सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

नागरिकता ऐन पास नगरे संसद भवन अगाडि धर्ना दिने

बुधबार, ०६ साउन २०७८, १२ : ५१
बुधबार, ०६ साउन २०७८

विभिन्न कारणले नागरिकता पाउन नसकेकाहरुले संसद भवनको गेटमा धर्ना दिने चेतावनी दिएका छन् । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पुनःस्थापित प्रतिनिधि सभाले नागरिकता ऐन पास नगरे आन्दोलन गर्नेदेखि मृत्युवरण गर्नेसम्मको चेतावनी दिएका हुन् ।

धनुषाका इन्द्रजित साफीले २०७२ सालदेखि नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय धाएपनि अहिलेसम्म नागरिता पाउन नसकेको समस्या पोख्दै अब संसद भवनको गेटमा धर्ना बस्नुको बिकल्प नभएको बताए । उनले नागरिकता नपाई मर्नुपरे पनि संसद भवनकै गेटमा मर्ने भन्दै संसदले नागरिकता ऐन पास नगरेको भन्दै दुखेसो व्यक्त गरे ।

इन्जिनियरिङ अध्ययन गरेका साफीका परिवारका ५ सन्तानले नागरिता पाउन सकेका छैनन् । आमाले नेपालको बंसजको आधारमा नागरिकता पाएको भएपनि बाबुको जन्मसिद्धका आधारमा नागरिकता भएकाले आफूलाई नागरिकता नदिइएको उल्लेख गरे ।  

उनले भने, ‘आमाको बंशजको आधारमा नागरिकता छ, बुवाको जन्मसिद्धको छ, तर कानुन नबनेको भन्दै उनलाई नागरिकता दिइएन । अदालतमा मुद्दा हाले पनि तारेखमाथि तारेख दिने गरेको छ । अब नागरिकता पीडितहरु जम्मा भएर संसद भवन धर्ना बस्छौँ, अब मर्नुपरे पनि संसद भवन अगाडि मर्छौँ ।’

उनले नागरिकता नहुँदा नेपालमा अध्ययन गर्न नपाएको बताउँदै ऋण गरेर भारतमा गएर पढ्नुपरेको बताए । अध्ययन सके पनि नागरिकता नभएकै कारण बेरोजगार हुनुपरेको उनको गुनासो  छ ।

काठमाडौं गोकर्णेश्वरका यावेश अधिकारीले पनि नागरिकता प्राप्तिका लागि ७३ सालदेखि प्रयास गरिरहेका छन् । सानैमा उनका बुवाले छोडेर गएपछि उनको जन्मदर्तामा बाबुको नामको ठाउँमा ‘थाहा नभएको’ लेखिएको थियो । उनी आमाको नामबाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालय गए तर, बाबुको नाम नभई नागरिता दिन मिल्दैन भनियो ।

उनले भने, ‘साथीहरु अहिले लोकसेवाको परीक्षा दिइएरहेका छन् । नागरिकता नभएका कारण मैले परीक्षा दिन नपाउँदा चित्त दुख्छ । आफ्नै देशमा अनागरिक भएर बस्नुपर्दा ठूलो पीडा हुन्छ ।’

सर्लाहीकी अञ्जली शाहका बाबुले जन्मसिद्धका आधारमा नागरिकता पाएका छन् । जन्मसिद्धका सन्तानलाई कस्तो नागरिकता दिने भन्नेबारे कानुन नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले उनलाई नागरिकता दिन मानेन् । उनले पनि नागरिकता नहुँदा अध्ययनका लागि समस्या भएको, लोकुसेवा आयोगमा परीक्षा दिन नपाएको, सवारी लाइसेन्स निकाल्नका लागि पनि नागरिकता माग्ने गरेको, जागिर खानका लागि पनि समस्या भएको सुनाइन् ।

भरतपुरका विकास नेपालीको  पनि उस्तै समस्या छ । विकास ६ महिनाको हुँदा उनका बाबु घरबाट बेपत्ता भए । २४ बर्षका नेपालीलाई आफ्नो बाबुको बारेमा केही थाहा छैन् । आमाको बंसजको आधारमा नेपाली नागरिकता भएका कारण उनले आमाको नामबाट नागरिकता लिन खोजे तर नागरिकताका लागि सिफारिस समेत पाउन मुस्किल परेको उनले बताए ।

उनले भने, ‘बाबुको केही पनि जानकारी नभएको भन्दै नागरिकता दिन मानिएन । जन्मदर्ता गर्न पनि मानेको थिएन । सिफारिस पाउनै सुरुमै समस्या भयो । म  ६ महिना हुँदा बुवा घरबाट निस्केर गएको रे । कहाँ खोज्न जाने ? ८ बर्ष धाउँदा पनि  नागरिकता बनेन । आमाको पनि मृत्यु भएको पनि २ बर्ष भयो । अहिले त साक्षी बस्ने आमा पनि छैनन् ।’

नागरिकता नहुँदा पनि अध्ययनमा पनि समस्या भएको उनले बताए ।  मुद्दा हालेर नागरिकता पाउन पनि मुद्दा हाल्न खर्च पनि नभएको भनदै बिहेपछि श्रीमतीलाई पनि नागरिकता दिलाउन समस्या भएको उनले बताए । बिहे गरेकोले श्रीमतीलाई उनका बाबु आमाको नामबाट नागरिकता बनाउन खोज्दा पनि नमिल्ने भन्दै फर्काइदिए । उनकी एक छोरीको पनि जन्मदर्ता हुन् सकेको छैन् । उनका दाइको परिवारको पनि त्यस्तै समस्या छ ।

उनका बाबु बाग्लुङको हो भन्ने सुनेका छन् । समाजले उनलाई बाबु बिनाको छोरा भनेर घोचपेच गर्ने गरेका छन् । जग्गा दलालहरूले आमाको जग्गा समेत हडपेको उनले बताए । उनले भने, ‘ललितानिवासको जग्गा त बाँकी राख्दैनन भने हामी जस्ताको जग्गा के बाँकी राख्थे । नागरिकता नहुँदा जागिर खान पनि समस्या छ । कतिपयले त मलाई भारतीय नागरिक भनेर लान्छना समेत लगाउने गर्छन् ।’

गीता श्रेष्ठ (नाम परिवर्तन) पनि नागरिकता नपाउँदा समस्यामा परेकी छिन् । बाबुले सानैमा छाडेपछि उनकी आमाले दोस्रो बिहे गरिन् ।  आमाकी बहिनी ज्वाइँले उनलाई पाल्ने, पढाउने काम गरे । जब २०६४ सालमा उनले एसएलसी  गरिन, उनले आफूलाई पाल्ने पढाउने सानाबा सानीमालाई नागरिकता बनाइदिन भनिन् । तर, उनीहरुले टार्दै गए । अहिले २९ बर्षकी भएकी उनलाई अहिले आएर जन्मदर्ता पनि गर्दिनँ, नागरिता पनि दिन्नँ भन्न थालेका छन् । स्कूल, क्याम्पसको प्रमाणपत्रमा पनि बाबुको नामका ठाउँमा उनका सानाबाको नाम छ ।

सानाबाका दुई श्रीमती रहेका र परिवारका कारण समस्या पर्ने उनले बताउँदै नागरिकता दिन नसक्ने बताउँदै आएका छन् ।

उनले भनिन्, ‘जसले पाले, पढाएर यहाँसम्म ल्याए तर उनले नागरिकता दिन चाहेनन् । उनको परिवारमा अंशबण्डा पनि भइसकेको छ, सम्पतिमा कुनै हक नलाग्ने भनेर सही गर्छु पनि भनेको छु । सबैले बिहे गर नागरिकता बनाउन सजिलो हुन्छ भनेर सुझाव दिने गरेका छन् ।’

तर, आफू केही बनेर मात्र बिहे गर्ने उनको सोच छ । नागरिकता नहुँदा  बिदेश जाने सोच भएर पनि जान नपाएको, नेपालमै पनि काम गर्न नपाएको बताइन् ।

जनकपुरका चन्दन मुखर्जी १० बर्षदेखि नागरिकताका लागि लागिपरेका छन् । उनकी आमाको बंशजको आधारमा नागरिकता छ, तर बाबुले उनले नागरिकता बनाएका थिएनन् । बाबुको निधन भएकाले आमाको नामबाट नागरिकता पाउन उनले प्रयास गरे तर पाउन सकेनन् । उनले नागरिकता नभएका कारण डिप्रेसन हुँदै गएको बताए । ३० बर्षको उमेर हुँदा पनि नागरिकता नपाउँदा मर्नु कि बाँच्नु जस्तो अवस्थामा पुगेको बताए ।

संविधानमा व्यवस्था छ, तर कार्यान्वनमा समस्या

आमाको नामबाट पनि नागरिकता पाउने संविधानमा व्यवस्था भएपनि कानुन नबन्दा समस्या भएको महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए । साथै सर्वोच्च अदालतबाट नजिर स्थापित भएपनि जिल्ला प्रशासन कार्यालयहरूले कार्यान्वन नगर्ने गरेको उनले बताए ।

संविधानको धारा ११ को उपधारा ३ ले जन्मसिद्ध नागरिकका सन्तानले पनि नागरिकता पाउने व्यवस्था गरेको, संविधानको धारा ३८ मा महिलाको अधिकार अन्र्तगत मौलिक हकका रुपमा महिलाको पनि वंशीय अधिकारको व्यवस्था रहेकाले सो आधारमा पनि आमाको नामबाट नागरिकता दिनुपर्ने उनले बताए ।

संविधानको धारा १२ मा बाबु वा आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्था रहेको, विपना बस्नेतले आमाको नामबाट नागरिकता पाएको लगायत अन्य धेरैले आमाको नामबाट नागरिकता लिएको सर्वोच्च अदालतको निर्णयको नजिर रहेको छ श्रेष्ठको भनाइ छ ।  

संविधानको धारा १० मा कुनैपनि नेपालीलाई नागरिकता प्राप्त गर्ने हक हुनेछ भन्ने व्यवस्था गरेको, धारा ३ सय ४ ले संघीय संसद बसेको १ बर्षभित्र संविधानसँग बाझिने कानुन निस्तेज हुनेछ भन्ने व्यवस्था गरेको र संविधान बनेको ५ बर्षसम्म पनि नागरिकता कानुन नआउनु दुःखद रहेको श्रेष्ठले बताए ।

केपी ओली सरकारले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश गत साउन ३ गतेको प्रतिनिधि सभा बैठकमा शेरबाहादुर देउवा नेतृत्वको सरकारले पेश गरेको छ । अर्कोतिर संसदीय समितिबाट पास भएको नागरिकता सम्बन्धी विधेयक भने अलपत्र अवस्थामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप