बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित भवन उद्घाटन

बुधबार, ०६ साउन २०७८, १८ : ५५
बुधबार, ०६ साउन २०७८

बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका– ११ सिमलटारमा निर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार उद्घाटन गरेका हुन् । बागमती प्रदेश सरकारको कुल २ करोड ४४ लाख १७ हजार रुपैयाँ लागतमा गत २०७७ असार ११ गते निर्माणका लागि शिवालय बिल्डर्स प्रा.लि.पोखरी चौरी काभ्रेले ठेक्का सम्झौता गरेको थियो । 

कुल ४ हजार ८ सय ८० दशमलव ७९ वर्ग फिट क्षेत्रफलमा उक्त भवन रहेको छ । यो प्रदेश सरकार स्थापना पश्चात प्रदेश सरकारको लगानीमा निर्माण गरिएको पहिलो भवन हो ।

मुख्यमन्त्रीको ठेकेदारसँग गुनासो 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण व्यवसायीहरुले समयमा काम सम्पन्न नगर्दा प्रदेश सरकार समस्यामा पर्दै आएको बताएका छन् ।  उनले निर्माण कम्पनीहरुको लापरबाहीका कारण प्रदेश सरकारले अपजस व्यहोर्नुपरेको भन्दै दुःखेसो गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले निर्माण व्यवसायी कम्पनीले तोकिएको समयभित्र आफ्नो जिम्मेवारी पुरा नगर्दा त्यसको अपजस आफुहरुले खेप्नुपरेको गुनासो गरे । ‘यहाँ धेरै ठेकेदारहरूले पूर्वाधार निर्माणको काम अलपत्र पार्ने गरेका छन् । हामीले योजना बनाउने बनाएकै छौँ । निर्माणको लागि ठेक्का सम्झौता गरेकै छौं । उनीहरु निर्माणको काम अलपत्र पारेर वेपत्ता हुन्छन् अनि जनताले सरकारले कामै गरेन भन्दै हामीमाथि नै आक्रोश पोख्ने गरेका छन् ।’ उनले भने ।
सरकारको काम नीति निर्माण गर्ने, योजना बनाउने भएपनि ती योजनाको कार्यान्वयन गर्ने जिम्मा कर्मचारी, निर्माण व्यवसायी र सरोकारवाला निकाय भएको उनले बताए । 

उनले ठेकेदार कम्पनीकै लापर्वाहीका कारण हेटौंडा ९ र १३ जोड्ने कुखरेनी खोलाको पुल विगत ८ बर्षदेखि अलपत्र अवस्थामा रहेको र प्रदेशसभा सचिवालयको सभाहल निर्माण सुरु गरेको वर्ष दिन बितिसक्दा जगसमेत उठाउन नसकिएको भन्दै सरकार गम्भीर समस्यामा पर्दै आएको गुनासो गरे । 

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ र १२ जोड्ने पुल शिलान्यास गरेको  ७÷८ महिनामै करिब ६० प्रतिशत काम सम्पन्न भएको भन्दै अन्य निर्माण कम्पनीले त्यसबाट सिक्नुपर्ने बताए ।  उनले सरकारले मात्रै चाहेर केही पनि नहुने भन्दै मुलुक समृद्ध बनाउनका लागि सबै राजनीतिक दल, क्षेत्र, सरोकारवाला निकाय र आम जनताको सहभागितामूलक सहयोग अपरिहार्य रहेको बताए । 

मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार ५ वर्ष टिक्छ : मन्त्री फुयाल 

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार ५ वर्षसम्म टिक्ने दावी गरेका छन् ।  मन्त्री फुयाँलले प्रदेश तहमा राजनीतिक स्थिरतालाई हटाउनका लागि पनि मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार परिवर्तनको कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । 

उनले बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत भएको र आधिकारिक रुपमा नेकपा एमाले विभाजन नभएकोले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार यथावत रहने र जनताप्रति उत्तरदायी भएर काम गर्ने दावी गरे । 
नेकपा एमालेको आन्तरिक विवादका कारण केन्द्र सरकारमा नेतृत्व फेरबदल भएकोले प्रदेशमा सरकार परिवर्तनको हल्ला चल्नु स्वभाविक भएपनि हल्लाको पछि नलागी सरकारको राम्रा गतिविधिमा सहयोग पुर्याउन उनले आग्रह गरे । 
उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारकै पालामा सुरुङ युगको घोषणा गरेअनुसार प्रदेश सरकारले सुरुङ मार्ग निर्माणको कामको नेतृत्व गरिरहेको बताए । उनले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको कामले पूर्णता दिन आवश्यक तयारी भइरहेको भन्दै आगामी केही दिनभित्रै निर्माण कार्य सुरु गर्न ग्लोबल टेण्डर गर्ने तयारी भइरहेको बताए ।

उनले सुरुङ मार्गको इतिहासलाई कायम राख्न १ सय ४ वर्ष पुरानो  चुरियामाई सुरुङलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्नका लागि माउन्टेन इन्फ्रा कम्पनीसँग सम्झौताको तयारी भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप