शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेम आले वचनका पक्का !

सोमबार, ०४ साउन २०७८, १८ : ४१
सोमबार, ०४ साउन २०७८

केपी शर्मा ओलीको साथ छाडेर शेरबहादुर देउवातिर लागेका एमाले सांसद प्रेम आले वचनका पक्का ठहरिएका छन् । प्रतिनिधिसभामा आइतबार शेरबहादुर देउवाको पक्षमा आफूसहित ८ एमाले सांसदलाई उभ्याएपछि पूर्व वनमन्त्री आलेलाई काँग्रेस नेताहरुले ‘वचनका पक्का’ ठहर्याएका हुन् ।

केपी ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका आलेले ओली समूहबाट विद्रोह गरेर देउवाको पक्षमा ८ मत खसाए । योसँगै उनले बूढानीलकण्ठमा देउवा समक्ष गरेको वाचा पूरा गरेका छन् । आलेले आफूसँग ८ मत रहेको र उनीहरु सबैले विश्वासको मत दिने देउवालाई वचन दिएका थिए ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने अघिल्लो दिन शनिबार संसद भवनको ल्होत्से हलमा कोरोना संक्रमण जाँचका लागि स्वाव संकलन भइरहेको थियो । पूर्व वनमन्त्री आले र सांसद किसन श्रेष्ठ स्वाव लिन सँगै बानेश्वर पुगेका थिए । स्वाव दिइसकेपछि सांसदहरु मातृका यादव, किसन श्रेष्ठ, प्रेम आले, हरिबोल गजुरेल, प्रेम सुवाल कुरा गर्न थाले । त्यहाँ उनी आफू केपी ओलीलाई छोडेर कतै जान नसक्ने बताइरहेका थिए । तर, आइतबार भने उनले शेरबहादुर देउवालाई लिएको वचन पूरा गरेरै छाडे । उनले एमालेको ओली क्याम्प छाडेर शेरबहादुर देउवालाई विश्वासको मत दिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले वन मन्त्रीबाट आलेलाई हटाएर नारदमुनि रानालाई वन मन्त्री बताएपछि आले केपी ओलीसँग रिसाएका थिए । त्यसपछि उनले देउवा निवास पुगेर फ्लोर क्रस गरेर भए पनि प्रधानमन्त्रीमा जिताउने वचन दिएका थिए ।

तर, आफूले सहयोग गरेवापत प्रधानमन्त्री देउवाले आफूलाई पर्यटन मन्त्री बनाउनुपर्ने आलेले माग गर्दै आएका छन् । देउवाले यसबारे माधव नेपालसँग कुरा मिलाउन भनेको स्रोतले रातोपाटीलाई बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप