शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले चामेको झोलुङ्गे पुल बगायो : आवतजावतमा सकस

बुधबार, ०६ साउन २०७८, १२ : ४५
बुधबार, ०६ साउन २०७८

मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । 

गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आज चामेको झोलुङ्गे पुल पनि बगाएपछि यात्रा झन सकस बनेको हो ।
 
माथिल्लो मनाङ जोड्ने उक्त पुल बिहान आएको बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “सडक सञ्जाल विच्छेद भए पनि झोलुङ्गे पुलले सहज बनाएकोमा त्यो पनि बगाएपछि अझ सकस भयो,” उनले भने, “अन्यत्र केही ठाउँमा बनाएको काठका गोरेटो बाटोसमेत मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । वर्षात् कम हुँदा सहज हुन्छ की भन्ने आश लागे पनि पुनः वर्षा हुँदा समस्या जटिल बन्दै गएको छ । ”

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पुर्याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । “यस पटक प्राकृतिक विपत्तिले पनि मनाङलाई धेरै कष्ट दिएको छ, अब विस्तारै कम होला भन्यो, फेरि समस्या आउँछ, त्यसै त सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्थामा छ,” उनले भने ।

चामेको मोटरेबल पुलमा भने हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर वस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ । यसअघि नै आएको बाढी पहिरोले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप