शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठक : २४ घण्टा पुरा नभएको भन्दै माधव समूहलाई कारबाहीबारे निर्णय भएन (भिडियो)

प्रदेश अध्यक्षहरूद्वारा पार्टी अवस्थाबारे ब्रिफिङ
मङ्गलबार, ०५ साउन २०७८, १९ : १६
मङ्गलबार, ०५ साउन २०७८

नेकपा एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरूलाई कारबाहीबारे मंगलबार कुनै पनि निर्णय गरेन । सोमबार बैठकको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए । नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरूले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिए ।

आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरूले ब्रिफिङ गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । सातै प्रदेशका अध्यक्षहरूले आफ्नो प्रदेशमा एमालेको सङ्गठनात्मक अवस्था तथा राजनीतिक सन्तुलनको बारे बैठकमा ब्रिफिङ गरेका थिए । पार्टीबाट केही समूह बाहिरिँदा के असर पर्छ, आसन्न निर्वाचनमा पार्टीको अवस्था कस्तो रहन्छ भन्ने ब्रिफिङका साथै अब कसरी अगाडि जाने सुझाव पनि प्रदेश अध्यक्षहरूले दिएको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार पार्टीभित्र देखिएको विवाद छिटो समाप्त गरेर गतिशीलरुपमा अघि बढ्नुपर्ने प्रदेश अध्यक्षहरूको सुझाव रहेको थियो । प्रदेश अध्यक्षहरूले पार्टीको प्रशिक्षण अघि बढाउनुपर्ने, सरकारमा रहँदा पार्टीले गरेका काम र अहिलेको अवस्थाबारे पार्टी पङ्क्तिलाई जानकारी दिनुपर्ने र आफूबारे कमीकमजोरीहरू भए त्यसको समीक्षा पनि गरिनुपर्ने सुझाव दिएका थिए । आज बैठकमा उठेका प्रश्नहरूको बारेमा भोलि महासचिवले जवाफ दिने पनि ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, आजको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन गरिएको कार्यदलको तर्फबाट संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका विभिन्न चरणहरूमा भएका प्रयासहरूको बारेमा बैठकलाई ब्रिफिङ गरेका थिए । पार्टीको केन्द्रीय समितिले कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरी सकेको छ भने कार्यदल विघटन गरिसकेको छ । बैठकमा १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको ज्ञवालीको भनाइ छ ।

यता, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीकी समस्या समाधान गर्नका लागि गठन गरिएको आयोगलाई खारेज गर्ने वर्तमान सरकारले तयारी गरिरहेको समाचार आएको प्रति बैठकको ध्यानाकर्षण भएको पनि ज्ञवालीले बताए । आजको बैठकमा आयोगको तर्फबाट अध्यक्ष देवी ज्ञवालीले हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

आजको बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप