शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भावुक हुँदै यशोदा सुवेदीले गृहमन्त्रीलाई सोधिन्– के मनाङ झड्केलो छोरो हो ?

बिहीबार, ०७ साउन २०७८, १८ : १३
बिहीबार, ०७ साउन २०७८

माओवादी केन्द्रकी सांसद यशोदा सुवेदीले मनाङमा भएको प्राकृतिक प्रकोपप्रति सरकारले आँखा चिम्लिएको गुनासो गरेकी छिन् । बिहिबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मनाङलाई सरकारले झड्केलो छोराको व्यवहार गरेको आरोप लगाइन् । 

विपद् व्यवस्थापनका लागि सरकारले गरेको काम कारवाहीबारे भएको छलफलमा उनले भनिन्– ‘सिन्धुपाल्चोक र मनाङमा उस्तै बाढी पहिरोले क्षति पुर्याएको छ । मेलम्ची नजिक भएकोले अध्ययन अनुसन्धान भएको छ । मनाङको सवालमा अध्ययनमा के अध्ययन छ । समाजमा प्रचलित शब्द झड्केलो छोरो हेलाको भन्ने छ । के मनाङ झड्केलो छोरो हो ? आज मनाङका जनताले यसरी नै सोधिरहेका छन् ।’

उनले मर्स्याङ्दी नदीको मुहानदेखि उर्लँदै आएको बाढीले खोलादेखि १५ मिटर माथि रहेका वस्तीहरूमा ठूलो जनधनको क्षति पुर्याएको बताइन् । राष्ट्रिय विपद प्राधिकरणले बाढी पहिरोले घर क्षति पुर्याएकाहरुलाई राहत स्वरुप ५० हजार दिएको बताए पनि मनाङमा हालसम्म नपुगेको उल्लेख गरिन् । 

उनले भनिन्–‘ मोटर बाटो पहिलेदेखि नै बन्द भएको छ । झोलुङ्गे पुल बगाएर पैदल बाटो पनि बन्द भएको छ । जता जता हेलिकप्टरले बाटो देखायो त्यतै त्यतै मन्त्री जाने हो ?’ उनले लमजुङको बेसी शहरदेखि मनाङको चामेसम्म सडक अवरुद्ध भएको, बिद्युत टेलिफोन सेवा समेत बन्द भएकोले त्यो ठाउँमा कति क्षति भयो त्यसको विवरण समेत नआएको बताउँदै तत्काल सरकारले सो स्थानको अध्ययन गर्नुपर्ने उल्लेख गरिन् । 

सांसद सुवेदीको प्रश्नको जवाफमा गृहमन्त्री बालकृष्ण खाँणले भोलि नै हेलिकोप्टर मार्फत विज्ञ टोलीलाई मनाङ पठाउने तयारी गरेको जानकारी गराए । गत असारमा परेको अविरल वर्षाबाट मनाङमा बाढी पहिरोबाट सडक, पुल, घर, विद्यालय लगायतका भौतिक संरचनाका साथै जनधनको क्षति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप