शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका शाही चयन

मङ्गलबार, ०५ साउन २०७८, १७ : २७
मङ्गलबार, ०५ साउन २०७८

गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेका सांसद शाही मंगलबार समितिको सभापतिमा चयन भएका हुन् । 

नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीको विरुद्ध उम्मेदवार दिएका थिए । छलफलपछि विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत सभापति बनेका हुन् । 

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो । शाही यसअघि प्रदेश सार्वजनिक लेखा समिति सदस्य थिए । गण्डकी प्रदेश सभाको असार ३० गते बसेको बैठकले शाहीलाई प्रदेश मामिला समिति सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो । 

प्रदेशसभामा जनमोर्चाका तीन सांसद मध्ये कृष्ण थापा पदमुक्त भएका छन भने शाही र पियारी थापा मात्र सांसद रहेका छन् । थापालाई यस अघि नै बैठकले संसदीय दल नेता चयन गरेको थियो ।

गण्डकीको प्रदेश मामिला समितिमा रहेका १३ जना सदस्यमध्ये ६ जना एमालेका र बाँकी ७ जना अन्य पार्टीका सदस्य रहेका छन् ।

सभामुख नेत्रनाथ अधिकारीले शाहीलाई मंगलबारै पद तथा गोपनीयताको शपथ गराएका छन् । शाहीले आजैबाट कार्यभार सम्हालेका छन् । शाहीले गाडीसहित इन्धन, अतिथि सत्कार, आवास, सञ्चार, स्वदेश तथा विदेश भ्रमण भत्ता लगायतको सुविधा पाउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप