शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई समर्थन गरेपछि जसपा विवादको ‘च्याप्टर क्लोज’ भएको हो ?

ठाकुर पक्ष नरम, यादव झनै कडा
सोमबार, ०४ साउन २०७८, १५ : ०९
सोमबार, ०४ साउन २०७८

काठमाडौँ साउन ४–प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले समर्थन गरेपछि विभाजनको डिलमा रहेको पार्टी पुनः एकतामा फर्किने हो कि भन्ने चर्चा सुरु भएको छ । जुन विषयलाई लिएर जसपामा विवादको सुरुवात भएको थियो, त्यो विवाद दुवै पक्षले प्रधानमन्त्री देउवालाई समर्थन गरेपछि समाधान भएको र अब पार्टी पुनः एकीकृत हुनुपर्ने चर्चा पार्टीभित्र हुन थालेको हो । तर, यस विषयमा जसपाको ठाकुर पक्ष जति नरम छ, त्यति नै कडा यादव पक्ष देखिएको छ ।  

यसअघि काँग्रेस–माओवादी केन्द्र गठबन्धनलाई समर्थन गर्ने कि नेकपा एमालेलाई समर्थन गर्ने विषयमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच कित्ताकाट हुँदा अहिले पार्टी विभाजनको अवस्थामा पुगेको हो । तर अहिले जसपा एक ढिक्का भएर देउवा नेतृत्वमा बनेको गठबन्धनको सरकारलाई समर्थन नगरेपछि त्यो विवाद स्वतः समाप्त भएको पार्टीकै कतिपय नेताहरूको भनाइ छ । 

ठाकुर पक्षका कार्यकारिणी समितिका सदस्य रहेका शरतसिंह भण्डारी भन्छन्, ‘जसपा अहिलेसम्म विभाजन भएको छैन, अहिलेसम्म एकीकृत नै छ । यसलाई एकीकृत राख्न छलफल सुरु भएको छ ।’ दुवै पक्षले अलग हुन निर्वाचन आयोगमा हस्ताक्षर बुझाइसकेपनि पार्टी पुनः एकीकृत हुने सम्भावना अझै कायम नै रहेको उनले बताए । दुवै पक्ष बसेर छलफल गरे मिल्ने सम्भावना अझै बाँकी रहेको उनले आशा व्यक्त गरे । ‘कस्ता कस्ता पार्टीहरू फुटेर पुनः जुटेका छन् भने जसपा त अहिले कानुनी रूपमा विभाजन पनि भएको छैन । यसलाई अझै एकीकृत राख्न सकिन्छ भन्ने आशा छ,’ उनी भन्छन् । 

जसपाका अर्का नेता रामकिशोर सिंहले हिजोको घटनाले जसपालाई एउटा मौका प्राप्त भएको र त्यसलाई क्यास गरी एकीकृत हुनुपर्ने बताए । ‘प्रचण्ड–देउवालाई समर्थन गर्ने कि ओलीलाई समर्थन गर्ने विषयमा पार्टीमा विवाद थियो । त्यो विवाद हिजो समाधान भयो । अब एकीकृत भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

जसपाका अर्का कार्यकारिणी सदस्य सन्तोष मेहता पनि जसपा पुनः एकीकृत हुनुपर्ने बताउँछन् । ‘मधेशको माग अनुसार राजपा र समाजवादी पार्टी बीचमा एकीकरण भएको थियो । मधेशी जनताको चाहना अझै पनि जसपा विभाजन नहोस् भन्ने नै छ । यसमा पार्टीका शीर्ष नेताहरूले एक पटक पुनर्विचार गर्नुहुनेछ भन्नेमा मलाई विश्वास छ,’ उनले भने । जसपामा जारी विवाद हिजो संसद् बैठकबाट समाधान भएको बताउँदै अब दुवै पक्ष मिलेर जसपा नेपाललाई अघि बढाउनुपर्ने उनले बताए । 

जसपाका अर्का नेता रामकिशोर सिंहले हिजोको घटनाले जसपालाई एउटा मौका प्राप्त भएको र त्यसलाई क्यास गरी एकीकृत हुनुपर्ने बताए । ‘प्रचण्ड–देउवालाई समर्थन गर्ने कि ओलीलाई समर्थन गर्ने विषयमा पार्टीमा विवाद थियो । त्यो विवाद हिजो समाधान भयो । अब एकीकृत भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

तर यादव पक्ष आफ्नो पुरानै अडानमा कायम रहेको छ । ठाकुर पक्षले आफ्नो गल्ती सार्वजनिक रूपमा स्वीकार गरेर आत्मालोचना गरे मात्र एकीकरणका लागि सोच्न सकिने यादव पक्षको बटमलाइन रहेको छ । यादव पक्षका कार्यकारिणी सदस्य रामसहाय यादव भन्छन्, ‘देउवालाई समर्थन गर्ने विषयसँग एकीकरणको कुनै तालमेल छैन । उहाँहरूले देउवालाई समर्थन गर्दा हामीसँग सल्लाह गर्नुभएको छ । हामीले २० जना सांसद लिएर देउवालाई समर्थन जनाएपछि मात्र उहाँहरू पनि पछि पछि समर्थन जनाउनुभयो ।’

पुनः एकीकृत हुने सम्भावना निकै कम रहेको बताउँदै उनले महन्थ ठाकुर पक्षले विगतमा गरेको गल्ती स्वीकार गरे मात्र पुनः एकीकरणका लागि विचार गर्न सकिने नत्र दुवै पक्ष आ–आफ्नो बाटो लागिसकेको बताए । यतिबेला निर्वाचन आयोगमा दुवै पक्षको बहस चलिरहेको छ, आआफ्नो तर्फबाट प्रमाण जुटाउने काम पनि गरिरहेको छ । हिजो भएको बहसपछि आयोगले दुवै पक्षलाई सक्कल प्रमाणसहित उपस्थित हुने आदेश दिएको छ । त्यसैको तयारीका लागि पनि दुवै पक्षको आज छुट्टाछुट्टै बैठक चलिरहेको छ । 

यादव पक्षकै कार्यकारिणी सदस्य इस्तियाक राइले भन्छन्, ‘फेससेभिङका लागि लाज पचाउँदै महन्थ ठाकुरहरूले प्रधानमन्त्री देउवालाई समर्थन गर्नुभएको हो ।’ ठाकुर पक्षले गल्ती अझै स्वीकार नगरेको बताउँदै उनले भने, ‘महन्थ ठाकुरले हिजो संसद्मा बोल्नु हुँदै वर्तमान सरकारलाई जनादेशको होइन, परमादेशको सरकार भन्नुले पनि उहाँहरू अझै सुध्रिएको देखिन्न । त्यसै कारण एकीकरण हुन सहज छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप