बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन

बुधबार, ०६ साउन २०७८, १६ : ५७
बुधबार, ०६ साउन २०७८

यसवर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेँलो चुरा, पोते, मेहन्दी र पहेँलो कपडाले सजिएको छ । तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । महिला दिदीबहिनीले हातमा मेहन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो ।

यसपटक कोरोनाका कारण भनेजति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताए । लकडाउन खुलेपनि कोरोनाको डरले गर्दा मानिस घरमै थुनिन बाध्य भएकाले व्यापार सन्तोषजनक हुन नसकेको लामिछानेले बताए । उनले यसवर्ष साउनको पहिलो साता वितिसक्न लाग्दा पनि गत वर्षको तुलनामा ७/८ प्रतिशत मात्र व्यापार भएको बताए । सबैलाई कोभिड विरुद्धको भ्याक्सिन लगाउन सके व्यापार आशा गरे अनुसार हुने विश्वास उनको छ ।
उनले भने– ‘मानिसको कमाइ छैन, कसरी किन्न आउनु ? गत वर्षको तुलनामा यस वर्षको बजार धेरै डाउन छ । सरकारले कोभिड विरुद्धको भ्याक्सिन लगाउन सक्यो भने अलि बढ्थ्यो कि ?’

त्यस्तै असनकै अर्की व्यापारी निरु भट्टराईले साउन महिना परापूर्वकालदेखि शिवजीको पूजा आराधना गरेर मनाइने भएकोले हरियो चुरापोते र मेहन्दी लगाएर मनाइने गरेको बताए । प्रकृतिले नयाँ स्वरुप परिवर्तन गर्ने महिनाको रुपमा परिचित साउनमा महिलाले हातमा मेहन्दी र हरियो चुरा लगाएर महिनाभर महादेवको पूजा आराधना गर्दछन् ।

प्रकृति हरियालीमा रमणीय देखिने भएकोले आफ्नो श्रृंगारलाई प्रकृतिको हरियालीसँग मिसाउँदै साउन महिनामा शिवजीको पूजा आराधना सहित व्रत बस्ने गरिन्छ । यसरी व्रत बस्न पाउँदा महिला दिदीबहिनीहरु उत्साहित हुने गर्दछन् । यो महिना भगवान शिवको प्यारो महिना भएकोले प्रकृति अनुरुप हरियो पहिरनमा श्वेत अक्षता, बेलपत्र, धतुरो, नरिवल चढाएर पूजा गरेमा सम्पूर्ण मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप