डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद : महसुल नतिर्नेको लाइन काट्ने तयारी

नेपाल विद्युत प्राधिकरणले असार मसान्तसम्म बक्यौता महसुल तिर्न बाँकी रहेकाहरूसँग असारसम्म प्रतिवद्धता माग गरेपनि हालसम्म ५ वटा कम्पनीले मात्रै आवेदन दिएका छन् ।
पछिल्लो पटक प्राधिकरणले २०७८ को असारपछि मात्रै डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौता महसुल उठाउने निर्णय गरेको थियो । यसका लागि तिर्ने प्रतिवद्धता जनाउन भनेको थियो । तर, उद्योगी व्यवसायीले सो महसुल नतिर्ने जनाउँदै आएकाले प्रतिवद्धता समेत न्यून रहेको प्राधिकरणले जनाएको छ । असारभित्र महसुल तिर्ने गरी प्रतिवद्धता नजनाउने ग्राहकको यही साउनबाटै लाइन काट्न सुरु गरिने प्राधिकरणले भनेको छ ।
डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न तयार गरिएको अध्ययन प्रतिवेदन मन्त्रिपरिषदले पारित गरेको लामो समय भएपनि कार्यान्वयन हुन सकेको छैन ।
प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले किस्ताबन्दीमा महसुल तिर्न चाहनेलाई निवेदन दिने भनिएको तर अधिकांशले निवेदन नदिएको बताए । उनी भन्छन्, ‘अहिलेसम्म उनीहरुले तिर्नुपर्छ । यदि तिर्न सक्दैनौँ किस्तामा तिर्छौ भन्ने चाहनुहुन्छ भने निवेदन दिनुपर्यो । होइन भने अन्तिम विकल्प लाइन काटिने नै हो ।’
अहिलेसम्म प्राधिकरणले छुट दिने निर्णय नगरेको र बरु किस्ताबन्दीमा तिर्न निवेदन दिनसक्ने सुविधा दिएको उनले बताए ।
ऊर्जा मन्त्रालयका तत्कालिन सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय २०७७ साउन १९ को मन्त्रिपरिषद् बैठकले गरेको थियो । समितिले डेडिकेटेड लाइनको विवादलाई तीन खण्डमा विभाजन गरेर समाधान गर्ने विकल्प प्रस्तुत गरेको थियो ।
२०७२ असार १२ गतेबाट प्राधिकरणको सञ्चालकले डेडिकेटेड र ट्रंक लाइन सुविधाबारे निर्णय गरेर कार्यान्वयन गर्ने निर्णय गरेर डेडिकेटेड लाइन बाँडेको थियो । जतिबेला १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । २०७५ वैशाख ३१ बाट देशमा लोडसेडिङ हटेपछि गत असार १ मा विद्युत नियमन आयोगले डेडिकेटेड लाइनको व्यवस्था खारेज नगर्दासम्मको अवधिको विवाद समाधान गर्ने जिम्मेवारी पाएको छ ।
सार्वजनिक लेखा समितिले पनि गत चैतमा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्रमा उठाउन सरकारलाई निर्देशन दिएको थियो । नियमित विद्युत आपूर्ति नभएको समयमा उद्योगले लिएको डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल १० अर्ब रुपैयाँ भन्दा बढी उठाउन बाँकी छ ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग ट्रंक तथा डेडिकेटेड लाइन विद्युत महसुल विवाद समाधान गर्न उद्योगी व्यवसायीले भेटेरै आग्रह गरेका छन् ।
यता मन्त्री भुसालले पनि ट्रंकलाइन तथा डेडिकेटेड विद्युत महसुल विवादमा कानुनी विधि एवं प्रक्रिया बुझेर निर्णय लिने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी