बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माधव समूह तत्काल सरकारमा सहभागी नहुने

मङ्गलबार, ०५ साउन २०७८, १४ : २५
मङ्गलबार, ०५ साउन २०७८

नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।

मंगलबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । साथै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा समेत छलफल भएको थियो ।

प्रचण्डले सोही विषयमा मंगलबारै प्रधानमन्त्री देउवासँग समेत बालुवाटार पुगेर छलफल गरेका छन् । उक्त भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच साझा कार्यक्रम बनाएर प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न दुवै नेता सहमत भएका थिए ।  

प्रचण्डसँगको भेटमा भने नेता नेपालले साझा कार्यक्रम बनाएर सरकार सञ्चालन र सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने बताए पनि आफू तत्काल सरकारमा सहभागी हुनसक्ने अवस्था नरहेको जवाफ दिएको नेपाल निकट स्रोतले जनाएको छ ।

माधव नेपाल निकट एमाले नेता डा. विजय पौडेलले पनि आफ्नो समूह तत्काल सरकारमा सहभागी हुन सम्भावना नरहेको प्रतिक्रिया दिए । उनले आफ्नो समूहले संसद् जोगाउन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरे पनि अहिले नै सरकारमा जान सक्ने अवस्था नरहेको बताए ।

‘तत्काल सरकारमा जान कि एमालेले सिफारिस गर्नुपर्‍यो कि नयाँ दल बन्नुपर्यो । अहिले त्यो कुनै सम्भावना छैन’, पौडेलले रातोपाटीसँग भने, ‘प्रधानमन्त्री देउवाले केही दिनमा काँग्रेस माओवादी र जसपाको उपेन्द्र पक्षलाई समेटेर क्याबिनेट विस्तार गर्न सक्नुहुनेछ ।’

उनले एमाले एकताका विरुद्ध अध्यक्ष केपी ओलीले बार लगाएको भन्दै नेपाल समूहले नयाँ पार्टी बनाएर जानुपर्ने बाध्यता रहेको सुनाए ।

‘पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्छौ, राखेकै हौ तर यसरी सधैँ चल्दैन, नयाँ पार्टी बनाएर जानुपर्छ’, पौडेलको भनाई छ ।  सर्वोच्च अदालतको फैसलापछि गत असार २९ गते प्रधानमन्त्री देउवाले माओवादीका दुई र आफ्नो पार्टीका दुई जना समेटेर ५ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । साउन ३ गते संसदबाट विश्वासको मत प्राप्त गरेसँगै देउवामाथि मन्त्रिमण्डललाई पूर्णता दिनुपर्ने दबाब बढ्दो छ । माओवादी र काँग्रेसबाट मन्त्रीहरू बनाउन सहज भए पनि एमालेको माधव समूह र जसपा भित्र पार्टी विवाद कायमै रहेकाले उनीहरू तत्काल सरकारमा सहभागी हुनसक्ने अवस्था छैन ।

यद्यपि जसपाको उपेन्द्र यादव पक्षको विवाद केही दिनमै किनारा लाग्ने भएकाले जसपाको उपेन्द्र यादव पक्ष, माओवादी केन्द्र र काँग्रेसबाट मन्त्रीहरू पठाएर मन्त्रिमण्डललाई पूर्णता दिन एमाले नेता माधव नेपालले प्रधानमन्त्री देउवालाई सुझाव दिएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप