शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईटी आर्मी घोषणा गर्दै टोपबहादुरले भने – अदालतले प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गर्‍यो

मङ्गलबार, ०५ साउन २०७८, १९ : ०१
मङ्गलबार, ०५ साउन २०७८

नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताएका छन् । मंगलबार आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरे जसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताएका हुन् । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उनले बताए । उनले संसद्को औचित्य समाप्त भइसकेको उल्लेख गर्दै यस विषयलाई जनतामाझ उजागर गर्न आईटी आर्मीले भूमिका खेल्नुपर्ने बताए ।

​उनले भने, ‘यो भन्दा जनताको जनादेशको अपमान के हुन्छ ? तिनै नेताहरू आफ्नो औचित्य सिद्धिइसक्यो, आफ्नो अधिकार अर्कोले लिइसक्यो । एक प्रकारले भन्ने हो भने अघोषित रूपमा प्रतिक्रान्ति भइसक्यो । अघोषित प्रतिक्रान्ति हो यो । राजनीतिक पार्टी, दलहरू र जनप्रतिनिधिले गर्न सक्ने निर्णय अर्कैले गरिदिने भनेको त प्रतिक्रान्ति हो ।’

त्यस्तै, नेकपा(एमाले)का नेता प्रभु साहले राज्यका अंगहरुबीचको सन्तुलन कायम हुन नसकेको बताए । सर्वोच्च संस्था राष्ट्रपतिले गरेको निर्णयलाई पनि उल्ट्याउने स्थिति बनेको भन्दै उनले न्यायाधीशहरुको भूमिका न्याय दिने नदेखिएको उनले बताए । आईटी आर्मीले राज्यका निकायमा भएका कमी कमजोरीहरूलाई औँल्याउँदै जनतालाई सुसूचित गराउनु जरुरी रहेको बताए । उनले भने – ‘हाम्रा शक्ति सन्तुलन जसरी कायम हुनुपर्थ्यो विभिन्न निकायमा, राष्ट्रपतिजी जो सर्वोच्च संस्था हो । उहाँको निर्णयलाई तलका निकायले पुनरावलोकन गर्ने स्थिति भइरहेको छ । जनादेशलाई परमादेशले उल्ट्याउने स्थिति खडा भइरहेको छ । न्याय निरूपण गर्ने न्यायाधीशहरुको भूमिका हेर्ने हो भने न्याय निरूपण भन्दा पर गएको देखिन्छ ।’

नेकपा(एमाले)मा गएका पूर्व माओवादी नेताहरूले श्रमजीवी तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि र विकास सहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने भन्दै आईटी आर्मी गठन गरेका छन् । चन्द्र भूषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी तिनै तहमा सङ्गठन निर्माण गर्ने गरी आईटी आर्मी घोषणा गरिएको हो । आईटी आर्मीले समाजको विकृति, विसङ्गति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता एवं अस्थिरता विरुद्ध सङ्घर्ष गर्ने, समाजमा विद्यमान विभेद, शोषण, दमन तथा उत्पीडन रोक्न सक्रिय रहने, देश–दुनियाँमा भइरहेको सुशासन, सदाचार, विकास र समृद्धिसँग सम्बन्धित सकारात्मक कार्यहरूको प्रचार प्रसार गर्ने, खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, जनवादी क्रान्ति वा समाजवादी व्यवस्था निर्माणको लागि हुने गतिविधिहरूमा सहभागी भई सहयोग गर्ने लगायतको काम गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप