ भन्ने चाहिँ मलाई अहिले पनि लाग्दैन । यो मेरो भावनात्मक कुरा पनि होला । म एमालेमै हुर्केको, ४४/४५ वर्ष होल टाइमर भएर जिन्दगी यहाँ बिताएँ । यसले गर्दा मेरो भावना गाँसिएको होला । यसले गर्दा मैले आग्रहले भनें भने पनि हाम्रो इतिहास एउटा यस्तो प्रमाण हो, जसले नेकपा एमालेमा कमरेड ओलीका विचार, प्रवृत्ति र उहाँका योजनाहरु असफल भएपछि यी असफल भए भनेर यो पार्टीले यसलाई आज वा भोलि वा पर्सि संश्लेषित गर्छ भन्नेमा म ढुक्क छु ।

ओलीले आफ्नो असफलतालाई स्वीकार गरिराख्नुभएको छैन, तर ओलीले चाहँदैमा एमाले विभाजित हुँदैन भन्नुभयो, माधव नेपालले चाहेर चाहिँ विभाजित हुन्छ त ?

माधव नेपालले वा म घनश्याम भुसालले वा अरु कसैले पनि चाहेर हुँदैन । मैले भनें नि, इतिहासका ती वस्तुगत यथार्थ हुन्, जसले हामीलाई यहाँभन्दा बाहिर जान दिँदैनन् । धेरै ठूलो प्रश्न पनि छैन । जस्तो– अहिले नै कुरा गर्नुहुन्छ भने, कमरेड ओलीका असफलताहरुको कुरा गर्नुहुन्छ भने, दुनियाँका अरु पार्टीमा यत्तिको गल्ती गर्ने र प्रयोगहरु असफल भइसकेको मान्छे त्यो ठाउँमा बस्नु हुँदैनथ्यो । तर, फेरि पनि नेकपा एमालेको प्रवृत्ति मैले भनिहालें, यो एकताको प्रवृत्ति भएको हुनाले अहिले पनि कमरेड ओलीलाई आजै लछार–पछार गरेर फालिहाल्नुपर्छ भन्ने कोही पनि छैन । कसैले यो कुरा भनेको छैन ।

पछिल्लोपटक कमरेड ओलीले हाम्रो पार्टीमा एउटा विभाजनकारी रेखा कोर्नुभयो । गएको फागुन २८ गते आफ्नो टिमको बैठक राख्नुभयो र त्यसैलाई पार्टी भन्दिनुभो । यो स्पष्टतः विभाजनका लागि उहाँले गरेको श्रीगणेश हो । विभाजनको उहाँले उद्घाटन गर्नुभएको हो । यत्रो हुँदाखेरि पनि म स्वयं हाम्रो इतिहासको विरासत दाउमा राख्ने कमरेड केपी ओलीले सबै कुराको जिम्मा लिनुपर्छ भन्दाभन्दै पनि के भन्दैछु भने उहाँले त्यो फिर्ता लिनुभयो र अब योभन्दा बढ्ता उहाँले बिगार्नुहुन्न भन्ने कुराको मात्रै ग्यारेन्टी भयो भने पनि हामी उहाँका यी तमाम असफलताको कुरा आजै हिसाब–किताब खोजिराखेका छैनौं । आज हामी त्यो व्यवस्थामा मात्र फर्किऔं, जुन व्यवस्थामा गएपछि स्वयं कमरेड ओलीको, कमरेड माधत्रव नेपालको, कमरेड झलनाथ खनालको र हाम्रा क्रियाकलापहरूको मूल्यांकन हुनेछ । र, पार्टीमा व्यवस्थित एवं संस्थागत हिसाबले नै हाम्रा कर्महरुको हामी समीक्षा गर्छौं ।

अर्को कुरा म के देख्छु भने हामी यो संकटबाट बाहिर निस्कियौँ भने... हामीले यो जुन अनुभव अहिले सँगाल्यौं नि, म कमरेड ओलीको विरुद्धमा अर्को पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउन अदालतमा गएँ, तर मलाई कमरेड ओलीले निकाल्न सक्नुहुन्न । म आफैं मेरो संसदीय दलका मर्यादाका सीमा सबै भत्काएर म त्यहाँ पुगेको छु  र पनि फेरि म एमाले भन्दैछु । यो संकट अहिले हामीले अभ्यास गरिरहेको लोकतन्त्रको संकट हो । यसलाई हामीले सैद्धान्तीकरण गर्नुपर्ने छ । र, यसलाई व्यवस्थित हिसाबले टुंग्याउनुपर्ने छ । यो टुंग्याउन सक्यौं भने नेकपा एमाले हिजोभन्दा अझ बढी लोकतान्त्रिक, अझ बढी उदार र अझ बढी फराकिलो भएर यो अगाडि जान्छ भन्ने कुरामा म साँच्चिकै विश्वस्त छु ।

यहाँले अघि नै भन्नुभयो कि ओलीले आफूबाट भएका कमी कमजोरीहरुलाई अहिलेसम्म आत्मसात गर्नुभएको छैन । उहाँ सरकारबाट  बहिर्गमनमा पर्नुभयो, तर पार्टीको सत्ताचाहिँ अहिलेसम्म केपी ओलीबाट मुक्त हुन सकेन भन्न मिल्छ ?

तपाईको भनाइलाई मैले यसरी भन्छु, यो कमरेड ओली र नेकपा एमालेको अन्तरविरोध हो । नेकपा एमाले भनेको म वा माधव नेपाल भनेको होइन । हाम्रो हिस्ट्री, हामीले आजसम्म बनाएको इतिहास, हामीले नेपाली राजनीतमा खेलेको भुमिकाले हामीलाई जसरी हाम्रै अभ्यासले हामीलाई जसरी ढाल्यो, यो समग्र कुरालाई मैले नेकपा एमाले भनेको हो । यसर्थमा फेरि पनि नेपाली राजनीतिको असाध्यै व्यवस्थित, संगठित, सुसुचित र सामुहिक नेतृत्व प्रणालीमा चलेको एउटा पार्टी नेकपा एमाले हो ।

मैले किन ओलीलाई नेकपा एमाले र कमरेड ओलीको अन्तरविरोध भनेको हो भने, कमरेड ओली यी तीनवटै प्रवृति भन्दा अलग प्रवृतिको हुनुभयो । यसले गर्दा अहिलेको अन्तरविरोधलाई मैले नेकपा एमाले र कमरेड ओलीको तानातानी, ओलीवाद र ओलीका विचारको तानातानी हो ।

यस अर्थमा नेकपा एमालेले किन जित्छ भन्दा यो इतिहास हो, यो निर्माण गर्दा कुनै व्यक्तिका पछाडि कुनै कुलघराना, कुनै महान मान्छे होइन । नेताहरु हिजो महान त थिए । तर, ती हरेक महान नेताहरुले आफ्ना असफलतापछि आफ्नो ठाउ छोडे । हिजो सीपी, झलनाथ, माधव कमरेडले छोड्नुभयो । पछि झलनाथले फेरि छोड्नुभयो । एकपछि अर्का व्यक्तिहरुले छोडेका छन् । भनेको, नेकपा एमालेको इतिहासकाप्रति उनीहरुले अर्को अर्थमा आत्मसमर्पण गरेका छन् अथवा आफुलाई समर्पित गरेका छन् । यसरी आएको पार्टी नेकपा एमालेको यो जीवन शक्तिका अगाडि कमरेड ओलीले पनि आत्मसमर्पण गर्नुपर्छ । जसरी अरु सबैले गरेका छन् ।

अहिलेचाहिँ ओलीले पार्टी कब्जा नै गरिरहनुभएको छ होइन ? 

जिद्दी गर्नुभएको छ । पहिलाचाहिँ कब्जाजस्तै देखिन्थ्यो । खासगरी उहाँ अध्यक्ष भएपछि भारतले गरेको नाकाबन्दीमा सारा जनता नाकाबन्दीको प्रतिरोधमा उत्रियौँ । त्यसको नेताका रुपमा कमरेड ओली आउनुभयो । त्यसमा उहाँको जयजयकार हुनु स्वभाविक थियो । जुनसुकै मुलुकमा आफ्ना अगुवाप्रति त्योखालको धारणा हुन्छ । तर, कमरेड ओलीले के बुझि दिनुभएन भने यो समाजले बनाएको म नेता हुँ भन्ने कुरा उहाँले बिर्सिदिनुभयो ।

नेपाल भारतको ऐतिहासिक रुपले नै जुन अन्तरविरोधहरु थिए, हाम्रा हितहरु र भारतका हितहरु जसरी टक्कराउँदै आएका थिए, त्यसमा हाम्रो राष्ट्र, जनताप्रति जुन प्रतिवद्धता थियो, त्यो प्रतिवद्धता र इतिहासमा लडेको त्यो विरासतको एउटा प्रतिनिधिका रुपमा आफुलाई हेर्नुभएन उहाँले । उहाँले आफू जहाँ उभिएको छु, त्यहाँबाट नेपाली राष्ट्रवादको देशभक्तको इतिहास हुन्छ, उहाँले त्यहाँबाट गल्ती गर्दै जानुभयो र पछि पहिलो प्रतिनिधि सभा विघटनसम्म आउँदा उहाँको त्यो कब्जा नै जस्तो देखिन्थ्यो । त्यसपछि उहाँ दुनियाँका सामु असफल हुनुभयो ।

कम्युनिस्ट पार्टीको त्यत्रो बहुमत भएको संसदलाई उहाँले विघटन गर्नुभयो र आफैं कमजोर हुनुभयो, उहाँको ग्रिप त्यहीँबाट फुस्कन थाल्यो । त्यहीँबाट उहाँ पछारिन थाल्नुभयो । जब अदालतको फैसलाबाट एउटा पार्टी दुईटा भए, त्यसपछि जुन संकल्प आयो, त्यो सामान्यतया जोसुकै पनि सामान्य मान्छेको संकल्प हुन सक्दैनथियो । एउटा पार्टी ब्युँतिसकेपछि त्यो पार्टीको आफ्नो समुह वा गुटलाई समातेर त्यही नै पार्टी भनेर जुन काम गर्नुभयो, त्यो अर्को ब्लण्डर थियो । ऐतिहासिकरुपले असाध्यै ठूलो दोस्रो पराजय थियो त्यो ओलीको । त्यस अर्थमा उहाँको ग्रिप वा कब्जा रहेन, परिस्थितिमा उहाँको नियन्त्रण हट्न थाल्यो ।

त्यसपछि अर्को अदालतका र राजनीतिक घट्नाक्रममा ठक्कर खाँदै जानुभयो र दोस्रोपटक समेत प्रतिनिधि सभा विघटन गरिसकेपछि उहाँको न पार्टीमा न बाहिर नै ग्रिप छैन भन्ने कुराको तथ्य आइनै सकेको छ । तर, यसलाई उहाँले स्वीकार गरिरहनुभएको छैन । यसलाई उहाँले कतिपय साथीहरुलाई समेट्नुभएको छ ती साथीहरुले पनि बुझिसक्नुभएको छ ।

म त यसो हेर्दा कस्तो देख्छु भने उहाँले आफ्ना वरिपरि जे जमात बनाएर किल्लाबन्दी गर्दै हुनुहुन्थ्यो, अरु सबैले त्यो किल्ला बनाउन ढुंगा बोकिरहेका थिए एउटा खासबेलासम्म उनीहरुले मेहनत र उत्साहका साथ ढुंगाहरु बोकिराखेका थिए । अहिले कोही कसैले पनि ढुंगा बोकिरहेको छैन । सबका हातखुट्टा गलिरहेका छन् । सब सुस्ताइरहेका छन् । यसले गर्दा अब उहाँको ग्रिप रहेन भन्ने मलाई लाग्छ ।

तपाईका कुरा सुन्दा केही विरोधाभाष पनि देखियो । यत्रो असफलता भोगेका केपी ओलीलाई अझै पनि छुट दिने नै कुरा गर्नुभयो । जब कि दण्डित पनि नगर्ने, पद छोड्नु पनि नपर्ने । गल्ती गर्दिनँ भन्दिए पुग्छ ? अझै ओलीलाई नै अध्यक्ष मानेर जाने भन्नुभएको हो ? अर्कातिर उहाँले माधव नेपाललाई गद्दार भनिहनुभएको छ । तपाईंहरुमा ठूलो विरोधाभाष भएन र ?


कम्युनिस्ट पार्टीको त्यत्रो बहुमत भएको संसदलाई उहाँले विघटन गर्नुभयो र आफैं कमजोर हुनुभयो, उहाँको ग्रिप त्यहीँबाट फुस्कन थाल्यो । त्यहीँबाट उहाँ पछारिन थाल्नुभयो । जब अदालतको फैसलाबाट एउटा पार्टी दुईटा भए, त्यसपछि जुन संकल्प आयो, त्यो सामान्यतया जोसुकै पनि सामान्य मान्छेको संकल्प हुन सक्दैनथियो । एउटा पार्टी ब्युँतिसकेपछि त्यो पार्टीको आफ्नो समुह वा गुटलाई समातेर त्यही नै पार्टी भनेर जुन काम गर्नुभयो, त्यो अर्को ब्लण्डर थियो । ऐतिहासिकरुपले असाध्यै ठूलो दोस्रो पराजय थियो त्यो ओलीको । त्यस अर्थमा उहाँको ग्रिप वा कब्जा रहेन, परिस्थितिमा उहाँको नियन्त्रण हट्न थाल्यो ।


म केपी ओलीले के सोचुहुन्छ भनेर खासै ध्यान दिन्नँ । ओलीले के गर्दै हुनुहुन्छ र के गर्न सक्नुहुन्छ भन्ने मुख्य कुरा हो । मान्छेले के भाषामा बोल्छ भन्ने कुरा आफ्नो शिक्षा दीक्षा र तौरतरिका, परिवार, समाजअनुसार बोल्ने र अभिव्यक्त गर्ने हो ।

कारवाही त उहाँले धेरैपटक धेरैजनालाई गरिसक्नुभयो । यही हो ग्रीप खुस्कियो भनेको । उहाँको नियन्त्रण अब रहेन । हामीलाई नै कतिपटक कारबाही गरिसक्नुभयो । माधव नेपाललाई कति कारवाही गर्नुभयो । हिजोमात्रै एउटा स्पष्टीकरण आएको छ । यो कारवाही वा स्पष्टीकरणको कामै छैन । कुनै अर्थ छैन ।

तपार्इंले विरोधाभाषजस्तो भयो भन्नुभयो, म त के भन्दैछु भने, ओलीजीले गरेका गल्तीहरूको कुरा गर्ने हो भने त्यस्तो पार्टी, जसलाई हामीले दक्षिण एसियाकै संगठित पार्टी भनेका थियौं । आज त्यो पार्टीलाई यो हालतमा पुर्याउनुभएको छ, यो एउटा कुरा हो । अर्को, नेपाली जनताले यो संविधान, लोकतन्त्र या स्थिरता यत्रो ७० बर्ष लडेर ल्याएको हो । यो कविता या गीत मात्रै होइन, यो वास्तविकता हो । अब मुलुक अगाडि बढ्छ भन्ने बेलामा ठूलो ऐतिहासिक अवसर थियो । हाम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, विकास, मान्छे भएर बाँच्ने कुराको, हाम्रा छोराछोरी हाम्रै मुलुकमा बस्ने कुराको, जातजाति, भाषा महिलाका लागि लोकतान्त्रिक व्यवस्थित समाज बनाएर अगाडि बढ्ने यत्रो सम्भावनालाई उहाँले ब्रेक लगाइदिनुभयो । एक हिसावले दुरुपयोग गरिदिनुभयो ।

यो सबै गर्दा पनि एक अर्थमा भन्दैछु– नेकपा एमालेको इतिहास कसैलाई बदला लिने मुख्य प्रवृति होइन । उहाँले गल्ती गर्नुभयो भन्ने कुराले हामीमा आवेग, आक्रोश र बदलाको भावना आउन सक्छ । तर, एउटा संस्थाका लागि जसमा लाखौं मानिसले काम गरेको र योगदान गरेको संस्था हो र भोलि मेरा सन्तान दरसन्तानलाई चाहिने महत्वपूर्ण संस्था हो भने यो संस्थामा मलाई रिस उठ्यो भनेर मैले ओलीका विरुद्ध जे पनि गर्छु भन्न मिल्दैन ।

ओलीले नै त्यसो गर्नुभयो भनेपनि त्यसबाट संस्थालाई बचाउनुपर्छ । ओलीका विचार वा प्रवृत्तिबाट संस्थालाई बचाउनुपर्छ । त्यसका लागि ओली स्वयंलाई अहिले पनि राखेर, लिडरकै रुपमा मानेर भोलि के हुन्छ, भन्न सकिँदैन, त्यो महाधिवेशनसम्म पनि जाला नजाला । सल्लाहले गरौँला । तर, एउटा यस्तो फोरम, मञ्च, हाम्रो कमिटीको व्यवस्था नै अवरुद्ध भएको छ, त्यसलाई खोलौँ र यो सबै कुरालाई कमिटीभित्र हालिदियौँ । त्यो कमिटीभित्र हालेपछि त्यहीभित्र लोकतान्त्रिक हिसावले राम्रैसँग छलफल गर्दा कमरेड ओलीलाई कुनै दिन यो सारा कृत्य प्रति पश्चात गर्ने बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ । यो भावना, आग्रह वा एमाले प्रवृत्ति भनौं, हामी यसैगरी आएका हौँ। त्यसकारण आजै सर्त राखेर सबै छोड्नुस् भनेर हामीले नभनेका हौं ।

अब माधव नेपाल समूहका बारेमा कुरा गरौं । एमालेको नवौँ महाधिवेशनमा केपी ओलीले माधवलाई हराउनुभएको हो । महाधिवेशनबाट हारेको नेताले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीलाई असहयोग गर्नुभयो भनेर ओली पक्षले भन्ने गरेको छ । अहिले माधव नेपालले दोस्रो अध्यक्ष मागेको भन्ने पनि सुनिएको छ । महाधिवेशन हारेको मान्छेले अध्यक्ष माग्नु कत्ति जायज हो ? पराजित भएको शक्तिले बहुमतलाई असहयोग गर्ने नीति कत्तिको सही हो ?

लोकतन्त्रको आम मान्यता जित्ने भनेको मनपरी गर्ने होइन । जित्नेका कर्म बैध हुनुपर्छ । जितेको पनि वैधानिक तरिकाले होला । चुनाव भयो, प्रचार–प्रसार भयो, मान्छेले भोट हाल्नु र जित्नु भनेको त व्यवस्था हो नि । त्यो व्यवस्थाबाट निस्केपछि उ त्यहाँबाट स्वछन्द हुन्छ, स्वतन्त्र हुन्छ, उसले कसैलाई पनि टेर्नुपर्दैन भन्ने होइन ।

कमरेड ओली वैधानिक व्यवस्थाभित्र मात्रै बसिदिएको भए नेकपा एमालेको जीवनमा मात्रै होइन, अस्ति अदालतबाट छुट्याइदिएको नेकपाको जीवनमा मात्रै होइन, यो मुलुककै जीवनमा धेरै ठूलो कुरा हुन्थ्यो ।

मैले धेरैपटक भन्दै आएको छु कि हामीसँग एउटा यस्तो व्यक्तित्व बन्दै गएको थियो–हाम्रो जस्तो भूराजनीतिक अवस्थामा त्यत्रा ठूला मुलुक भारत, चीनले गरेका विकास नेतृत्वको प्रभाव यीसँग हाम्रो सानै मुलुक भए पनि आँखा जुधाउन सक्ने खालको समकक्षीयता प्रदर्शन गर्न सक्ने ओली कमरेडको व्यक्तित्वको क्षय भयंकर ठूलो क्षय हो हाम्रा लागि । देशका लागि । कमरेड ओलीको व्यक्तित्वको क्षय हाम्रो पार्टी र आन्दोलनका लागि डरलाग्दो क्षय हो । हामी यो बचाउन चाहान्थ्यौं । तर, दुर्भाग्यले यो बचाउन सकेनौं ।  तर, अहिले फेरि यो पार्टी बचाउन सक्यौं भने एमालेको जुन जीवन शक्ति छ त्यसलाई हामी फेरि जगाउन सक्छौँ, र हामी अगाडि बढाउन सक्छौँ ।

यो क्रममा कमरेड ओलीले व्यवस्था भत्काइदिनुभयो । कस्तो स्थिति देखियो भने एकपटक मैले हाम्रो पार्टीको स्थायी कमिटीको बैठकमा, नेकपा बनेपछिको सम्भवतः पहिलो वा दोस्रो बैठकमा कमरेड ओलीलाई भनेको थिएँ तपाईँ यस्तो गुटबन्दी गर्नुहुन्छ, थुक, खकार, रगत सबै टेष्ट गरेर त्यो तीनवटै रिपोर्ट मेरै गुटको हो भन्ने नआइकन तपाईँ कसैलाई तपाईको गुटभित्र छिर्न दिनुहुन्न, तपाईले यसरी पार्टीलाई पनि गुट बनाउनुभयो भनेको थिएँ ।

यसरी पार्टीको व्यवस्था भत्काउन र राज्यका अरु पनि व्यवस्था भत्काउन थाल्नुभयो । तपाईले उठाउनुभएको प्रश्नको उत्तरमा म के भन्छु भने यो कारणले गर्दा कमरेड ओली सामान्य विधिमा चलिदिएको भए, सामान्य व्यवस्थामा चलिदिएको भए, सामान्य नियममा चलिदिएको भए, यो कुरा उठ्दैनथ्यो । पावर सेयरिङ भन्ने कुरा उठ्दैनथ्यो ।

व्यवस्था धेरै खल्बलिसकेपछि स्वयम् ओली कमरेडका नजिक रहेका मान्छेहरुले यो (दोस्रो अध्यक्षको) प्रस्ताव ल्याए । दुनियाँका अगाडि म तपाइँलाई प्रष्ट पार्न चाहन्छु कि दोस्रो वा अर्को अध्यक्ष वा नेकपा एमालेमा दुईवटा अध्यक्षका प्रस्ताव हाम्रोतर्फबाट सिर्जना गरिएको कुरै होइन । यो त स्थिति भत्किँदै, बिग्रँदै गएपछि स्वयं ओली कमरेडका नजिक रहेका कमरेडहरुले समेत अब यसरी हुँदैन, त्यहाँ एउटा चेक एण्ड ब्यालेन्स कुनै एउटा संयन्त्र हुनुपर्छ भनेर ओलीसँगै नजिक रहेका कमरेडहरुले यो प्रस्ताव ल्याउनुभयो र दुईवटा अध्यक्ष बनाएर जाऔँ भन्नुभयो ।

यसलाई वैधानिक हिसाबले भन्ने हो भने त्यो नेकपा एमालेको वैधानिक प्रवृत्ति होइन । तर, नेकपा एमाले स्वयं एकातिर र कमरेड ओली एकातिर हुनुभयो । यतिखेर कमरेड ओलीलाई नियन्त्रण गर्ने कुरा, नियन्त्रण गर्ने भन्ने कुरालाई कसरी बुझौँ भने ओलीका भेदभावबाट अरु तमाम पंक्तिलाई बचाउनका लागि यसमा जान सकिन्छ । किनभने, एमाले निर्वाचनमा जाने पार्टी हो, तिनको सुरक्षा कसरी हुन्छ । विधिले सुरक्षा गथ्र्यो, गरेको थियो । नेकपा एमालेमा त्यही विधिले सुरक्षा गरेर आएको हो । कमरेड ओलीले त्यो विधि भत्काइदिएपछि आमरुपमा कार्यकर्ताहरुको सुरक्षाको एउटा संयन्त्र यो तात्कालिक, क्षणिक, आवधिक व्यवस्था गरेर जाँदा पनि यदि व्यवस्था फर्किन्छ भने त्यो ठीकै हो भन्ने अर्थमा मैले त्यसलाई समर्थन गरेको हो ।

अब दुई अध्यक्षको प्रणालीका लागि विधान महाधिवेशन गरेर विधानमा संशोधन गर्ने कि ?

हो, त्यो व्यवस्थासम्म । यसलाई सिस्टममा फर्काउञ्जेल सम्मका लागि एउटा अन्तरिम व्यवस्थाका लागि जान सकिन्छ भन्ने अर्थमा मैले त्यसलाई नकारात्मक रुपमा लिन्नँ । तर, नेकपा एमालेको आफ्नो प्रवृत्ति यो होइन । यो वैधानिक कुरा, भनेको हाम्रो इतिहासमा यो वैधानिक कुरा होइन । तर, विधान त बनाउने हो । यो व्यवस्था बिग्रिसकेपछि के गर्ने भन्ने विषयमा एउटा अन्तरिम विधानको व्यवस्था गर्ने भन्ने अर्थमा अगाडि बढेको हो 

भनेपछि, यो दुई अध्यक्षको प्रस्तावचाहिँ ओलीपक्षकै नेताहरुबाट ल्याएको प्रस्ताव भए पनि अल्पकालीन रुपमा समस्या समाधानका लागि उपयुक्त हुनसक्छ भन्ने यहाँको बुझाइ हो ?

हो । त्यस अर्थमा मात्रै हो । तर, सधैं दुईवटा अध्यक्ष हुने, माथि दुईवटा भएपछि हरेक जिल्लामा दुईवटा चाहिन्छ, हरेक पदहरु दुईवटा चाहिन्छ भन्ने कुरा गलत हो । त्यसले गर्दा पदमात्रै बाँडेरचाहिँ समस्याको समाधान हुने कि भन्नेतिर हामी जान थाल्छौँ । झगडा गरे भने पद बाँडिदिने ।

तर, माधव नेपालले दोस्रो अध्यक्ष मागेका छन् भन्नुभयो नि त अध्यक्ष ओलीले ?

अहिलेको विभाजनमा म माधव कमरेड पक्षको मान्छे हुँ । यो प्रस्ताव मैले देख्दा मैले सुनेको अर्थमा भन्दा, मैले देखेको बाहेक अरु केही सत्य भए त मलाई थाहा छैन । तर मैले देखेको सत्य के हो भने यो प्रस्ताव कमरेड ओलीका नजिक मान्छेहरूबाट सुनेको हुँ मैले केही महिना अगाडि । केही महिना अगाडि यो त्यहाँबाट सुनेको हुँ र त्यहाँबाट सिर्जना भएको हो भन्ने मलाई लाग्छ ।

अघि यहाँले भन्नुभयो, केपी ओलीले गरेका गल्तीहरूको पश्चाताप गर्ने दिन आउँछ, त्यो भोलि मूल्यांकन गर्ने दिन आउला  । तर, यहाँले यस्तो भनिरहँदा ओली पक्षबाट चाहिँ जोडतोडका साथ के कुरा उठिरहेको छ भने आफ्नो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुँदाहुँदै विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा गएर हस्ताक्षर बुझाउने र उता गएर भोट हाल्ने जुन कर्म एमालेका नाममा गरियो, इतिहासमा यसको ठूलो मूल्य चुकाउनुपर्छ, यसको हिसाबकिताब हुन्छ र यसलाई इतिहासले माफी दिँदैन....। इतिहासमा ओलीले पश्चाताप गर्ने दिन मात्रै आउँछ कि तपाईहरुले पनि पश्चाताप गर्ने दिने आउला ?

तपाईले ठीक भन्नुभयो । वास्तवमा नेकपा एमालेको तल, हाम्रोमा त ठूलो पंक्ति जसको पार्टी सदस्यता नै छैन, तर खास पर्दा त्यो चुनाव आउँदा होस् वा संघर्ष हुँदा वा समाजमा पार्टीका तर्फबाट गर्ने राहत उद्धार जस्ता कुराहरुमा पार्टी सदस्य वा कमिटीका नेताहरु भन्दा पनि खटेर काम गर्ने कार्यकर्ताहरूको ठूलो पंक्ति छ, ती मान्छेहरु, ती साथीहरु, ती कमरेडहरु, तलबाट यसो बसेर हेर्दाखेरि आफ्नै पार्टीका सांसदहरु गएर अदालतमा मुद्दा हालेको, अर्को पार्टीका नेतालाई लगेर प्रधानमन्त्रीका लागि राष्ट्रपतिकहाँ निवेदन हालेको, यति मात्रै कुरा हेर्ने हो भने यो असाध्यै दारुण र दुःखद दृश्य हो । त्यो मात्रै पाटो हेर्ने हो भने हामीले असाध्यै अपराध पूर्ण काम गरेका हौँ ।

नियम कानुन कै हिसाबले हेर्ने हो भनेपनि मैले त सार्वजनिकरुपले भनेको छु, संसदीय मर्यादा, ह्वीप उल्लंघन जस्ता कुरा गर्ने हो भने त हामीले भयंकर ठूलो गल्ती गरेका हौँ, त्यो सबै मर्यादा हामीले तोडेका छौँ । तर, यसो भन्दाखेरि हामीले हेर्नुपर्ने कुरा के हो भने यो पार्टीको मात्रै मुद्दा रहेन, हिजो पनि, पहिलो विघटनपछि पनि र अहिले पनि ।

यो त तथ्य हो कि ७० वर्ष हामीकहाँ राजनीतिक स्थायित्व भएन, लोकतान्त्रिक स्थिरता हामीकहाँ भएन, अस्तिको संविधान बनेपछि हामीकहाँ लोकतान्त्रिक स्थिरता हुन्छ भन्ने थियो । त्यो संविधान बन्न नदिनका लागि कस्ता कस्ता शक्तिहरु लागेका थिए, दुनियाँका अगाडि प्रष्ट छ ।


संसदीय मर्यादालाई हामीले उल्लंघन गरेको हो । मैले धेरै कमरेडहरुलाई भनेको छु, म फेरि यो पार्टीको मामला मिलिसकेपछि पार्टीमा त म आँफैले, मेरो प्रस्ताव छ, कम्तिमा एक दिन भए पनि म अनुपस्थित भएको छु, राष्ट्रपतिकोमा गएको छु, म अदालत गएको छु, यस वापत मलाई एकदिन भए पनि एक घण्टा भए पनि निलम्बन गरियोस् । 


त्यो संविधान जारी गरेवापत हाम्रो छिमेकी मुलुकबाट हामीले ५÷५ महिनाको नाकाबन्दी व्यहोरेका छौँ । त्यो पनि कतिबेला भने भूकम्पले ढाड भाँचिएका बेला यो मुलुकमाथि नाकाबन्दी लगाइएको छ । त्यस अर्थमा यो त नाकाबन्दी गरेर हाम्रो हत्या गर्न खोजेजस्तो अवस्थामा हाम्रा छिमेकीले त्यो सम्मको कुकृत्य गरे । त्यसपछि प्रष्ट देखिन्थ्यो कि ती शक्तिहरु, जसले हामीलाई संविधान बनाउन र जारी गर्न दिन चाहँदैनथे, बनेपछि यसलाई भत्काउन चाहन्थे, तिनीहरु सक्रिय नै थिए र अस्ति पुसको ५ गते जुन विघटन भयो, यो त्यसैको निरन्तरता हो ।

के हामीकहाँ यो संविधान बाँच्न नदिने, यसका लागि के गर्नुपथ्र्यो भने संविधान पानीमा डुबाएर त हुँदैनथ्यो, संविधान च्यातेर फालेर मात्रै त हुँदैनथ्यो, संविधानले बनाएका संस्थाहरु भत्काउनुपर्थ्यो, संविधानलाई असफल पार्नका लागि सबैभन्दा ठूलो संस्था कुन हो भन्नका लागि संसद हो । त्यसलाई हानेर संविधानलाई असफल पार्नेतिर ती शक्तिहरुले काम गरे । ती शक्तिहरु कमरेड ओलीलाई त्यहाँ लैजान सफल भए भन्ने लाग्छ मलाईचाहिँ ।

जब दोस्रोपटक पनि यसो भयो भनेपछि यो कमरेड ओली नेतृत्वको संसदीय दलको मर्यादाको उल्लंघन होइन । हामीले गरेको त त्यो डिजाइनको, हाम्रो संसदलाई असफल पार्ने, हाम्रो संविधानलाई असफल पार्ने डिजाइनलाई असफल पार्नका लागि हामी कमरेड ओलीका आदेशको उल्लंघन गर्नुपर्ने ठाउँमा पुग्यौँ । कमरेड ओली नेतृत्वमा रहेको त्यो पार्टीको वैधानिक भनिन्छ भने, त्यो वैधानिकतालाई तोड्नुपर्ने ठाउँमा हामी पुग्यौँ ।

त्यस अर्थमा म स्वीकार गर्छु, मेरा संसदीय मर्यादालाई हामीले उल्लंघन गरेको हो । मैले धेरै कमरेडहरुलाई भनेको छु, म फेरि यो पार्टीको मामला मिलिसकेपछि पार्टीमा त म आँफैले, मेरो प्रस्ताव छ, कम्तिमा एक दिन भए पनि म अनुपस्थित भएको छु, राष्ट्रपतिकोमा गएको छु, म अदालत गएको छु, यस वापत मलाई एकदिन भए पनि एक घण्टा भए पनि निलम्बन गरियोस् । 

मेरो प्रस्ताव छ, कम्तिमा एक दिन भए पनि मैले संसदीय मर्यादा उल्लंघन गरेको छु, म अनुपस्थित भएको छु, राष्ट्रपतिकहाँ गएको छु, अदालत गएको छु । यस बापत मलाई एक दिन भए पनि, एकघण्टा भए पनि निलम्बन गरियोस् र एउटा व्यवस्था बनाइयोस् भन्ने कुरा कमरेड ओलीले त्यो ढोका खोल्नु भएपछि, पार्टी त्यहाँ गइसकेपछि म यो माग गर्नेछु । यही तत्परताका साथ कमरेड ओलीले आफूले गरेको कर्मको आत्मालोचना गर्ने तत्परताका साथ आउनुहुन्छ, ल्याइन्छ भन्ने विश्वासका साथ म यो सब कुरा गर्दैछु ।

भनेपछि, दुवै पक्षबाट आत्मालोचना हुनुपर्यो ?

यसरी पनि हेर्नुस्, नेपालमा यी दुईवटा विघटन छन्, जसलाई अदालतले पुनःस्थापित पनि गरेको छ । दुनियाँलाई थाहा छ, देशको सम्पूर्ण बौद्धिक, जागरुक, संविधान, अधिकार र कर्तव्य यति जानेको, बुझेको कुनै पनि मान्छेले अस्तिका विघटनहरु ठिक थियो भन्दैन । त्यसैले यी प्रमाणित कुराहरु हुन् । जब विघटन गलत थियो भन्ने कुरा वैधानिकरुपले, राजनीतिक रुपले स्थापित छन् भने त्यसबाट उत्पन्न परिस्थितिमा हामीबाट भएका कमी स्वीकार गर्न हामीलाई कुनै समस्या छैन । हामी यो कुरा स्वीकार गरेर जान्छौं । मचाहिँ यो कुरा स्वीकार गरेर जान्छु ।

घनश्याम भुसालमाथि अर्को पनि आरोप थपिएको छ, अदालतमा हस्ताक्षर बुझाउनुभयो, देउवालाई प्रधानमन्त्री बनाइयोस् भनेरै राष्ट्रपतिकोमा, अदालतमा हस्ताक्षर बुझाउनु भएको हो । विश्वासको मत दिने बेलामा चाहिँ तपाईले भोट हाल्नुभएन । योचाहिँ अलि अनैतिक भयो भन्ने आरोप छ । तपाईले जनाउनुभएको प्रतिवद्धतामा अन्तिम घडीमा आएर किन डराउनुभयो ?

अनैतिक र नैतिक भनेर तपाईले हेर्नुभयो भने यसका धेरै जटिलता छन् । किनभने हामीले देउवाजीलाई भोट हाल्नु नै अनैतिक भन्ने अर्को पाटो छ । त्यसपछि फेरि भोट नहाल्नु अर्को अनैतिक । भोलि उहाँले अर्को बिल लिएर आउनुहोला, त्यहाँ नहाल्नु अर्को अनैतिक भन्नुहोला । गर्दागर्दै मैले त काँग्रेसको सदस्यता नलिउन्जेलसम्म ‘लजिकल्ली’ हेर्ने हो भने मलाई अनैतिक बनाइरहन सकिन्छ । तर्क, प्रणाली यसरी बुझ्दै जानुभयो भने त्यहाँ जान सकिन्छ तर, हामी अदालत गएको दिन र त्यस पछाडि पनि हाम्रो चासो र सरोकार संसदको पुनर्स्थापना नै हो, संसद बचाउने हो ।

संसद बचाएर हामी संविधान बचाउन चाहन्छौं, संविधान बचाएर हामी लोकतान्त्रिक स्थिरता बचाउन चाहन्छौं, जुन कुरा हामीले भनेर आएका छौं । त्यसका लागि हामी अदालत गयौं । संसद पुनर्स्थापना भयो । त्यसमा मैले देउवाजीलाई भोट दिन गएको भए त्यस अर्थमा यो तार्किक नै हुन्थ्यो । मेरो काम संसद पुनर्स्थापना गर्ने हो, त्यस अर्थमा मेरो उद्देश्य संसद पुनर्स्थापना हो । संसद जोगिने कुरा पनि हो ।

जब मैले अन्तिमसम्म त्यहाँ बसेर हेरेँ । अब संसदमाथि कुनै खतरा छैन भन्ने भएपछि संसद त बच्यो, अब मैले भोट दिनु र नदिनुभन्दा पनि म तटस्थ बस्दा नै अबको मेरो कार्यभारका लागि सजिलो हुन्छ भन्ने लाग्यो । अबको मेरो कार्यभार भनेको पार्टी रक्षा गर्ने हो । मेरो संसदको त रक्षा भयो, तर अब मेरो पार्टी रक्षा गर्ने कामका लागि एउटा प्रस्थान विन्दु हो त्यो चाहिँ ।

हामी माधव नेपालको समूह भनेर जतिलाई चिन्छौं, तपाईहरु भित्र यति धेरै मतभिन्नता किन देखियो ? जस्तो, भीम रावलजीले राजीनामा नै दिनुभयो, तपाईहरुले भोट हाल्नुभएन, माधवकुमार नेपाल स्वयंले भोट हाल्नुभयो । ओलीजीले दपेट्दै लैजानुभयो र भोलि अर्को पार्टी बनाउनु प¥यो भने पनि तपाईहरु दायाँबायाँ फर्किने, एकता नहुने, समान बुझाइ पनि नहुनेजस्तो देखियो नि ?

म दुईवटा कारणले भन्छु । एउटा त, मैले धेरैपटक भनेको पनि छु जस्तो लाग्छ, अहिले कमरेड माधवसँग हामी जति छौं, यो एउटा व्यक्तिलाई अगाडि राखेर बनेको समूह नै होइन । माधव कमरेडसँग पार्टीमा जम्मा भएका हामी जति साथीहरु छौं, त्यो माथिदेखि तलसम्म हेर्नुहुन्छ भने आफ्ना मान्यतामा चल्ने मान्छेहरुको समूह हो । जोसुकैलाई हेर्नुस्, यो एकदम प्रस्ट छ ।

त्यस अर्थमा मैले माधव कमरेडलाई पनि कहिलेकाहीँ यस्ता मतभिन्नता हुँदा भन्ने गरेको छु कि– यसमा चिन्ता नगर्नुस्, यो त गणतान्त्रिकहरुको समूह हो । तपाईले लिड गरेको समूह गणतान्त्रिकहरुको समूह हो, यी सब गणतन्त्रवादीहरुको म नेता हुँ भनेर यसमा गौरव गर्नुस् ।

त्यस अर्थमा सबैले आम रुपमा आफैंले सोच्छन् । त्यसो गर्दा अहिले पार्टीको बिग्रेको, भत्केको, कमरेड ओलीको नेतृत्वमा जे भइरहेको छ, यसका प्रत्येक आलोचकहरूको यो टीम हो । कसरी बन्छ त भन्नेबारे हाम्रा अनेक मतभिन्नता छन् । यो कुरा स्वीकार गरेरै हामी अगाडि जाने गरेका छौं । यस अर्थमा यसलाई स्वाभाविक अर्थमा लिइदिनुहोला ।

दोस्रो, मैले के भन्ने गरेको छु भन्दा, हरिवंशको एउटा टेलिश्रृखंला छ– त्यसमा वडा अध्यक्ष राति सुतिरहेको हुन्छ, टोल छिमेकमा चोर पस्छ । अनि चोर आयो भनेपछि उनी जुरुक्क उठ्छन्, अन्तरवस्त्रमात्र लगाएको मान्छे जुरुक्क उठेपछि आफ्नो कपडा पनि फेला पारेनन् । हतारमा श्रीमतीको म्याक्सी लगाएर हिँडे । भागिरहेको चोरको पछि पछि दगुर्नुप¥यो । आफू म्याक्सी लगाएर दौडिरहेको छ । चोर समातेर पुलिसकहाँ बुझाउनु प¥यो । पुलिसकहाँ पनि म्याक्सी लगाएर गयो । त्यहाँ जाँदा अर्को कामले कोही मान्छे आइरहेको छ, त्यसपछि त्यहाँ पनि जानै प¥यो । यसरी एउटा जनप्रतिनिधि म्याक्सी लगाएर हिँडेको एउटा घटना चित्रण गरिएको छ ।


म दुईवटा कारणले भन्छु । एउटा त, मैले धेरैपटक भनेको पनि छु जस्तो लाग्छ, अहिले कमरेड माधवसँग हामी जति छौं, यो एउटा व्यक्तिलाई अगाडि राखेर बनेको समूह नै होइन । माधव कमरेडसँग पार्टीमा जम्मा भएका हामी जति साथीहरु छौं, त्यो माथिदेखि तलसम्म हेर्नुहुन्छ भने आफ्ना मान्यतामा चल्ने मान्छेहरुको समूह हो । जोसुकैलाई हेर्नुस्, यो एकदम प्रस्ट छ ।


हाम्रो पार्टीभित्र एकखालको संघर्ष चल्दै थियो–नेकपामा । पार्टी बिग्रेको, भत्केकोमा एक खालको चर्चा चल्दै थियो । त्यसका बारेमा क्रिया–प्रतिक्रिया चल्दै थियो । अचानक कमरेड ओलीले संसद विघटन गरिदिनुभयो । त्यसपछि हामीलाई हरिवंशले त्यही म्याक्सी लगाएजस्तो संसद बचाउनका लागि ज-याकजुरुक उठेर हिँड्नुपर्ने भयो । जे सोचेका थियौं, जे मान्यता थिए, जे विचार थिए, त्यही अवस्थामा विघटन विरुद्धका साथीहरु जुरुक्क उठेर हिँड्नुपर्ने अवस्था आयो ।

पछि अदालतले फागुन ११ गते पुनर्स्थापना हुने फैसला ग¥यो, फागुन २३ मा पार्टीको सन्दर्भमा फैसला ग¥यो । फेरि फागुन २८ मा कमरेड ओलीले अर्को निर्णय गरिदिनुभयो । फेरि उहाँले संसद विघटन गरिदिनुभयो । घटनाहरु एकपछि अर्को घट्दै गए । तर हामीले म्याक्सी निकाल्न पाएनौं । हामी अलिकति फ्रेस भएर, अलि समग्रतामा सोचेर जान पाएनौं । यसले गर्दा त्यो घटनामा एकै हिसाबले सोचेर महिनौं, वर्षौंदेखिको अन्तरविरोधहरु खारिँदै गएर, ध्रुवीकृत भएर हामी यतातिर लागेको भए पनि हाम्रा मतहरु एकै खालका हुन्थे होलान् । त्यो पनि होइन ! अर्को, स्वयं आफू आफूले सोच्ने मान्छेहरु यहाँ भएको हुनाले यी मतभिन्नताहरु छन् । यसका लागि चिन्तै नगर्नुस्, हामी आमरुपमा एकै ठाउँमा छौं ।

त्यसो भए भीम रावलजी अहिले तपाईंहरुबाट बाहिरिनुभएको छैन ?

छैन, मचाहिँ त्यो ठान्दिनँ । भीम रावल कमरेड जुन कारणले हामीसँगै हुनुहुन्छ भनेर हामीले भनेका छौं, त्यही कारणले उहाँ अन्त लाग्नुभयो, अन्त जानुहुन्छ भन्ने मलाई लाग्दैन ।

तपाईंसँग यति लामो कुरा गरिरहँदा अब नेकपा एमाले फुट्दैन भन्ने बुझे हुन्छ त ?

अब घटनाहरु हेर्दा, मान्छेले बोलेको सुन्दा माधव नेपालको शव बनाएर दाहसंस्कारका लागि शंख बजाएर हिँडेका मान्छे देख्दा कतिपय मान्छेको आफ्नो संस्कारअनुसार, उनले बनाएको आफ्नो निजी संस्कृतिअनुसार गरेका कर्म, विरोधका रुप हेर्दा, स्वयं हाम्रो ओली कमरेडले बार्दलीमा उभिएर गरेको ऐतिहासिक भाषण हेर्दा यो पार्टी जुट्छ भनेर कसैले पनि भन्दैन । मैले तपाईलाई भनेँ भने पनि म तपाईलाई ‘कन्भिन्स’ गर्न सक्दिनँ ।

तर, फेरि पनि इतिहास आफै एउटा जबर्जस्त शक्ति बन्छ । नेकपा एमाले, यसको इतिहास जबर्जस्त शक्ति हो । यसले फुट्न दिन्छ भन्ने म अहिले पनि स्वीकार गर्दिनँ ।

अहिले हामी अन्तरवार्ता गर्दैछौं, ओलीको नेतृत्वमा बैठक पनि बसिरहेको छ । त्यहीँबाट तपाईहरुलाई यही बेला कारवाही भइहाल्यो भने नि ?

त्यो कारवाही खारेज हुन्छ, जसरी यसभन्दा अगाडि खारेज भएका थिए । एकतालाई असर पर्ने, एकताविरोधी, एकतासँग नमिल्ने जुनसुकै कारवाही, स्पष्टीकरण, गालीगलौज बदर हुन्छन्, यी सबै खारेज हुन्छन् ।

बाहिरबाट हामीले हेर्दा माधव नेपालजी पनि अति नै ढिट गरेर बस्नुभएको जस्तो देखिने, उहाँलाईचाहिँ तपाईहरु मिलौं भनेर सम्झाउनुहुन्न ?

एकताको पक्षमा माधव कमरेड हुनुहुन्न भनेर बाहिर त्यस्तो लागेको छ भने त्यो देखिनेमात्र कुरा हो । हाम्रो यो सम्पूर्ण प्रयत्न नै एकताका लागिमात्र हो ।

माधव नेपालबिना मात्र एकता सम्भव छ भन्ने कुरा पनि सुनिँदैछ नि ?

यो त विभाजन गर्नेहरुको कुरा हो । दाइभाइ छुट्टिएर बाक्लो दाल खाने भन्ने छ नि, यो बाक्लो दाल खान चाहनेहरुको कुरा हो । त्योभन्दा बाहेक अरुले यो कुरा गर्दैनन् । ओलीजीले यत्रो बिगारिसक्नु भयो र त म ओलीविनाको एमालेको कुरा गरिरहेको छैन भने विचरा माधव नेपालले त त्यसको बारेमा टिप्पणी गरेको, कराएको र विरोध गरेकोमात्र न हो ।

तर, माधवकुमार नेपाल धेरै पर पुगिसक्नु भएको छ, देउवाजीसँग अरु धेरै सहमति पनि भइसके, त्यसले गर्दा उहाँ फर्केर आउने ठाउँ पनि रहेन भन्छन् नि मान्छेहरु ?

होइन, यस्तो छ । माधव कमरेडले एक्लै त केही गर्नुभएको होइन । हामी सबै छौं र त्यसको प्रतिनिधिका रुपमा उहाँले गर्दै हुनुहुन्छ । यदि नेकपा एमालेको एकताको प्रश्न हुन्छ भने यो सबै टीम एकताकै पक्षमा छ । यसअर्थमा त्यसको नेताका हिसाबले कमरेड माधवकुमार नेपाल कहीँ जानुहुन्छ र अलग, आफ्नो निजी केही धन्दा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।

यद्यपि, हामीलाई थाहा छ, हाम्रोजस्तो भूराजनीतिमा, हाम्रो जस्तो समाजको विकासको अवस्था छ, हाम्रो ‘दलाल पूँजीवाद’ को राज्यका, पार्टीका सबै क्षेत्रमा दारा, नङ्ग्रा गडिरहेको हाम्रो समाज जहाँ हाम्रो भूराजनीति पनि छ । यी दुईवटा मिलेपछि के गर्नुपर्ने हो, त्यो सबै गर्छ । यसले गर्दा कहिलेकाहीँ ती तत्वहरुले मलाई केही सूचना दिएर प्रभावित पार्ने, स्वयं माधव कमरेडलाई गर्लान्, अर्कालाई गर्लान् । हामी यसका लागि एकदमै सचेत छौं । हाम्रो भूराजनीतिमा, हाम्रो समाज विकासको यस्तो अवस्थामा दलाल पूँजीवादले कतै हामीलाई सूचना दिएर, प्रभावित पारेर, हाम्रै पक्षमा देखिने सूचनाहरु दिएर– गिरिजाबाबुको मन्त्रीमण्डलमा भएका साथीहरुले भन्नुहुन्थ्यो कि, गिरिजाबाबुले किन विघटन गरिदिएको रे भन्दा जहाँ जान्छन् नेपाली काँग्रेस भनेको छ, नेपाली काँग्रेस भनेको गिरिजाप्रसाद हो भनेको छ, गिरिजाको पछाडि दशौं हजार मान्छे छन् । अनि, किशुनजी र गणेशमानजी किचकिच गरिराख्या छन् । यी सबलाई स्वाद चखाइदिन्छु भनेर चुनाव गरेको, भरे उल्टो नतिजा निस्कियो ।

यस्तै गरी, यदि कसैले भड्काएर त्यसो गरे भने हामी त्यही भड्खालोमा जाने हो, त्योभन्दा झन् ठुल्ठुला भड्खालोमा जाने हो भन्ने कुरा त स्वयं माधव कमरेडलाई थाहा छ, हामीलाई थाहा छ, हाम्रो सबै पंक्तिलाई थाहा छ । जसले यो कुरा बुझ्दैनन्, तिनीहरुले उत्तेजक कुरा गर्छन्, गैरजिम्मेवार कुरा गर्छन्, फुटाउने कुरा गर्छन् र एकअर्कामा दोषारोपणको कुरा गर्छन् । माधव नेपालले यसो गर्दियो भनेपछि ओलीजी खुशी हुने, ओलीले यसो यसो ग¥यो, तपाईले सहन हुँदैन भनेपछि माधव कमरेड खुशी हुने, यस्तो बनाउने प्रपञ्च त गर्नेछन् तर मलाईचाहिँ त्यस्ता प्रपञ्च असफल पारिन्छ भन्ने लाग्छ ।

माधव नेपालबाहेक तपाईहरु मात्रै एमालेमा फर्किने सम्भावना कति छ ?

यो त एजेण्डा नै होइन । कसले, किन र के उद्देश्यका लागि यो उठाइएको छ भन्दाखेरी विभाजन गर्नाका लागि हो । किनभने मैमात्र गएँ भने पनि एउटा छाता राख्न सक्छु लोकतन्त्रमा । पार्टीको कुनै नाम राखेर समूह बनाउन सक्छु । तर यसो गरेर उही बाक्लो दाल खान्छु भन्नबाहेक के हुन्छ ? त्यसो भएकाले माधव नेपालविनाको नेकपा एमालेको कुरा किन असम्भव हो भने यस्तो हुँदाहुँदै पनि हामी कमरेड ओलीविनाको एमाले कुरा गरिराख्या छैनौं । त्यो पार्टीमा माधव नेपालविना एकताको कुरा कसैले गर्छ ? सम्भव हुने कुरा हो ? हुँदैन ।

अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुँदैछ रे भन्ने पनि सुनिन्छ नि ?

अध्यादेश एउटा प्यारासुट जम्पिङ हो, त्यो सधैँ मान्छेले गर्न चाहने कुरा होइन । तर नेकपा एमाले विभाजनको अर्थमा त्यतापट्टी हामीलाई लैजान स्वाभाविक रुपले धेरै प्रयत्न हुनेछ । काँग्रेसले त्यो प्रयास गरेमा पनि मैले किन अन्यथा ठान्दिनँ भने परम्परागत रुपमा नेपालका दुईवटा ठुला प्रतिस्पर्धी शक्तिहरु हुन्, एकले अर्कोलाई कमजोर पार्नेछन् र काँग्रेस त्यसका लागि इच्छुक हुनेछ । माओवादी पनि स्वाभाविक रुपमा इच्छुक हुनेछ । एकता प्रक्रियाका हिसाबमा एक हिसाबले ठगिएको पार्टी भन्छु म उसलाई । आफूले क्रान्तिकारी ठानेका कमरेडहरु आइदिएर अर्को एउटा गठबन्धन बन्छ भन्ने छ उसलाई । त्यो स्वाभाविक राजनीतिक प्रवृत्ति हो, त्यसलाई मैले विरोध गर्न जरुरी छैन ।

विदेशीहरुलाई पनि एमाले फुटाउन पाए हुन्थ्यो भन्ने होला नि ?

एउटा कुरा, कम्तीमा नेकपा एमाले पहिलो, त्यसपछि नेपाली काँग्रेस फुटाएरमात्र नेपालको लोकतान्त्रिक स्थिरतालाई खलबल्याउन सकिन्छ भन्ने शक्तिहरु धेरै बलिया छन्, असाध्यै बलिया शक्तिहरु छन् । एउटामात्र होइन, धेरै शक्तिहरु छन् । त्यसबाट हामी आफू बच्नुपर्छ र काँग्रेसलाई पनि बच्नका लागि प्रेरित गर्नुपर्छ ।

त्यस अर्थमा नेकपा एमाले फुटाउने तर्फ, यो तहमा सोच्ने कोही पनि काँग्रेस नेकपा एमाले फुटोस् भन्ने चाहँदैन । त्यो तहमा सोच्ने कोही पनि माओवादी एमाले फुटोस् भन्ने चाहँदैन भन्ने लाग्छ मलाई ।

हामीले लामो कुराकानी ग-यौं, अब घनश्याम भुसालसँग कुराकानी गरेपछि यो देउवा सरकार कस्तो हो ? यो कतातिर जाला भन्ने प्रतिक्रिया पनि लिनै प-यो नि ?

देउवा सरकार एउटा त ओलीजीले ‘टालाटुली बटुली’ भन्नुभएको छ । नेकपाकै करिब दुई तिहाईको सरकार चलिरहनु स्वाभाविक थियो । त्यसअर्थमा यो सरकार अस्वाभाविक रुपले बन्यो । यसले केही प्रतिवद्धताहरु गरेको छ । यसले हाम्रो मुलुकको लोकतान्त्रिक स्थिरता, हाम्रो आफैले निर्णय गर्ने, अझ पाँचजना पूर्वप्रधानमन्त्रीहरूको विज्ञप्ति हेर्नुभयो भने त हामी आफैले आफ्नो भाग्य निर्णय गर्न पाउने अधिकारको पक्षमा हामी लड्छौं भन्नुभएको छ । त्यसमा शेरबहादुर देउवाजीको नाम सबैभन्दा पहिला छ ।

यो कुरामा उहाँहरु टिकिरहन सक्नुभयो भने, बीपीबाट सिक्ने भनेको यो हो । बीपीबाट सिक्ने, हामीलाई बीपीले गाइड गरिरहनुभएको छ भनेर बीपी जयन्तीमा उहाँको तस्वीरमा माल्यार्पण गर्ने, फूल चढाउने काँग्रेसहरुले यति सोच्नुभयो भने धेरै ठुलो कुरा हुनेछ ।

मतभिन्नताहरु त हुनेछन्, किनभने काँग्रेस र नेकपा एमालेकै बीचमा मुख्य प्रतिस्पर्धा भएरै हाम्रो मुलुकको राजनीतिको दिशा तय हुन्छ । तर यो कुरा साझा कुरा हुनेछ, यदि शेरबहादुरजीले त्यो विज्ञप्तिमा टेक्नुभयो भने यसले काँग्रेस पनि पुनर्जीवित हुन्छ । काँग्रेसजत्तिको पार्टी त्यो व्यवस्थामा, यस्ता प्रतिवद्धतामा रहने कुरा भयो भने मुलुकका लागि पनि धेरै ठुलो कुरा हुनेछ भन्ने लाग्छ मलाई ।

हामीले नेकपा एमालेलाई पनि त्यहाँ लैजान्छौं । त्यसले गर्दा राष्ट्रिय हित, जनताको हित, यिनको अधिकार, संविधानको रक्षामा दुईवटा पार्टी एक ठाउँमा उभिए भने यिनका अरु अन्तरविरोधहरु, तलमाथिका कुरा छोडिदिनुस्, यो मुलुकका लागि धेरै ठुलो कुरा हुनेछ ।

अब यही सरकारले चुनाव गराउनुपर्ने देखिन्छ, त्यस अर्थमा एमाले यो सरकारमा सहभागी हुनु ठीक हो कि होइन ?

यसमा हामीले छलफल गरेका छैनौं । भोलि के हुन्छ भन्ने कुरा पनि मैले अघि भनेँ नि, यो भूराजनीति, समाजको विकासको यो अवस्थामा भोलि नै के कुरा हुन्छ, शक्तिहरुले भोलि नै कस्तो घटना घटाउँछन् भन्ने कुरा हेर्न बाँकी नै छ । तर, जेसुकै भए पनि हाम्रो संविधानबमोजिम, संविधानले व्यवस्था गरेका प्रक्रिया बमोजिम सबै शक्तिहरुले राम्रो भूमिका खेलुन् भन्ने मेरो पहिलो प्रतिक्रिया छ, यो देउवाजीले नेतृत्व गरेको सरकारमा पनि ।

मलाई त लाग्थ्यो, अस्ति नेकपा एमालेले संस्थागत रुपमा फ्लोरमा बसेर समर्थन गरिदिएको भए कमरेड ओलीको व्यक्तिगत छविका लागि पनि राम्रो कुरा हुन्थ्यो । त्यो कुरा कुनैबेला काँग्रेसले पनि हामीलाई गरेको थियो । २०५१ सालको हाम्रो सरकारलाई उसले समर्थन गरेको थियो । त्यसले पार्टीभित्रको कुरा मिलाउन पनि सजिलो पारिदिन्थ्यो, किनभने विघटन गल्ती हो भन्नेकुरा स्वीकार नगरी सुखै छैन । यदि विघटन गल्ती थियो भने पुनर्स्थापनापछि शेरबहादुर देउवालाई समर्थन गरिदिँदाखेरी यो स्थायित्वकै पक्षमा हुन्थ्यो । कमरेड ओलीले त्यहाँनिर अलि बुद्धि पु¥याउनुभएन कि भन्ने लाग्छ मलाईचाहिँ ।

आगामी दिनमा पनि हामी काँग्रेससँग त्यस्तो सम्बन्ध राख्ने छौं, जो प्रतिस्पर्धामा आधारित हुनेछ तर हाम्रो राष्ट्रिय हित, संविधानले गरेका संकल्प र गरेका व्यवस्थाभित्रै मात्र हाम्रो प्रतिस्पर्धा हुनेछ, त्योभन्दा बाहिर जाने कुरा हामी सोच्ने छैनौं, सोच्नु हुँदैन भन्ने लाग्छ मलाई ।

संसद विघटन गरेकोमा गल्ती भनेर ओलीजीले ‘रियलाइज’ गर्नुको साटो उहाँको समूहले सर्वोच्च अदालतले गरेको निर्णयको देशव्यापी भण्डाफोर गर्ने भनेर निर्णय गरेको छ, अब एमालेले अदालतको निर्णयको देशव्यापी भण्डाफोर गर्छ कि संसद विघटन गर्नु गल्ती थियो भनेर कुनैबेला ‘रियलाइज’ गर्छ ?

हामीले ५२ सालमा पनि ‘सत्ता नछोड एमाले, ज्यान दिन तयार छौं’ भनेर नारा जुलुस गरेका हौं । राजनीतिले त्यो गर्ने बाटो छोडिसकेको छ । अहिले पनि जनताको बहुदलीय जनवादको कुरा गर्ने, कानुनको सर्वोच्चताको कुरा गर्ने, स्वतन्त्र न्यायालयको कुरा गर्ने, शक्ति पृथकीकरणको कुरा गर्ने, त्यसलाई जनताको बहुदलीय जनवाद भन्ने अनि पुत्ला चाहिँ प्रधानन्यायाधीश र सर्वोच्च अदालतको जलाउने कुरा कति दिन टिक्ने कुरा हो ? यो आवेगको कुरामात्र हो । यो दुई दिनको आवेग हो । यो आउनै नहुने कुरा हो । यत्रो वर्ष अभ्यास गरिसकेर पनि नेकपा एमालेमा आउनै नपर्ने बुद्धि हो यो । यस्तै रहेमा यसले पाइला पाइलामा ठेस खान्छ, यसले ठेस लाग्छ । यो छोडिन्छ, यो तत्कालको कुरा हो, यसमा चिन्तै नगरौं ।

भिडियो हेर्नुहोस्

कमेन्ट

  1. July 23, 2021, 1:52 p.m. Himal Sharma
    He is one of the intellectual & Visionary leader of Nepal. As we all know no one like good person. People will like corrupted mind, moral less ,mafia personality like KP. We can see all reaction from KP oli"s Aringale /Cyber Jackals. He should start new non communist party ( Social Democratic Party). Communist is failed all over the world & in Nepal as well. They have no chance to come back in Power in Nepal.
  2.  0 Reply
  3. July 22, 2021, 9:50 p.m. manoj
    mal ayepugo??? Failure person
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।