शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेगासस प्रकरण : नेपालका राजदूतको फोन ह्याक गरी भारतले जासुसी गरेको आरोप

मङ्गलबार, ०५ साउन २०७८, १० : १९
मङ्गलबार, ०५ साउन २०७८

भारतले पेगासस नाम गरेको ‘स्पाइवेयर’ को प्रयोग गरेर भारतको नयाँ दिल्लीमा रहेका नेपाली राजदूतको फोनमाथि पनि जासुसी गरेको खुलासा भएको छ । उक्त स्पाइवेयर प्रयोग गरेर भारतका थुप्रै राजनीतिज्ञ तथा पत्रकारहरूमाथि जासुसी गरेको सोमबार समाचारहरू प्रकाशित भएका थिए । फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले भने सन् २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा नयाँ दिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्बन्धित एक फोन पनि रहेको दाबी गरेको छ ।

नयाँ दिल्लीको चीन र पाकिस्तानसँग अहिले तनावपूर्ण सम्बन्ध रहेको छ । उनीहरूका कूटनीतिज्ञमाथि भारतले निगरानी गरिरहेकै हुन्छ । तर, फोन ह्याकिङ गरी जासुसी गरिएको सूचीमा भारतसँग निकट मानिएका राष्ट्रहरूका कूटनीतिज्ञहरू पनि रहेको ‘ले मोन्डे’लाई उद्धृत गर्दै ‘द हिन्दु’मा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

‘पाकिस्तानका प्रधानमन्त्री इमरान खान र भारतमा रहेका धेरै राजदूतहरूको नम्बर सम्भावित लक्षितको सूचीमा रहेको छ । यस सूचीमा नयाँ दिल्लीमा रहेका ईरान, अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियाका कूटनीतिज्ञ र राजदूत पनि रहेका छन्,’ ले मोन्डेलाई उद्धृत गर्दै द हिन्दुले लेखेको छ । यस सूचीमा भारतका लागि पाकिस्तानका हाई कमिस्नर पनि रहेका छन् ।

सोमबार ‘पेगासस’ को निर्माण गर्ने इजरायली कम्पनी एनएसो ग्रुपबाट कथितरुपमा लिक भएको भनिएको तथ्याङ्क १७ सदस्यीय कन्सोर्टियममा रहेका विभिन्न सञ्चार संस्थानहरूले प्रकाशित गरेका थिए । अमेरिकामा रहेको वासिङ्टन पोस्ट, बेलायतमा रहेको द गार्जियन र भारतमा रहेको द वायरले प्रकाशित गरेको समाचारमा जासुसीको सम्भावित सूचीमा बेलायती उच्च आयोगका अधिकारी, दुई अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का दुई अधिकारी र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी समेत रहेको उल्लेख छ ।

ले मोन्डेका अनुसार सन् २०१७ को जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलको भ्रमण गरे लगत्तै ‘पेगासस’ सफ्टवेयरको प्रयोग गर्न सुरु गरिएको थियो । उक्त भेटमा मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच गोप्य छलफल समेत भएको थियो ।

पेगाससको प्रयोग गरेर अजरबैजान, बहराइन, हंगेरी, भारत, काजकिस्तान, मेक्सिको, रुवान्डा, साउदी अरेबिया र यूएईका ५० हजारभन्दा बढी फोन नम्बरमा जासुसी गरेको आरोप छ ।

भारतको सरकारले जासुसी गरेको आरोपलाई खण्डन गरेको छ । यद्यपि, पेगासस स्पाइवेयर खरिद गरेको हो या होइन भन्नेबारे चाहिँ पुष्टि वा अस्वीकार गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप