शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

मङ्गलबार, ०५ साउन २०७८, १० : २०
मङ्गलबार, ०५ साउन २०७८

 विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोवेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।

मिर्गौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोवेललाई अनुमति प्रदान गरिएको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले जनाएको छ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नोबेल अस्पतालका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठले बताए । ‘मेनपावर, इन्फ्रास्ट्रक्चर लगायतको व्यवस्थापन भइसकेको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिले पनि अनुमति दिइसकेकाले अब थप केही उपकरणहरुको व्यवस्थापन पछि सेवा सुरु हुन्छ,’ डा.श्रेष्ठले भने ।

मिर्गौला प्रत्यारोपणका लागि डा.श्रेष्ठसँगै, यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाह लगायत दक्ष जनशक्तिको टिम नोबेलमा छ । मिर्गौला प्रत्यारोपण गर्न अप्रेशन कक्ष र विरामी राख्ने बेडको व्यवस्थापन पनि मिलाइसकिएको छ । अब, आवश्यक उपकरणहरु जर्मन र अमेरिकाबाट ल्याएर साउन अन्तिम साताबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । उनी भन्छन्, ‘सबै सामानहरु अर्डर भइसकेको छ, सामान आएपछि यही महिनाबाट पूर्वी नेपालमै पहिलो पटक नोबेलमा मिर्गौला प्रत्यारोपण गर्न थाल्छौ ।’

नोबेलले अहिले मिर्गौला प्रत्यारोपण बाहेक मिर्गौला रोग सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । अब, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञ वालीसहितको टिमसँगको समन्वयमा मिर्गौला प्रत्यारोपण सुरु गरिनेछ । मुख्यगरी दुबै मिर्गौला ‘फेल’ भएका व्यक्तिलाई अर्को व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेर ज्यान बचाउने गरिन्छ । यो सेवा अहिले काठमाडौंमा मात्र उपलब्ध छ । नोबेलले मिर्गौला प्रत्यारोपण सेवा थालेपछि पूर्वी नेपालसहित अन्य क्षेत्रका विरामीलाई पनि धेरै सहज हुने नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप